Health TV Online
Health TV Online
Health TV Online

हावाहुरी प्रभावित क्षेत्रमा संक्रमण फैलिने खतरा, बच्न अपनाउनुपर्छ यस्ता उपाय

हावाहुरी प्रभावित क्षेत्रमा संक्रमण फैलिने खतरा, बच्न अपनाउनुपर्छ यस्ता उपाय

काठमाडौं : आइतबार साँझको भीषण हावाहुरीले निम्त्याएको विपद्‌सँग जुधिरहेका बारा र पर्साको प्रभावित क्षेत्रका बासिन्दा मरेका चौपाया, हाँस र कुखुरा लगायतको सुरक्षित व्यवस्थापनका लागि अहिले संघर्षरत देखिन्छन्।

घरगोठका भग्नावशेषबाट निकाल्ने क्रम जारी रहेकोले मरेका सबै चौपाया र घरपालुवा पशुपक्षीको यकिन सङ्ख्या थाहा हुन सकेको छैन, तर निकालिसकिएकै सिनुको सुरक्षित रूपमा विर्सजन गरेको नदेखिएको बताइएको छ।

सोमवार दिउँसो हावाहुरीबाट सबैभन्दा बढी प्रभावित बाराको पुरैनियामा मानिसहरूले बस्तीभित्रै सिनुहरू गाडिरहेका थिए।

सिनु विसर्जन

प्रहरीले पीडित परिवारले भनेका ठाउँमा खाल्डो खनेर सिनुहरू गाडिदिने गरेका छन्।

सिनुको सुरक्षित विसर्जनबारे  जिज्ञासा राख्दा बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले भने, ‘त्यति धेरै सङ्ख्यामा गाईवस्तु मरेको जस्तो लाग्दैन। स्थानीयवासीसँग छलफल गरेरै के कसरी सिनुको व्यवस्थापन गर्ने हो, त्यो गर्छौँ।’

तर चिकित्सकहरू खासगरी प्राकृतिक विपदमा परी मरेका चौपाया तथा घरपालुवाको विसर्जनमा विशेष सतर्कता अपनाउनुपर्ने सुझाव दिन्छन्। त्यसो नगरिएमा त्यसबाट विभिन्न खालका रोग फैलिन सक्नेमा उनीहरूले सचेत गराएका छन्।

भूकम्पका बेला इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्व सम्हालेका डा. बाबुराम मरासिनी भन्छन्, ‘मरेका गाईवस्तु तथा घरपालुवा पशुपक्षीबाट निस्केका तरल पदार्थ वा अन्य अवशेष पानीमा मुहान तथा स्रोतमा मिसिन गए मानिसमा झाखापखाला, आउँ र विभिन्न खाले ज्वरो निम्त्याउन सक्छ।’

‘त्यसबाहेक सिनु राम्ररी गाडिएन भने त्यसबाट दुर्गन्ध पनि फैलिने हुन्’, मरासिनीले थपे। सामान्य ढङ्गले माटोले पुर्दा पछि कुकुर वा स्यालले सिनु बाहिर निकाल्न सक्ने भएकोले त्यसबाट मानिसलाई हुन सक्ने रोगको जोखिम कायमै रहन्छ।

कसरी गर्ने सिनु विर्सजन?

प्राकृतिक विपद्‌मा परी मरेका चौपाया तथा घरपालुवा पशुपक्षीको सुरक्षित विर्सजनमा ढिलाइ गर्न नहुने चिकित्सकहरू बताउँछन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महानिर्देशक डा. विवेकलाल कर्ण भन्छन्, ‘मरेका चौपायामा बस्ने झिँगाले पनि रोग सार्न सक्ने भएकोले यथाशीघ्र सिनुको विर्सजन गर्नुपर्छ।’

चिसो ठाउँको तुलनामा गर्मी ठाउँमा चाहिँ रोग फैलिने जोखिम अझ बढी रहने चिकित्सकहरूको भनाइ छ। डा. मरासिनीका अनुसार सामान्यतया पानीको स्रोतदेखि ४० फिट टाढा सिनु गाड्नुपर्छ।

तराईमा खानेपानीका लागि चापाकल, इनारको प्रयोग हुने गरिएको भएकोले बस्तीभन्दा सकेसम्म पर सिनु गाड्नुपर्छ।त्यसबाहेक सिनु गाड्नेले पनि मास्क, बुट तथा पञ्जाहरूको प्रयोग गर्न डा. मरासिनीको सुझाव छ।

त्यसक्रममा नजिकका पशु सेवा कार्यालयबाट आवश्यक परामर्श तथा सहयोग लिन सकिने उनी बताउँछन्।

डा. कर्णका अनुसार मरेका गाईवस्तु गाडिसकेपछि सिनु उठाइएको ठाउँमा चुना लगायत औषधि छरेर निःसङ्क्रमण गर्दा झन् सुरक्षित हुन्छ।

सरसफाइमा जोड

विपद्‌पछि रोगहरू फैलिन नदिनका निम्ति मानिसहरूले व्यक्तिगत सरसफाइमा अझ बढी ध्यान दिनुपर्ने चिकित्सकहरूको भनाइ छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महानिर्देशक डा. कर्ण थप्छन्, ‘सुन्दाखेरी सामान्य लाग्छ तर केही छोएपछि साबुन पानीले हात धुनुपर्छ। खाना खानुअघि पनि राम्ररी हात धुनुपर्छ।’ त्यस्तै विपदपछि स्थायी शौचालय उपलब्ध नभएको खण्डमा अस्थायी भएपछि सुरक्षित हुनुपर्ने उनको भनाइ छ।

सुरक्षित रूपमा मलमूत्रको विसर्जन गर्न सके पनि धेरै हदसम्म विभिन्न रोग फैलिनबाट रोक्न सकिने चिकित्सकहरू बताउँछन्। विपद्‌पछि स्वास्थ्यमा कुनै प्रकारको समस्या देखिएमा चिकित्सककहाँ जान ढिलासुस्ती गर्न नहुने पनि उनीहरू सुझाव दिन्छन्।

बीबीसी नेपालीबाट

थप समाचार