Health TV Online
Health TV Online
Health TV Online

धवलागिरि गाउँपालिकामा पोषणसम्बन्धी ‘स्क्रिनिङ क्याम्प’

धवलागिरि गाउँपालिकामा पोषणसम्बन्धी ‘स्क्रिनिङ क्याम्प’

म्याग्दी : पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकाअन्तर्गत विभिन्न वडामा बालबालिकाको पोषणसम्बन्धी ‘स्क्रिनिङ क्याम्प’ शुरु भएको छ।

गाउँपालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिमार्फत मिलन म्याग्दी तथा सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा पोषण लेखाजोखासम्बन्धी क्याम्प सञ्चालन गरिएको हो। बच्चा जन्मिएको छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाको पोषण अवस्था पत्ता लगाउन स्क्रिनिङ क्याम्प आयोजना गरिएको धवलागिरि गाउँपालिकाले जनाएको छ।

कार्यक्रमअन्तर्गत शुक्रबार धवलागिरि–३ मुनामा कुपोषण पत्ता लगाउन २१ बच्चाको नापजाँच गरिएकामा सबै बालबालिकाको मध्यम अवस्था रहेको पाइएको सुआहाराका फिल्ड सुपरभाइजर चन्द्रकला बानियाँले बताइन्। उनकाअनुसार, धवलागिरिका अधिकांश वडामा बिहीबार र शुक्रबार कार्यक्रम गरिएको छ भने वडाभित्रका केही टोल बस्तीमा कार्यक्रम सञ्चालन भइरहेको छ।

यसैगरी धवलागिरि–१ गुर्जामा भने आइतबार र सोमबार कार्यक्रम हुने आयोजकले जनाएका छन्। मुनामा सम्पन्न गरिएको कार्यक्रममा वडाका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, लक्षित समूहका महिला तथा बालबालिकालगायतको सहभागिता थियो। कार्यक्रमको अवसरमा पोषिलो खाना प्रदर्शनीसमेत गरिएको थियो।

बच्चामा कुपोषण भए\नभएको अवस्था पत्ता लगाइसकेपछि उसलाई पोषणयुक्त खानपानको व्यवस्था गर्ने, नियमित स्वास्थ्य परीक्षण र परिवारलाई परामर्श दिइने कार्यक्रम रहेको जनाइएको छ। त्यस्तै धवलागिरि–७ ताकममा सञ्चालन गरिएको क्याम्पमा तीन बालिकामा कुपोषण भएको भेटिइएको ताकम स्वास्थ्यचौकीका इन्चार्ज सम्झना खाती क्षत्रीले जानकारी दिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार