वैदेशिक राेजगारीमा जानेकाे स्वास्थ्य जाँच्ने संस्थाको नयाँ दर्ता आह्वान
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने नयाँ स्वास्थ्य संस्थाको सूचीकरण प्रक्रिया थालेको छ।
मलेसिया र नयाँ प्रक्रियाबाट जापानमा रोजगारी खोल्न तयारी हुँदै गर्दा मन्त्रालयले स्वास्थ्य परीक्षण गर्न इच्छुक संस्थाहरूको सूचीकरणका लागि बुधबार निवेदन आह्वान गरेको हो।
यो क्षेत्रमा रहेको सीमित व्यवसायीको सिण्डिकेट तोड्न सरकारले नयाँ संस्थालाई पनि अवसर दिने मन्त्रालयले जनाएको छ। हाल २२६ वटा स्वास्थ्य संस्थाले मात्रै अनुमति नवीकरण गर्दै विदेश जाने कामदारको स्वास्थ्य परीक्षण गराउँदै आएका छन्।
वैदेशिक रोजगार नियमावली २०६४ र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ मा स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूको सूचीकरण गर्नुपर्ने व्यवस्था छ ।
सार्वजनिक सूचना जारी गरी सूचीकरणका लागि १० दिनभित्र आवेदन दिन इच्छुक संस्थालाई आह्वान गरिएकाे छ । मन्त्रालयका अनुसार, इच्छुक संस्थाले तोकिएको कागजातसहितको विवरण संलग्न गरी मन्त्रालयको कानुन तथा फैसला शाखामा निवेदन दर्ता गराउन सक्नेछन् ।
यसअघि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकरण भएका २२६ मध्ये ३९ वटा स्वास्थ्य संस्थाले अनुमति पाएका थिए। हाल ३७ वटाबाट स्वास्थ्य परीक्षण हुँदै आएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’