‘नेपालमा नर्सहरूलाई प्रोत्साहन नै छैन’

‘नेपालमा नर्सहरूलाई प्रोत्साहन नै छैन’

कञ्चनपुर महेन्द्रनगरकी दीपा जोशी नर्सिङ पेशामा  आबद्ध भएकाे ६ वर्ष भयो।  बैतडी जिल्ला अस्पतालबाट नर्सिङ शुरू गरेकी उनी हाल ललितपुरस्थित स्टार हस्पिटलमा कार्यरत छिन्। आईसीयू कक्षकाे समेत अनुभव सँगालेकी उनी हाल अपरेसन थिएटर(ओटी)मा छिन्। उनै दीपाका अनुभव यो साताको ‘नर्सका कुरा’ स्तम्भमा–

सानैदेखि नर्सिङ पेशाप्रति आकर्षण थियो। मलाई सम्झना भएसम्म ३ कक्षा पढ्दादेखि नै। स्कुल पढ्दैगर्दा मेरी सानिमा नर्सिङ पढ्दै हुनुहुन्थ्यो। सानीमासँगै अस्पताल जाँदा त्यहाँ नर्सहहरूको कामदेखि म असाध्यै प्रभावित भएकी थिएँ। त्यसैले मलाई नर्स बन्न प्रेरित गर्योजस्तो लाग्छ।

सानीमाले लगाएको ड्रेस, उहाँको कामले मलाई त्यसतर्फको झुकाव अझ बढायो। उहाँहरूले काम गरेको देख्दा त्यस्तै बन्न पाए, त्यस्तै गर्न पाए हुन्थ्यो भन्ने रहर जाग्यो। त्यसैले स्कुलको पढाइ सक्नेबित्तिकै नर्सिङ ‘ज्वइन’ गरेँ। ‘नर्सिङ पढ्छु’ भन्दा बाबाममी खुशी  हुनुभयो।

पढाइकै सिलसिलामा ‘प्राक्टिकल’का क्रममा शुरुमा अप्रेसन थिएटरमा जाँदा ‘डेलिभरी केस’ थियो। ‘सिजरिङ सेक्सन’ मा बच्चा निकालेको देख्दा अनौठो लाग्यो। पढ्न त पढिएको थियो। तर प्रत्यक्ष देखिएको, भोगिएको थिएन। यस्तो देख्दा छाती ढक्क फुलेर आयो, ‘म यस्तो गर्न सक्छु होला र’ भन्ने सोच आयो। यो देखेर हामीमध्येकी एक साथी त बेहोशै भइन्। मैलेचाहिँ यो पेशामा लागेपछि गर्नैपर्छ, गर्न सकिन्छ भन्ने रूपमा मानसिक तयारी गरेँ। त्यसैले शुरु शुरुमा आएका जटिल केसहरूमा पनि खासै समस्या भएन। ‘कन्फिडेन्ट’ नआइसक्दा शुरु शुरुमा जटिल ‘केस’हरू मेरो पालोमा नपरे हुन्थ्योजस्तो लाग्थ्यो। तर त्यो डरले केसलाई कसरी ‘ह्याण्डल’ गर्ने भन्ने क्षमता बढाउँदै लग्यो।

अर्को एउटा प्रसंग छ, ‘फर्स्ट एअर’मा पढ्दा एकजना गम्भीर खालका बिरामीको उपचार भइरहेको थियो। ‘लास्ट स्टेज’ भइसकेका उनलाई ख्वाउन नसकिएको हुँदा नाकबाट ‘एन्जिट्युब’ हाल्नुपर्ने भयो। बिरामीको अवस्था र नजिकै बसेका आफन्त देखेर एक किसिमको अप्ठ्याराे ‘फिल’ भयो। एन्जिट्युब समातेका मेरा हात काँपिरहेका थिए। तर जिम्मेवारी पूरा गर्नैपर्थ्याे। बिस्तारै घुसार्दा पनि बिरामीलाई भएको पीडाले मलाई असहज महसुस भएको थियो। तर, आफूमा आएको जिम्मेवारी सहजै पूरा गरेँ। त्यसवेला मलाई एक किसिमको गर्व अनुभव भयो।

आफ्नो मान्छे भएपछि नशा नै पत्ता लगाउन नसक्ने र सुई लगाउन पनि नआउनेले पनि आफ्ना मान्छेको अस्पताल भएकै र चिनजानकै कारण काम पाएका छन्। पढाइ पूरा गर्ने तर अनुभव नहुने व्यक्तिहरूसँग काम गर्दा कहिलेकाँही आफूलाई नै गाल पर्न सक्छ। सबै ठाउँमा आफू पुग्न सकिँदैन र उनीहरूले काम गरिरहेका ठाउँमा हस्तक्षेप गर्न मिल्दैन। गल्ती भइसकेपछि दोष आफ्नै थाप्लोमा आइपुग्छ, ‘किन नहेरेको’ भनेर।

धनगढीस्थित शैलेश्वरी कलेजबाट पढाइ सकेपछि ६ वर्षअघि पढाइ सकेर बैतडी जिल्ला अस्पतालबाट सेवा शुरु गरेँ। महाकाली अञ्चल अस्पतालमा काम गरेँ। त्यसपछि केही समय आमा सुरक्षासम्बन्धी प्रोजेक्टमा काम गरेँ। चार वर्षदेखि स्टार हस्पिटलमा छु।

यो पेशामा रहँदा दिनहुँ अनेक किसिमका मानिसहरूसँग सम्पर्कमा रहनुपर्छ। बिरामीको आफन्तले कहिलेकाहीँ गर्ने व्यवहार एकदमै असह्य किसिमको हुन्छ। हाम्रो जिम्मामा रहेका बिरामीको अवस्था हामीलाई थाहा हुन्छ। कस्तो केयर गर्नुपर्छ भन्ने थाहा हुन्छ। त्यसअनुसारको व्यवहार पनि गरिरहेका हुन्छौँ। बिरामीका परिवार, आफन्तले कुरा नै नबुझीकन अनावश्यक रूपमा कराउने, रिसाउने गरेको देख्दा दिक्क लाग्छ।

अर्का किसिमका मानिसहरू पनि हुन्छन्, जो प्रत्यक्ष रूपमा त भन्दैनन् तर, अप्रत्यक्ष रूपमा बिरामीलाई किन उपचार गरिरहेको भनेर निहुँ खोज्छन्। हाम्रो प्रयास त हरेक बिरामीलाई राम्रो बनाएर घर पठाऊँ भन्ने हुन्छ नि ! तर बिरामीका परिवारले ‘स्लाइन किन चढाएको? औषधि किन दिइरहेको? हामीलाई लुट्न खोजेको’ भनेर निहुँ खोजेको भन्ने पनि भोगेकी छु। एकपटक फोक्सोसम्बन्धी समस्या भएका ५५ वर्षजतिका एक पुरुष ‘सेमी कण्डिसन’मा हुनुहुन्थ्यो। ‘हर्ट बिट’ पनि थियो। हामी प्रयास गर्दै थियौँ। झुलाएर राख्ने भनेर छोराहरूले हामीलाई धम्क्याए। ‘आशै नभएको मान्छेलाई किन स्लाइन लगाएको? किन औषधि दिएको? हामीलाई लुट्न खोजेको’ भन्दै धम्क्याए।

नर्सले बिरामी र उनीहरूका आफन्तहरूलाई राम्रो व्यवहार गर्दैनन्, उनीहरूले सोधेको प्रश्नको उत्तर राम्रोसँग दिँदैनन् भन्ने गरेको सुनेकी छु। यसलाई यसरी हेर्नुपर्छ, नियमअनुसार दुई बिरामीबराबर एक नर्स हुनुपर्ने हो। तर अस्पतालहरूमा एउटा नर्सले धेरैलाई हेर्नुपरेको हुन्छ। सोचौँ त एउटा बिरामीको परिवारले नर्सलाई कतिपटक सोध्छन् होला? दिनमा त्यस्ता कतिसँग झेल्नुपर्छ हाेला? सरकारी अस्पतालमा धेरै बिरामीलाई एउटै नर्सले हेर्नुपर्ने कारण उनीहरूमा यस्तो समस्या देखिएको हो कि?

प्राइभेट अस्पतालमा चाहिँ त्यस्तो व्यवहार त्यति हुँदैनजस्तो लाग्छ। बिरामीप्रति नराम्रो व्यवहार गर्दा अस्पतालकै प्रतिष्ठामा प्रश्न उठ्ने भएकाले त्यस्तो हुन दिइँदैन। तर कसैकसैको स्वभाव नै त्यस्तै हुन्छ होला। स्वभाव नै त्यस्तो हुनेहरू त के घर, के अस्पताल सबैतिर त्यस्ते व्यवहार देखाउँछन् नै। म अहिले ओटी कक्षमा भएकाले मैले त्यति बिरामीका आफन्तको त्यति धेरै सम्पर्कमा रहनुपर्दैन।

कुनै कुनै बिरामी महिनौँसम्म पनि बस्छन्। उनीहरूसँग एककिसिमको आत्मीयता हुन्छ। राम्रो भएर गइसकेपछि खाना खान बोलाउने वा कुनै पारिवारिक खुशीयालीमा बोलाउने पनि हुन्छन्। एकजना आमा दुर्घटनामा परेर आउनुभएको थियो। न्यूरोसम्बन्धी अप्रेसन गरेको थियो। बाँच्ने आशै थिएन। आशै मरेको थियो। निको भएर जानुभयो। वेलावेलामा भेट्न आइरहनुहुन्छ। ‘मलाई बचाउने नानीहरू’ भन्दै प्रेम दर्शाउनुहुन्छ।

आफूले सानैदेखि रोजेको पेशामा छु। मानिसको जीवन जोगाउने पेशामा छु भनेर एक किसिमको आत्मसन्तुष्टि हुन्छ। तर, जागिरका कारण अध्ययन अघि बढाउन नसकेकोमा दुःख लाग्छ।  कुनै पनि ठाउँमा जाँदा स्वास्थ्यकर्मी भनेर सम्मान हुन्छ। मर्दामर्दै बाँचेको मान्छे आफूहरूले प्रयासले पछि ठमठमी हिँडेको देख्दा राम्रै काम गरिरहेको छुजस्तो लाग्छ। घरमा ममी भाइहरूको राम्रो ‘रेस्पोन्स’ छ। तर यो क्षेत्रमा अलि बढी नै श्रमशोषण छ। पेशाअनुसार तलबको राम्रो स्केल नहुँदा र सेवासुविधा नहुँदा कहिलेकाहीँ बेकार यो पेशामा लागेछु भन्ने अनुभूति पनि नहुने  होइन।

आफ्नो मान्छे भएपछि नशा नै पत्ता लगाउन नसक्ने र सुई लगाउन पनि नआउनेले पनि आफ्ना मान्छेको अस्पताल भएकै र चिनजानकै कारण काम पाएका छन्। पढाइ पूरा गर्ने तर अनुभव नहुने व्यक्तिहरूसँग काम गर्दा कहिलेकाँही आफूलाई नै गाल पर्न सक्छ। सबै ठाउँमा आफू पुग्न सकिँदैन र उनीहरूले काम गरिरहेका ठाउँमा हस्तक्षेप गर्न मिल्दैन। गल्ती भइसकेपछि दोष आफ्नै थाप्लोमा आइपुग्छ, ‘किन नहेरेको’ भनेर।

सरकारी अस्पतालमा तह बढ्दै जान्छ। प्राइभेटमा त्यस्तो हुँदैन। जागिरको निश्चितता छैन। लोकसेवा खुल्दैन। खुले पनि एकदमै कम। यस्ता कुरामा दुःख लाग्छ। त्यसैले पनि धेरै साथीहरू यो देशमा केही गर्न सकिँदैन भनेर विदेश पलायन भइरहेका छन्।

मैले बुझेको, यहाँ नर्सहरूलाई प्रोत्साहन नै छैन। केही हुँदा बोलिदिने निकाय पनि खासै भएजस्तो लाग्दैन। आफ्नो हितका लागि डाक्टरहरूको आन्दोलन भइरहेको हुन्छ। उनीहरूको कुरा ढिलोचाँडो सरकारले सुन्छ। हाम्राे कुरा सुनिदिने कसले?

हेल्थ टिभी अनलाइनका रामप्रसाद काैशिकसँगकाे कुराकानीमा आधारित