औषधि दिने मात्र होइन, बिरामीको मनोबल बढाउन पनि सिपालु हुनुपर्छ नर्स

औषधि दिने मात्र होइन, बिरामीको मनोबल बढाउन पनि सिपालु हुनुपर्छ नर्स

विद्या राई नर्सिङ पेशामा लागेको २१ वर्ष भइसकेको छ। हाल उनी ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा मेडिकल अंकोलोजी विभागकी सुपरभाइजर हुन्। याे पटकको ‘नर्सका कुरा’ स्तम्भमा विद्याका भोगाइ, उनकै शब्दमा–

म नर्स पेशामा लागेको २१ वर्ष भइसकेको छ। खासमा म आफ्नो इच्छाले नर्स बनेकी होइन। मलाई सानैदेखि सुई भनेपछि साह्रै डर लाग्थ्यो गाउँघरमा स्वास्थ्कर्मी देखेँ भने उनीहरूको छेउछाउ नै पर्दैनथेँ।

कसैको घाउचोट त झन् हेर्नै नसक्ने। तर नर्सिङ पेशामा लागेको नै २१ वर्ष भइसकेको छ। म मेरो काकाको इच्छाले नर्स बनेकी हुँ। उहाँ काकीलाई नर्स बनाउन चाहनुहुन्थ्यो। तर के कारणले हो, काकीले पढ्न पाउनुभएन। त्यसैले काकाले ‘तिमी पढ’ भनेर मलाई भन्नुभयो। पढ्न त मन थिएन तर, काकाको कुरा टार्न सकिनँ। पढ्न थालेँ।

प्रायः मानिस सोच्छन्,नर्सको काम बिरामीलाई औषधि दिने मात्र हो तर, बिरामीको मनोबल बढाउन पनि नर्स त्यत्तिकै सिपालु हुनुपर्छ। बिरामीसँग धेरै समय नर्स नै हुन्छन्। उनीहरूले धेरै कुरा हामीलाई नै सोध्छन्। यस्तो अवस्थामा हामीले उनीहरूका कुरा सुन्ने, सान्त्वना दिने काम गर्दा उनीहरुको रोग निको हुन सहज हुन्छ।

पढाइ शुरु गर्दा पहिलेपहिले त निकै गाह्रो भयो। धेरै नै मिहिनेत गर्नुपर्ने। सँगसँगै प्राक्टिकलका वेला बिरामीका घाउ देखाउँदा त म आत्तिन्थेँ। छोडेर भागौँजस्तो लाग्थ्यो।

एकपटक प्राक्टिकलका लागि प्रसूति गृह लगिएको थियो। त्यहाँ ‘व्यथा’ लागेर आएका महिलाहरू थिए। उनीहरूको अवस्था देखेर म बेहोश भएकी थिएँ। तर आज मेरो काकाले मेरो लागि सही निर्णय लिनुभएको रहेछ भन्ने लाग्छ। हरेक पल उहाँलाई धन्यवाद दिइरहन्छु। आज मलाई मेरो पेशा अति नै प्यारो छ ।

प्रायः मानिस सोच्छन्,नर्सको काम बिरामीलाई औषधि दिने मात्र हो तर, बिरामीको मनोबल बढाउन पनि नर्स त्यत्तिकै सिपालु हुनुपर्छ। बिरामीसँग धेरै समय नर्स नै हुन्छन्। उनीहरूले धेरै कुरा हामीलाई नै सोध्छन्। यस्तो अवस्थामा हामीले उनीहरूका कुरा सुन्ने, सान्त्वना दिने काम गर्दा उनीहरुको रोग निको हुन सहज हुन्छ।

दीर्घकालीन रोग लागेपछि मानिसहरू मानसिक, शारीरिक र आर्थिक रूपमा कमजोर बन्दै जान्छन्। यस्तो वेलामा उनीहरूलाई ‘काउन्सिलिङ’ जरुरी हुन्छ। म ओम अस्पतालमा कार्यरत हुँदा एक बिरामी अस्पतालको बिल तिर्न नसकेर म सँग रोए। उनको अवस्थाले मेरो मनमा छोयो। म एक्लैले तिर्न सक्ने कुरा थिएन। अरु नर्स साथीहरुसँग कुरा गरेर अलिअलि गर्दै पैसा उठाएर उनको बिल तिर्यौँ। उनले त्यसबेला जनाएको कृतज्ञता मेरा लागि जीवनभरको कमाइ हो।

आफ्नो ‘करिअर’मा मैले थुप्रै बिरामी हेरेकी छु। हरेक बिरामीको दु:ख आफ्नै जस्तो लाग्छ। हामी बिरामीसँग नजिक हुनुपर्छ तर ‘इमोसन’ लुकाउन सक्नुपर्छ। यो भन्दाभन्दै पनि कहिलेकाहीँ उनीहरूको पीडामा अनायासै आँसु आउँछ। रोक्नै सकिँदैन ।

चार वर्षअघिको कुरा, हाल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालकी जेठी छोरी ज्ञानुलाई क्यान्सर भएको थियो। त्यसैका कारण अस्पतालमै उनको मृत्यु भयो। म त्यसबेला ड्युटीमा थिएँ। मलाई उनको परिवारलाई सम्झाउने जिम्मेवारी दिइयो। तर त्यसबेला ज्ञानुकी छोरीको अवस्था देखेर मैले आफैँलाई सम्हाल्न सकिनँ।

त्यो घटना अहिले पनि मलाई याद आइरहन्छ। म सबैभन्दा कमजोर भएको त्यही दिन हो जस्तो लाग्छ। अहिले म क्यान्सरका बिरामी हेर्छु। उनीहरू पीडा सहिनसक्नुका हुन्छन्। तर त्यसलाई हामीले सहज तरिकाले व्यवहार गर्न सक्नुपर्छ। मेरा नर्स बहिनीहरूलाई पनि म त्यही नै सिकाउँछु।