Health TV Online
Health TV Online
Health TV Online

नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र

मेडिकल र एजुकेसन टुरिजममा ऐतिहासिक फड्को

नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र

पछिल्लो एक दशकयता नेपालको स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रमा देखिएको उल्लेखनीय प्रगतिले मुलुकलाई स्वास्थ्य पर्यटन (मेडिकल टुरिजम) र शिक्षा पर्यटन (एजुकेसन टुरिजम) को उदीयमान केन्द्रको रूपमा स्थापित गराएको छ । केही वर्षअघिसम्म सामान्य उपचारका लागि समेत विदेश जानुपर्ने बाध्यता हट्दै गएको छ भने आज विदेशी नागरिकहरू नै उपचारका लागि नेपाल आउन थालेका छन् ।

विशेष गरी मिर्गौला प्रत्यारोपण, मुटुको उपचार, क्यान्सर उपचार, कलेजो प्रत्यारोपण, हाड–जोर्नी तथा जोइन्ट रिप्लेसमेन्ट जस्ता जटिल उपचारहरू अहिले नेपालमै उपलब्ध छन्। भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला र कलेजो प्रत्यारोपण नियमित रूपमा हुँदै आएको छ भने देशभरका १५ भन्दा बढी निजी अस्पतालमा समेत सहज रुपमा मिर्गौला प्रत्यारोपण सेवा दिइँदै आएको छ। यसले नेपाली बिरामीलाई विदेश जानुपर्ने बाध्यता अन्त्य गरेको छ भने भारत, बङ्गलादेश, म्यानमार, पाकिस्तानजस्ता देशका बिरामीहरूलाई समेत नेपालतर्फ आकर्षित गराएको छ।

नेपाल सरकारले मुटुको जटिल शल्यक्रिया मात्र होइन मुटु प्रत्यारोपणसमेत नेपालमै सुरु गर्ने तयारी समेत गरिरहेको छ। यो सेवा सुरु भएमा विदेशको तुलनामा नेपालमा उपचारको खर्च ४० प्रतिशतसम्म सस्तो हुनेछ । गुणस्तरीय सेवा, दक्ष चिकित्सक तथा सजिलो प्रक्रिया भएका कारण विदेशी बिरामीहरूको विश्वास नेपालप्रति बढ्दो छ। भारतमा नेपाली तथा विदेशी बिरामीहरूले ३०–५० प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता छ भने नैतिक अभ्यासमा पनि समस्या देखिएको हुँदा नेपाल वैकल्पिक गन्तव्यको रूपमा लोकप्रिय बन्दै गइरहेको छ ।

नेपालका आँखा अस्पतालहरू—झापा, विराटनगर, भैरहवा, लहान, भरतपुरलगायत स्थानहरूमा रहेका—हाल विश्वका उत्कृष्ट १० आँखा अस्पतालहरूमध्येमा पर्ने भएका छन्। भारतबाट हजारौँ बिरामीहरू दैनिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन्। नेपालमा भारतको प्रमुख अस्पतालहरूको तुलनामा उत्कृष्ट सेवा ७० प्रतिशतसम्म सस्तोमा उपलब्ध भएकाले नेपाल आँखा उपचारको प्रमुख गन्तव्य बन्न सफल भएको छ । उत्कृष्ट र शुलभ आँखा उपचारमा नेपाल विश्वभर चिनिएको छ ।

यसैगरी दन्त उपचारमा (डेन्टल टुरिजम) मा पनि नेपालले उल्लेखनीय स्थान बनाउँदै गएको छ। दाँतको इम्प्लान्ट, आधुनिक लेजर सेवा, प्रविधि तथा गुणस्तरमा नेपाल भारतभन्दा अब्बल देखिएको छ । यहाँको सेवा ५० प्रतिशतसम्म सस्तो मात्र होइन उत्कृष्ट पनि रहेको छ। बाहिर बस्ने नेपाली त दाँतको उपचारका लागि स्वदेश नै आउँछन् भने विदेशीहरु पनि नेपालको दन्त उपचार सेवालाई विश्वसनीय । उत्कृष्ट मान्दै उपचार गराउन आउन थालेका छन्।

नेपालको स्वच्छ हावापानी, शान्त वातावरण र प्राकृतिक सौन्दर्यका कारण नेपाल वेलनेस पर्यटन( शारीरिक तथा मानसिक शान्तिको पर्यटन) को लागि पनि आकर्षक गन्तव्य बनेको छ। योग, ध्यान, आयुर्वेद, प्राकृतिक उपचारजस्ता सेवा सुविधाले नेपाललाई समग्र स्वास्थ्य पर्यटन ( होलिस्टिक हेल्थ टुरिजम) को केन्द्र बनाउने आधार तयार पारेको छ।

चिकित्सा शिक्षा क्षेत्रमा पनि नेपालले दक्षिण एशियामै अग्रणी स्थान ओगटेको छ । नेपालका विश्वविद्यालय तथा मेडिकल कलेजहरूमा भारत, बङ्गलादेश, श्रीलंका, अफ्रिकी तथा मध्य एशियाका विद्यार्थीहरू अध्ययन गर्न आउने गरेका छन्। स्नातक तहमा कुल सिटको ३० प्रतिशत विदेशी विद्यार्थीका लागि छुट्याइएको छ, जसले शिक्षा पर्यटनलाई थप मजबुत बनाएको छ।

नेपाल सरकार र निजी क्षेत्रको सहकार्यमा मेडिकल टुरिजम प्रवर्द्धनमा समेत उल्लेखनीय प्रयास भइरहेको छ। सन् २०१८ र २०१९ मा अन्तर्राष्ट्रिय स्तरमा मेडिकल टुरिजम समिटहरू सम्पन्न भइसकेका छन्। यही वर्ष २०२५ को अन्त्यतिर तेस्रो मेडिकल टुरिजम एसिया समिट आयोजना हुने तयारी भइरहेको छ। उक्त समिटमा नेपाल, भारत, बङ्गलादेश, म्यानमार, पाकिस्तान, काजकिस्तान, किर्गिजस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, अजरबैजान, र तुर्कमेनिस्तानका मेडिकल टुरिजम एजेन्सीहरूसँग व्यापारिक साझेदारी, नेटवर्किङ र सहकार्यका लागि विशेष व्यवस्था गरिनेछ।

पछिल्लो तथ्यांक अनुसार हाल देशभर ६ हजार ७४३ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, ९१ प्रादेशिक अस्पताल र २३ संघीय अस्पताल सञ्चालनमा छन्। साथै, निजी क्षेत्रका शिक्षण र विशेषज्ञ अस्पतालहरूले जटिल उपचारहरूमा प्रभावशाली योगदान दिइरहेका छन्।

नेपाल गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको लागि सुलभ, भरपर्दो र प्रतिस्पर्धात्मक गन्तव्य बन्दै गएको छ। सन् २०२५ को पहिलो त्रैमासिकमै विदेशबाट प्राप्त मेडिकल उपचारसम्बन्धी सोधपुछमा ५०० प्रतिशत वृद्धि भएको तथ्यले नेपाल दक्षिण एशियाली स्वास्थ्य र शिक्षा पर्यटनको प्रमुख केन्द्र बन्ने सम्भावना झन् प्रस्ट पारेको छ।

(डा पाण्डे नेपाल मेडिकल टुरिजम अर्गनाइजेसनका अध्यक्ष हुन्।)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?