अन्धाधुन्ध ‘किटो डाइट’ प्रयोग नगरौं, यसले दीर्घकालिन असर पार्नसक्छ
स्वस्थ जीवनका लागि 'किटो डाइट' होइन, ब्यालेन्स डाइट

पछिल्लो समय मोटोपन घटाउनका लागि भन्दै किटो डाइट अन्धाधुन्ध प्रयोग गर्नेको संख्या अत्यधिक रहेको छ । अरुको देखासिकीकै आधारमा आफूखुशी किटो डाइटको पालना गर्दा महत्वपूर्ण अंगहरुमा गम्भीर असर गर्छ भन्ने कुराको ज्ञान नहुँदा यसको पालना गर्नेहरु बढिरहेका छन् । तर स्वास्थ्यका हिसाबले यो डाइट सबैलाई उपयुक्त मानिंदैन् । यही किटो डाइट कसले गर्न मिल्छ कसले मिल्दैन भन्ने विषयमा हेल्थ टिभी अनलाइनले नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरकी कन्सल्टेन्ट क्लिनिकल डाइटिसियन कविता महर्जनसँग गरिएको कुराकानी उनकै शब्दमा :
यतिबेला हरेक घरमा किटो डाइट फेसन जस्तै बनेको छ । र यसको चर्चा पनि निकै हुने गर्छ । तर यसबारे सही सूचना लिएर किटो डाइट फलो गर्नेहरु भने निकै कम छन्। यसबारे धेरै नै भ्रमहरु पनि रहेका छन् । तौल घटाउने भन्दै लहै लहैको भरमा र आफूखुशी किटो डाइट गर्नेको संख्या बढ्दै जाँदा अन्य स्वास्थ्य समस्या थप भएर आउनेको संख्या पनि त्यत्तिकै छ ।
किटो डाइट फलो गर्नुभन्दा पहिले किटो डाइट केहो भन्ने बुझ्न जरुरी छ । वास्तवमा किटो डाइट सबैका लागि उपयुक्त हुने होइन र आफूखुशी गर्ने पनि होइन । सामान्यतया हामीले खाने खानामा कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ। तर किटो डाइटमा चिल्लो पदार्थ र प्रोटिनको मात्रा बढी हुन्छ र कार्बोहाइड्रेटको मात्रा एकदमै कम हुन्छ। यो खासमा इपिलेप्सीका बिरामीका लागि फलो गरिने एक प्रकारको डाइट उपचार पद्धती हो । अन्यको हकमा भने धेरै कुरा ख्याल गरेर मात्र यो डाइटको प्लान गर्नुपर्ने हुन्छ ।
किटो डाइटमा कार्बोहाइड्रेटको मात्रा अत्यन्त कम, प्रोटिन र फ्याटको मात्रा बढी राखेर डाइट चार्ट बनाइन्छ । जसले गर्दा मोटोपन घटाउन मद्दत गर्छ । नेपालमा धेरैजसो मोटोपन घटाउनकै लागि किटो डाइटको प्रयोग गरेको देखिन्छ । किटो डाइट भनेको यस्तो आहार हो जसमा बोसो फ्याट र र प्रोटिनको मात्रा अत्यन्त धेरै हुन्छ । कार्बोहाइड्रेटको मात्रा भने न्यून हुन्छ । यस अन्तर्गत रातो मासु, माछा, अण्डा, बोसो, चीज र चिल्ला वस्तु सामेल गरिन्छ कार्ब कम हुने हुँदा यस्तो खानाले तुरुन्त तौल घटाउन सहयोग गरे पनि यसले महत्वपूर्ण अंगहरु मिर्गौला, कलेजो लगायतका अंगमा दीर्घकालिन असर पर्न जान्छ ।
किटो डाइटमा शरीरलाई चाहिने सम्पूर्ण पोषण तत्व पुग्दैन । हाम्रो ब्रेनलाई २४ घण्टा नै ग्लुकोजको आवश्यकता पर्छ । तर कार्बोहाइड्रेटको मात्रा कम राखिने हुँदा चाहिने मात्रामा ग्लुकोज पुग्दैन र बिस्तारै यसको काम गर्ने क्षमतामा कमी आउन चिल्लो र प्रोटिनको मात्रा बढी भएको डाइट भएकाले किटो डाइट सबैले गर्न मिल्दैन। जटिल खालको मिर्गौला रोगी, मुटु रोगी, मधुमेहका बिरामी, तौल कम भएका व्यक्तिले किटो डाइट गर्न मिल्दैन।अभल भनुँ विशेषज्ञको सल्लाह बिना यो डाइट फलो गर्नै हुँदैन ।
हाम्रो शरीरलाई कार्ब, प्रोटिन र फ्याट सबै चाहिन्छ । खानासम्बन्धी अन्तराष्ट्रिय गाइडलाइन्स अनुसार कार्ब ५५ देखि ६० प्रतिशत, प्रोटिन १५ प्रतिशत, फ्याट ३० प्रतिशतको स्टयान्डर्ड मानिन्छ । त्यही अनुसार हामीले खाना खानुपर्छ । तर यो डाइटमा प्रोटिन र फ्याटको मात्रा अत्यधिक बढी हुन्छ । प्रोटिन धेरै खाने हुँदा यसले मिर्गौलालाई सिधै समस्या गराउन सक्छ । फ्याट धेरै हुँदा लिभर फ्याटी हुने सम्भावना हुन्छ । त्यसैले पहिले नै मिर्गौलामा केही समस्या भएका र कलेजोमा समस्या भएका बिरामीले जाँच नै नगरी किटो डाइट गरेमा घातक सिद्ध हुनसक्छ । त्यसैगरी मुटुमा पहिले नै समस्या छ हाइ कोलोस्ट्रेल छ भने फ्याटी खानेकुराले झनै समस्या बल्झाउन पुग्छ ।
आफुखुशी अन्धाधुन्ध किटो डाइट गर्ने भन्दा पनि डाइटिसियनको सल्लाहमा सबै जाँच गरेर उपयुक्त भएमा यसले फाइदा पुराउन सक्छ । तर यो पनि सधैं भन्दा पनि केही समयकका लागि हुनुपर्छ । अन्यथा युट्युबमा हेरेर आफैले किटो डाइट गर्नु घातक हुनसक्छ । त्यसैले किटो डाइट भन्दा पनि ब्यालेन्स डाइटमै ध्यान दिन जरुरी छ ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै