यस्ता लक्षण देखिए हुनसक्छ थाइराइड : डा सुकान्ति शाह
खासमा भन्ने हो भने थाइराइड आफैमा रोग होइन । यो हाम्रो शरीरको एउटा महत्वपूर्ण अंग हो । जसलाई थाइराइड ग्रन्थी भनिन्छ । यो हाम्रो घाँटीमा पुतली आकारमा बसेको हुन्छ । थाइराइड ग्रन्थीको काम भनेको थाइराइड हर्मोन उत्पादन गर्ने काम गर्छ जुन हाम्रो शरीरको अत्यावश्यक हर्मोन हो । यही थाइराइड ग्रन्थीमा कारणवश हर्मोन कम उत्पादन भयो वा बढी उत्पादन गर्यो वा अन्य केही समस्या भएमा त्यसलाई थाइराइड रोग भनिन्छ ।
खासमा थाइराइड हर्मोन हाम्रो शरीरलाई एकदमै आवश्यक पर्छ । शरीरका हरेक अंगले राम्रोसँग काम गर्नका लागि यो हर्मोन चाहिन्छ । जसले शरीरको आवश्यकता अनुसार हर्मोन उत्पादन गर्ने काम गर्छ । तर थाइराइड रोग लाग्यो भने हर्मोन बढी वा कम उत्पादन हुने समस्या हुन्छ । शरीरले आवश्यकताभन्दा बढी हर्मोन उत्पादन गरेमा त्यसलाई हाइपर थाइराइडिज्म र कम उत्पादन गर्नुलाई हाइपो थाइराइडिज्म भनिन्छ । थाइराइड रोगमा पनि सबैभन्दा बढी देखिने समस्या भनेको हाइपो थाइराइडिज्म हो । हर्मोनको उत्पादन कम भएमा यो रोग लाग्छ । खासगरी प्रजनन उमेरका महिलालाई हाइपो थाइराइडिज्म रोगले बढी सताउने गर्छ । साथै कसै कसैमा थाइराइड ग्रन्थीमा गिर्खा आउने वा क्यान्सर पनि हुनसक्छ । यही तीन प्रकारका थाइराइडको समस्या बढी मात्रामा देखिने गर्छ ।
अब कुरा उठ्छ थाइराइड साह्रै डरलाग्दो रोग हो त भन्ने ? थाइराइड रोग जटिल र डराउनु पर्ने खालको होइन। यसले हाम्रो आयु घटाएर मृत्युको मुखसम्म पुराउँदैन्। यो रोगलाई समयमै पत्ता लगाएर चिकित्सकको सल्लाह बमोजिम नियन्त्रणमा राखेमा यसले खासै बिगार्दैन । तर चिकित्सकको सल्लाह बमोजिम औषधि तथा खानपानको ख्याल गर्नुपर्छ ।
यो अन्य कारणभन्दा पनि अटोइम्युन रोग हो । जुन हाम्रो शरीरको आफनै इम्युन सिस्टमका कारणले हुने गर्छ । यो शरीरको आफ्नै कारण अटो इम्युन ले हुने रोग हो । थाइराइडको समस्या पुरुषको तुलनामा महिलामा बढी देखिन्छ किनभने हर्मोनको समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ। महिलाको महिनावारी, गर्भधारण, बच्चा जन्माउने विभिन्न अवस्थाका कारण हर्मोनमा परिवर्तन भइरहन्छ । त्यसैले पनि यो समस्याको शिकार बढी महिला नै हुने गर्छन्।
हाइपो थाइराइडमा र हाइपर थाइराइडमा देखिने लक्षणहरु फरक फरक हुन्छन्।
हाइपो थाइराइडमा देखिने लक्षणहरु :
अल्छी लाग्ने
तौल बढ्ने
बच्चा बस्न समस्या हुने
शरीर सुन्निने
कपाल झर्ने
छाला फुस्रो हुने
महिनावारी गडबड हुने।
हाइपर थाइराइडमा दखिने लक्षणहरु :
तौल घट्दै जाने
शरीर तातो हुने
निन्द्रा नलाग्ने
मुटुको धड्कन बढेजस्तो हुने
हात, खुट्टा काँप्ने
चिडचिड पसिना आउने
बढी रिस उठ्ने
थाइराइडमा खाना बार्नुपर्छ त ?
थाइराइड रोग खानेकुराका कारण हुने रोग होइन । त्यसैले यसमा खाना बार्नुपर्दैन । बन्दा काउली, गाजर जस्ता खानेकुरा खान हुन्न भनेर धेरै जना बिरामी आउनुहुन्छ । तर त्यसरी खाना बार्नै पर्दैन । स्वस्थकर खाना सबै खालका खान मिल्छ । बढी चिल्लो, रातो मासु, तारेको भुटेको मासु, सुर्तीजन्य पदार्थ मद्यपान यी कुरा भने नखाएको राम्रो जुन अन्य व्यक्तिले पनि खान हुँदैन ।
थाइराइडको समस्या स साना बच्चाहरुमा पनि हुनसक्छ । यदि आमा बाबुमा छ भने उनीहरुलाई पनि हुनसक्ने सम्भावना हुन्छ । यदि बच्चाका उचाई बढेको छैन्, तौल धेरै छ अल्छी गर्छ, पढ्नमा मन गर्दैन भने कतै थाइराइडको समस्या पो छकी भनेर एकपटक जाँच गर्न सकिन्छ ।
(थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा शाह आरुस लाइफस्टाइल अस्पतालमा कार्यरत छिन्।)
भिडियो :
नेपालमा आमा र नवजात शिशु स्वास्थ्यमा सुधार
गुणकारी फल अनार
अपांगता भएका महिलालाई प्रजनन स्वास्थ्य सेवा लिनै मुश्किल
काठमाडौंमा वायु प्रदूषण : स्वास्थ्य मन्त्रालयद्धारा सतर्कता अपनाउन आग्रह
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३३ औं कलेजो प्रत्यारोपित डिस्चार्ज