Health TV Online
Health TV Online

मुटुको चाल गडबडी सम्बन्धी सम्पूर्ण उपचार नेपालमै हुन्छ (भिडियोसहित)

मुटुको चाल गडबडी सम्बन्धी सम्पूर्ण उपचार नेपालमै हुन्छ (भिडियोसहित)

एक जना स्वस्थ व्यक्तिको मुटुको चाल कति हुनुपर्छ ? मुटुको चालको गडबडी भनेको केहो ? किन र के भएमा मुटुको चालमा गडबडी आउँछ ? यसको उपचार विधि के छ भन्ने विषयमा हेल्थ टिभी अनलाइनले ह्याम्स अस्पतालमा कार्यरत मुटुको चाल गडबडी सम्बन्धी विशेषज्ञ डा रोशन राउतसँग कुराकानी गरेको छ । सोही भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

केहो मुटुको चाल गडबडी भनेको ? कति हुनुपर्छ मुटुको चाल ?

मुटुको चाल गडबडीबारे जानकारी लिनुभन्दा पहिले सामान्य अवस्थामा एक जना स्वस्थ व्यक्तिको मुटुको चाल कति हुनुपर्छ भन्ने कुरा जान्न जरुरी हुन्छ । एक जना स्वस्थ व्यक्तिको मुटुको चाल प्रतिमिनेट ६० देखि १०० को वीचमा हुनुपर्छ । यदि मुटुको चाल ६० भन्दा कम र १०० भन्दा धेरै नै बढी हुन्छ भने त्यसलाई हामी मुटुको चालमा गडबडी भएको भन्छौं । तर कतिपय अवस्थामा शरीरको माग अनुसार मुटुको चाल कम र बढी हुनसक्छ । त्यस्तो अवस्थालाई भने हामी मेडिकल भाषामा फिजोलोजिकल भन्छौं ।

किन हुन्छ मुटुको चालमा गडबडी ? कस्ता व्यक्ति जोखिममा हुन्छन् ?

धेरै जसो अवस्थामा जन्मजात नै यस्तो समस्या लिएर आउने हुन्छ । त्यसैगरी मुटुमा लामो समयसम्म संक्रमण भएमा, एकपटक ह्दयघात भइसकेकालाई मुटुको आकारमा परिवर्तन आएर र उमेर बढ्दै जाँदा मुटुको काम गर्ने क्षमतमा कमी आएर पनि मुटुको चालमा गडबडी हुन सक्छ । अनियन्त्रित रक्तचापका कारण पनि मुटुको चालमा गडबडी हुनसक्छ । यसका लागि यही नै कारण र यसलाई नै हुनसक्छ भन्ने आधार छैन्। जुनसुकै उमेर समूहलाई पनि यो समस्या देखिनसक्छ ।

मुटुको चाल गडबडी भएको कसरी थाहा हुन्छ ?

मुटुको चाल गडबडी दुई प्रकारका हुन्छन्। एउटा आवश्यकता भन्दा बढी भएर र अर्को आवश्यकता भन्दा कम भएर । यति शरीरको आवश्यकताबिना नै ६० भन्दा कम चाल हुन्छ भने त्यस्तो अवस्थालाई हामी मुटुको चाल कम भएको भन्छौं । यसमा पनि दुई वटा कन्डिसन हुन्छ । कोही व्यक्ति सुतिरहेको छ भने उक्त व्यक्तिको मुटुको चाल ५० वा सोभन्दा कम पनि हुनसक्छ । यो भनेको शरीरले माग गरेको हो । यस्तो अवस्थालाई हामी फिजोलोजिकल अवस्था भन्छौं यो रोग हैन्। तर यदि सामान्य अवस्थामा नै मुटुको चाल ६० भन्दा कम हुन्छ भने त्यसलाई प्याथोलोजिकल कन्डिसन भनेर त्यसको उपचारतर्फ लाग्न सल्लाह दिन्छौं । अर्को भनेको मुटुको चाल १०० भन्दा बढी हुनु । यदि तपाइँ दोडिनु भएको छ, उच्च ज्वरो आएको छ, आत्तिनु भएको छ भने त्यसबेला मुटुको चाल १०० भन्दा बढी पनि हुनसक्छ । त्यो भनेको शरीरको माग अनुसार भएको परिवर्तन हो अर्थात फिजोलोजिकल हो । तर सामान्य बसिरहेको अवस्थामा नै एक्कासी १०० भन्दा बढी चाल हुन्छ भने त्यसलाई समस्याका रुपमा लिन्छौं । त्यो मुटुको चाल बढी हुने समस्या हो । त्यसको उपचार गर्नुपर्ने हुन्छ ।

मुटुको चाल गडबडी हुँदा लक्षण के के देखिन्छन्?

मुटुको चाल बढी भएमा एक्कासी मुटुको ढुकढुकी बढ्ने, रिंगटा लाग्ने, बेहोस हुने र कतिपय अवस्थामा ज्यानै जाने खतरा हुन्छ । मुटुको चाल कम हुँदा पनि रिंगटा लाग्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुन, थकान महशुस हुने र समयमै उपचार नगरेमा ज्यानै जान सक्छ । यस्तो किसिमको लक्षण देखिएमा जतिसक्दो छिटो विशेषज्ञ डाक्टरलाई देखाएर समस्या पत्ता लगाएर उपचारतर्फ लाग्नुपर्ने हुन्छ ।

उपचार के छ त ?

मुुटुको चाल कममा र बढीमा गरिने उपचार पनि फरक हुन्छन्। मुटुको चाल कम भएका बिरामीलाई पेस मेकर राखेर उपचार गरिन्छ । पेसमेकर पनि विभिन्न थरीका हुन्छन्। एक तारे, दुई तारे, तीन तारे पेस मेकर । यदि मुटुको काम गर्ने क्षमता कम भएमा ३५ प्रतिशतभन्दा कम भएमा तीन तारे पेसमेकर राखिन्छ यसलाई सीआरटी पेसमेकर भनिन्छ । बिरामीमा यस्तो राख्दा मुुटुको काम गर्ने शक्तिमा पनि सुधार आउँछ र सास फेर्न गाह्रो हुने समस्या पनि कम हुन्छ । कस्ता बिरामीलाई कस्तो खालको पेसमेकर राख्ने भन्ने कुरा बिरामीको मुटुको अवस्था हेरेर निर्णय गरिन्छ ।

यसैगरी मुटुको चाल अत्यधिक बढेर ज्यानै जाने खतरा भएमा विशेष किसिमको पेसमेकर जसलाई आईसीडी भनिन्छ । त्यस्ता बिरामीलाई आईसीडीको प्रयोग पनि गर्नुपर्ने हुन्छ । यस्तो आइसीडीले एक्कासी हुने ह्दयघातबाट ९५ प्रतिशतसम्म जोगाउन सक्छ । यदि यो डिभाइस राख्न पर्ने बिरामीलाई राखिएन भने इमरजेन्सी सेवा राम्रो भएका देशमा पनि ९५ प्रतिशत बिरामीलाई बचाउन सकिंदैन । त्यसैले उनीहरुका लागि यो अति नै आवश्यक डिभाइस हो ।

यसैगरी मुटुको चाल आवश्यकताभन्दा बढी भएको अवस्थामा भने औषधि र प्रोसिजर गरेर दुई प्रकारले उपचार गर्न सकिन्छ । खुट्टाबाट तार पसाएर छाती नचिरिकन मुटुको चाल बढाउने तन्तु पत्ता लगाइन्छ । मुटुको चाल गडबडी गराउने तन्तु पत्ता लगाएर त्यसलाई रेडियो फ्रिक्वेन्सीले जलाएर निस्क्रिय पारिन्छ ।

सबै खालका उपचार नेपालमा सम्भव छ त ?

मुटुको चाल गडबडी सम्बन्धी सबैै खालका अझ भनौं जटिल भन्दा जटिल उपचार पनि नेपालमै सम्भव छ । हामीले सबै खालका मुटुको चाल गडबडी भएका बिरामीको उपचार गरिरहेका छौं । यसको उपचारका लागि भनेर कोही बिरामी पनि बाहिर जानु पर्दैन ।

भिडियो :

थप समाचार