Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘परीक्षणको दायरा नबढाए सुदूरपश्चिम क्वारेन्टाइनमा बसेकाको कोरोना परीक्षण गर्न कम्तिमा १ वर्ष लाग्छ’

‘परीक्षणको दायरा नबढाए सुदूरपश्चिम क्वारेन्टाइनमा बसेकाको कोरोना परीक्षण गर्न  कम्तिमा १ वर्ष लाग्छ’

सुदूरपश्चिम प्रदेश कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बुधबारसम्म सुदूरपश्चिममा विभिन्न क्वारेन्टाइनमा रहनेको संख्या ६४ हजार भन्दा बढी रहेको छ । यो संख्या अन्य प्रदेशको भन्दा निकै धेरै हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेशमा कसरी काम भइहरेको छ र यसका साथै क्वारेन्टाइन, आइसोलेसनको व्यवस्थापन, परीक्षण र संक्रमितको उपचारका विषयमा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीसँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानी:

सुदूरपश्चिम कोरोनाको उच्च जोखिम भएको प्रदेशको रुपमा लिइन्छ । कोरोना रोकथामका लागि कसरी काम गरिरहनु भएको छ ?

सुदूपश्चिम कोरोनाको उच्च जोखिममा रहेको प्रदेश हो । भारतसँग सिमा जोडिएकाले पनि यो प्रदेश अति नै जोखिममा छ । अहिले देशमा सबैभन्दा बढी संख्यामा क्वारेन्टाइनमा रहनेको संख्या पनि सुदूरपश्चिममा बढी छ । हाम्रो प्रदेशमा ६४ हजार भन्दा बढी मानिसहरु क्वारेन्टाइनमा रहेका छन। अझै भारतबाट काम गुमाएर घर फर्किनेको संख्या बढ्दो छ । उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा निकै गाह्रो छ। तर पनि आफनो स्तरबाट प्रयास गरिरहेका छौं । यसमा स्थानीय सरकारसँग मिलेर क्वारेन्टाइन,आइसोलेसन बनाउनेदेखि व्यवस्थापनको काम गरिरहेका छौं। तर केन्द्रबाटै स्पष्ट निर्देशिका नबेसम्म काम गर्न निकै गाह्रो छ ।

सुदूरपश्चिममा कोरोना परीक्षण कसरी भइरहेको छ ?

परीक्षण गर्नुपर्ने संख्या असाध्यै धेरै छ । तर हाम्रो क्षमताका कारण कछुवाको गतिमा मात्र परीक्षण भएको छ । क्वारेन्टाइनमा रहेका ६४ हजार भन्दा बढीकोे कोरोना परीक्षण कसरी गर्ने हो खै म त अलमलमा परेको छु । सेती प्रादेशिक अस्पतालमा भएको एउटा पीसीआर मेशिनबाट दैनिक बढीमा १५० देखि २५० जनाको मात्र परीक्षण गर्न सकिन्छ । तर दैनिक रुपमा १ हजार भन्दा बढी स्वाब संकलन भइरहेको छ । कसरी व्यवस्थापन गर्ने निकै समस्या छ क्वारेन्टाइनमा यति धेरै संख्या भएपछि परीक्षण क्षमता बढाउन सरकारले केही गर्नुपर्ने हो । अहिलेसम्म सुदूरपश्चिममा १६४ जनामा कोरोना पुष्टि भएको छ । २ जनाको मृत्यु भइसकेको छ । सुदूरपश्चिममा अहिले एक मात्र सेती  अस्पतालमा पीसीआर परीक्षण ल्याब छ । हालसम्म पीसीआर विधिमार्फत ९९५४  र ४४ हजार ८ सय ८८ जनाको आरडीटी विधिमार्फत परीक्षण भएको छ ।

५ दिनका लागि स्वाब संकलन रोक्ने भनेर सूचना जारी गरिएको थियो ? फेरी शुरु भयो की स्वाब संकलन ?

हो, हामीले स्वाब संकलन धेरै नै हुन थालेपछि कम्तीमा ५ दिनका लागि स्वाब सकंलन रोकेर जम्मा भएका स्वाब परीक्षण गर्ने भनेर सूचना त जारी गर्यौं तर स्वाब संकलन गर्न रोक्न सकिएन । अहिले नै १६ सय ४० वटा स्वाब स्टोरमा छन्।  भण्डारण क्षमता प्रयाप्त नभएका कारण पनि हामीले केही दिन स्वाब संकलन रोक्न पत्र पठाएका हौं । एक त परीक्षण क्षमता कम त्यसमा जनशक्तिको पनि कमी छ । त्यसैले चाहेर पनि धेरै परीक्षण हुन सकेको छैन्। क्वारेन्टाइमा भएकाहरुले परीक्षण भएन भनेर झगडा गर्न थालेका छन्। कतिपय क्वारेन्टाइनमा त नाराबाजी समेत गरेका छन्। अब हामीले कसरी बुझाउने यो कुरा निकै गाह्रो छ काम गर्न।

केन्द्रिय सरकारसँग समन्वय भइरहेको छ होला नि ?

समन्वय त भइरहेको छ तर सरकारले स्पष्ट निर्देशिका नबनाउँदा अप्ठेरो परेको छ । क्वारेन्टाइनमा रहेकाको व्यवस्थापन कसरी गर्ने । परीक्षण कसरी गर्ने कुन परीक्षण गर्ने यी सबैको विषयमा सरकारले शुरुदेखि नै स्पष्ट नीति नबनाउँदा हामीलाई गाउँघरमा गएर काम गर्न निकै गाह्रो भएको छ । सबै जना हामीसँग झगडा गर्न आउँछन। अब क्वारेन्टाइनमा बसेका सबै जना पीसीआर परीक्ष्णको माग गर्दै नारा जुलुसमा उत्रिन थालेका छन्। उनीहरुलाई हामी पीसीआर त कुरै छोडौं आरडीटी परीक्षण सम्म पनि गर्न सक्ने अवस्थामा छैनौं । परीक्षण गर्न शुरु गर्न पाएको हँदैन कहिले किट सकिन्छ त कहिले के हुँदैन । प्रयाप्त आरडीटी किट सम्म नहुँदा समस्या भएको छ । अर्को कुरा क्वारेन्टाइनमा बसेका सबैको पीसीआर गर्न निकै गाह्रो छ । अब उनीहरु पीसीआर गदिर्एन भनेर विरोधमै आउन थालेका छन्। सबैको आरडीटी गरेर पोजेटिभ रिपोर्ट आएकाको मात्र पीसीआर परक्ष्णि गर्न सकेमा उनीहरु ढुक्क हुने अवस्था हुन्थ्यो । त्यो पनि गर्न सकिएको छैन्। अब सुदूर पश्चिममा मात्रै क्वारेन्टाइनमा रहेका सबैको पीसीआर परीक्षण गर्ने हो भने १ वर्ष सम्म परीक्षण गर्दा पनि सकिंंदैन । यो कुरा  स्वास्थ्य मन्त्रालयले बुझ्न जरुरी छ । यो मैले धेरैपटक जानकारी पनि गराएको छु ।

क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था कसरी गरिरहनु भएको छ ?

अहिलेका अधिंकांश क्वारेन्टाइन विद्यालयमा बनाइएका छन्। धेरैको मापदण्ड नै पुगेका छैनन्। संख्या बढी हुँदा व्यवस्थापनमा पनि समस्या भएको छ । उनीहरुको खान बस्नमै समस्या भइहरेको छ । अर्को कुरा कोरोना संक्रमण देखिने वित्तिकै अस्पताल लैजाने भनेर शुरुमा भनियो तर यसले पनि समस्या बनाएको छ । सेती प्रादेशिक अस्पतालमा जम्मा २४ वटा आइासोलेसन बेड छन्। संख्या बढी भएमा कहाँ कसरी राख्ने भन्ने चिन्ता हुन्छ । अब क्वारेन्टाइनलाई नै आइसोलेसनमा स्तरोन्नती गरेर व्यवस्थित बनाएर त्यहीँ राख्न जरुरी छ । संक्रमित बढ्दै जाँदा सबै संक्रमितलाई अस्पतालमा राख्नै सकिंदैन्। लक्षण भएमा र संक्रमितलाई गाह्रो भए मात्र अस्पताल लैजानपर्छ । सुदूरपश्चिममा अझै यो समस्या बढ्ने देखिन्छ । भारतबाट रोजगारी गुमाएर नेपाल फर्किनेको संख्या बढिरहेका बेला उनीहरुले संक्रमण ल्याएर आउने सम्भावना अझ बढी छ । उनीहरुलाई तुरुन्त परीक्षण गरी व्यवस्थित आइसोलेसन सेन्टरमा राख्न जरुरी भइसकेको छ । अन्यथा अवस्था नियन्त्रण बाहिर जानसक्छ।

अहिलेकै गतिमा परीक्षण गरेर कहिलेसम्म सकिएला त ?

अहिलेकै गतिमा परीक्षण गर्ने हो भने सुदूरपश्चिमका क्वारेन्टाइनमा बसेकाको परीक्षण गर्न नै १ वर्ष लाग्न सक्छ । त्यसैले सरकारले अहिले नै स्पष्ट लक्षण नभएका र सिकिस्त नभएका व्यक्तिको परीक्षण गर्नुपर्दैन भनेर स्पष्ट रुपमा निर्देशिका जारी गर्न जरुरी छ । त्यसपछि हामी पनि उनीहरुलाई सम्झाउन सक्छौं । अर्को कुरा सबैको पीसीआर नसके आरडीटी सम्म परीक्षण गरेर घर पठाउन पाए उनीहरु ढुक्क हुने अवस्था हुन्थ्यो । परीक्षण नगरी पठाउँदा उनीहरु मानसिक रुपमा तनाव लिने पाइएको छ । त्यसैले परीक्षणको दायरा बढाउनका लागि सुदूरपश्चिममा अझ दुई स्थानमा पीसीआर मेशिन थप्नै पर्ने हुन्छ । यसले परीक्षणका दायरा बढाउँदै उनीहरुलाई छिटो रिपोर्ट पनि दिन सकिन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार