Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

लकडाउनका कारण औषधि छुटाएका मिर्गौला रोगीमा ‘रिजेक्सन’को केस आउँछ की भन्नेमा चिन्तित छौँ

लकडाउनका कारण औषधि छुटाएका मिर्गौला रोगीमा ‘रिजेक्सन’को केस आउँछ की भन्नेमा चिन्तित छौँ

गत डिसेम्बर महिनामा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनाइरहेको छ । अहिलेसम्म झण्डै १ लाख ९५ हजार भन्दा बढी मानिसले यसको संक्रमणबाट ज्यान गुमाइसकेका छन्। । यसैगरी २७ लाख बढी मानिस कोरोना संक्रमणको शिकार भइसकेका छन्। यसको असर जनसमूदायमा त छँदैछ , अन्य दीर्घ रोग जस्तै मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मिर्गौला रोग लगायतमा यसको नराम्रो असर देखिने बताइएको छ । यही सन्दर्भ पारेर मिर्गौला रोगीमा कोरोनाको असर कस्तो हुन्छ उनीहरुलाई यो संक्रमणबाट कसरी बचाउने भन्ने विषयमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जकी नेफ्रालोजी विभाग प्रमुख एवं वरिष्ठ मिर्गौलारोग विशेषज्ञ प्रा डा दिव्या सिंह शाहसँग हेल्थ टिभी अनलाइनकी कल्पना आचार्यले गरेको कुराकानी:

कोरोनाको महामारीका बेला मिर्गौला बिरामीलाई कसरी सेवा दिइरहनुभएको छ?

कोरोना संक्रमणले स्वस्थ व्यक्तिलाई जसरी असर पुर्याउँछ त्यसैगरी दीर्घरोग भएका बिरामीलाई अझ बढी असर पुर्याउने कुरा विभिन्न अध्ययनले नै देखाइसकेका छन्। मिर्गौला प्रत्यारोपण गरेका र डायलाइसिस उपचार गराइरहेका बिरामीमा कोरोना संक्रमण भएमा उनीहरुको मृत्यु दर निकै बढी हुन्छ । त्यसैले हामीले मिर्गौला रोगीलाई यो संक्रमणबाट जोगाउन सतर्कता अपनाउनु नै बुद्धिमानी हुन्छ । मिर्गौला रोगीहरुमा रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति कम हुन्छ जसका कारण उनीहरुमा संक्रमण भइहालेमा जटिलता अन्यको तुलनमा बढी हुन्छ । यस्ता बिरामीलाई कोरोना संक्रमण भएमा आइसीयू नै चाहिने सम्भावना अत्यधिक हुन्छ ।  त्यसैले हामीले हाम्रो अस्पतालमा बिरामीलाई फोन मार्फत सल्लाह एवं परामशं दिइरहेका छौ । उनीहरुलाई इमरजेन्सी नपरेसम्म अस्पताल नआउन आग्रह समेत गरिएको छ । यसका अलावा शिक्षण अस्पतालमा इमरजेन्सी विभाग मार्फत हामीले हाम्रा बिरामीलाई सेवा दिइरहेका छौं ।  अहिले हाम्रो अस्पतालको इमरजेन्सीमा सबै विभागका विशेषज्ञ डाक्टरहरु बस्छौं । जसले गर्दा बिरामीले सेवा पाउन सकुन्। मिर्गौलाका बिरामीलाई सेवा टुटाउन मिल्दैन। त्यसैले सेवामा छौं ठाउँ मात्र फेरिएको छ ।

कोरोना भाइरसका कारण मिर्गौला रोगीमा अझ बढी जटिलता ल्याउन सक्छ ?

हो । मिर्गौला रोगीमा रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति कम हुन्छ जसका कारण मिर्गौला प्रत्यारोपण गराएका बिरामीलाई झनै यसको असर बढी हुन्छ । उनीहरुले नियमित औषधि खाइरहेका हुन्छन्। औषधिका कारण पनि उनीहरुमा कुनै पनि भाइरसको संक्रमण हुने सम्भावना अन्य बिरामी भन्दा दशौं गुणा बढी हुन्छ । त्यसैले यो कुरामा बिरामी स्वयं र हामी स्वास्थ्यकर्मी पनि चनाखो हुनैपर्छ । यो बेला डाइलाइसिस यूनिटमा काम गर्ने नर्सहरु पनि जोखिममा हुन्छन्। उनीहको सुरक्षामा पनि ध्यान दिन जरुरी छ ।

लकडाउनका कारण डायलाइसिस गर्नुपर्ने बिरामी आएका छन् त ?

लकडाउनका कारण शुरुमा केही गाह्रो भयो कसरी काम गर्ने भन्ने । तर अहिले काठमाडौं उपत्यकाको हकमा भने डायलाइसिस सेवा सूचारु गर्न निशुल्क गाडीकोव्यवस्था गरिएको छ । गाडी मार्फत आफूले डायलाइसिस गरिरहेको अस्पतालसम्म जान सकिन्छ । उपत्यका बाहिरको हकमा भने स्थानीय सरकारले व्यवस्था गरेको हुनुपर्छ । यसबारे हामीले छलफल पनि गरेका थियौं । हेर्नुस मिर्गौला रोग असाध्यै जटिल रोगमध्ये पर्छ । मिर्गौला बिग्रीसकेपछि कि प्रत्यारोपण वा नियमित डायलाइसिस गर्नेपर्ने हुन्छ । यसको अर्को विकल्प नै छैन्। डायलाइसिस एक दिन पनि ढिला हुँदा शरीरले असर देखाउन थालि हाल्छ । शरीरभरी पानी भरिएर सुन्निन थाल्छ तत्काल बिरामीलाई गाह्रो हुन्छ । प्रत्यारोपणको हकमा पनि नियमित खानुपर्ने औाषधि दुई तीन दिन लगातार नपाउने हो भने प्रत्यारोपण गरेको मिर्गौलाले काम गर्न छोड्छ वा रिजेक्सन गर्न थाल्छ वा यसको आयू घट्न सक्छ । त्यसैले यो यस्तो सेवा हो जुन जस्तोसुकै महामारीमा पनि रोक्न सकिंदैन, मिल्दैन्।

देशमा लकडाउन छ । यो अवस्थामा बिरामीले सहज रुपमा औषधि पाइरहेका छन् त ?

मिर्गौला रोगीको हकमा हामीले प्रत्येक बिरामीको डिटेल राख्छौं । लगभग सबैको फोन नम्बर हामीसँग हुन्छ । अहिले हामीले कसैलाई समस्या परेर्मा सम्पर्क गर्नुस भनेर भनेका छौं । सबैको नम्बर पनि दिएका छौं । कतिपयले फोन गर्नुभएको छ । त्यस्ता बिरामीलाई नजिकको औषधि पसललाइर्, डिलरलाई भनेर पुर्याउन लगाएका पनि छौं । सामान्यतया मिर्गौला बिरामीले एक पटकमा तीन   महिना सम्मको औषधि लिएर जान सल्लाह दिन्छौं । त्यसैले अहिले त्यति धेरै गुनासो आइसकेको छैन् । तर लकडाउन लम्बिंदै जाँदा भने समस्या आउनसक्छ । यो कुरा सरकारले बेलैमा बुझ्न जरुरी छ । अन्य अस्पतालका साथीहरुले पनि यस्तै गर्नुभएको छ जस्तो लाग्छ । लकडाउनका कारण रोग फैलिनबाट रोक्न सक्छौं तर यसले अत्यावश्यक औषधिको आपूर्ति भने रोकिन भएन्। अहिले हामीलाई चिन्ता नै बिरामीले नियमित औषधि खाएका छन् की छैनन भन्नेमा छ । किनकी लकडाउन खुलेपछि मिर्गौला रिजेक्सनको केस आउँछ की भन्ने हो । यसो भयो भने अर्को समस्या आउँछ ।

अस्पतालमा डायलाइसिस गर्न आएका बिरामीलाई संक्रमण हुन सक्ने कुरामा कत्तिको सतर्कता अपनाइएको छ ?

हामी यो कुरामा एकदमै सतर्क छौं। अहिले जो सुकै बिरामी आए पनि हामी पहिले स्क्रिनिङ गरेर मात्र भित्र प्रवेश गर्न दिन्छौं । कसैलाई कोरोनासँग मिल्ने लक्षण देखिए फिबर क्लिनिकमा पठाउँछौं । उनीहरु सुरक्षित भए मात्र अस्पतालमा प्रवेश पाउँछन । बिरामी भेट्न आउने भिजिटरलाई पनि यही अनुसार स्क्रिनिङ गरिरहेका छौ। यो कुरा हामीले मेन्टेन गर्नैपर्छ । अन्यथा मिर्गौलाको एक जनामा कोरोना संक्रमण भएमा यो भुसको आगो जस्तै फैलिनसक्ने सम्भावना हुन्छ । डायालइसिस यूनिटका सबै स्वास्थ्यकर्मी र स्वंय डायलाइसिस गर्ने बिरामी सचेत हुनैपर्छ । स्वास्थ्यकर्मी पनि बढी जोखिममा हुन्छन्। उनीहरुमा बिरामीबाट र बिरामीलाई स्वास्थ्यकर्मीबाट पनि संक्रमण फैलिन सक्छ । त्यसैले दुबै पक्षको सुरक्षा अत्यावश्यक छ ।

मिर्गौला प्रत्यारोपण सेवा त अहिले बन्द छ हैन ?

हो, अहिले हामीले प्रत्यारोपण सेवा चाहिं केही समयका लागि रोकेका छौं । देशभरमै अहिले प्रत्यारोपण बन्द छ । कोरोना महामारीका कारण यो सेवा रोक्न बाध्य भएका हौं । प्रत्यारोपण गर्दा शल्यक्रियाका क्रममा अझ बढी भाइरसको जोखिम हुन्छ । यो अवस्थामा किन रिस्क लिने भनेर सल्लाह गरेर यो निर्णय गरिएको हो । यस्ता बिरामीहरु हाम्रो सम्पर्कमै छन्। उनीहरुलाई अहिले केही समय डायलाइसिसमा बस्न सल्लाह दिएका छौं । पछि लकडाउन खुलेर संक्रमण कम हुँदै गएपछि प्रत्यारोपण शुरु गछौं । अब शुरु गर्दा पनि हामीले कोभिड १९ भए नभएको परीक्षण मार्फत एकिन गरेर मात्र शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

अन्तिममा मिर्गौला बिरामीलाई के सल्लाह दिनुहुन्छ ?

मिर्गौलाका बिरामीले लकडाउन छ आज औषधि पाइएन वा खाँदिन भन्न मिल्दैन । विशेष गरी मिर्गौला प्रत्यारोपण गरेका बिरामीले त एक डोज औषधि पनि छुटाउन हुन्न । यसले प्रत्यारोपण गरेको मिर्गौला ‘रिजेक्सन’ तर्फ जानसक्छ । औषधि पाइएन भने आफनो डक्टरलाई फोन गर्नुस्। परामर्श लिन सकिन्छ । खाइरहेको ब्रान्डको औषधि नपाइए अर्को पाउन सकिन्छ । त्यसैले भोलि ल्याउँला एक दुई दिन त हो भनेर नबस्नुस यसले पछि ठुलो समस्या निम्त्याउन सक्छ । साथै संक्रमणबाट जोगिन भिडभाडमा नजाने, सरसफाईमा ध्यान दिने त छँदैछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार