Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पूर्वीचौकी गाउँपालिका अध्यक्ष भन्छन्, विपन्नको चुल्होमा आगो निभ्न दिंदैनौं

पूर्वीचौकी गाउँपालिका अध्यक्ष भन्छन्, विपन्नको चुल्होमा आगो निभ्न दिंदैनौं

यतिबेला विश्वभरी नै कोरोनाको महामारीले सबै जना त्रसित बनिरहेका छन्। कोरोना संक्रमणका कारण हालसम्म १ लाख ८४ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन्। यसैगरी २६ लाख बढी मानिस यसबाट संक्रमित भएका छन्। यही क्रममा नेपालमा पनि हालसम्म ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक महिनादेखि देश लकडाउनमा छ । तीनै तहका सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आ आपनो स्तरबाट काम गरिरहेका छन्। कोरोना रोकथाम तथा नियन्त्रणका विषयलाई लिएर कोरोनाको उच्च जोखिममा रहेको सुदूरपश्चिमको डोटी जिल्लाका पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीसँग हेल्थ टिभी अनलाइनका शेर भण्डारीले गरेको कुराकानी:

कोरोना संक्रमणको नियन्त्रण तथा रोकथामका लागि गाउँपालिकाले के के गर्दैछ ?

अहिले विश्व नै कोरोना नियन्त्रणमा केन्द्रित छ । नेपालमा पनि कोरोना संक्रमितको संख्या ४५ जना पुगिसेको छ । यो अवस्थालाई मध्यनजर गर्दै कामहरु अघि बढाएका छौं । सुदूरपश्चिममा धेरै युवाहरु रोजगारीका लागि भारत लगायत खाडी मुलुक जाने गर्छन्। यो संख्या यहाँ धेरै नै छ । हाम्रो गाउँपालिकामा पनि धेरै युवाहरु भारतमा छन्। उनीहरु अहिले गाउँ फर्केको अवस्था छ । त्यसैले उनीहरुबाट रोग आउने जोखिम  हुन्छ । यो कुरालाई ध्यान दिंदै हामीले काम गरिरहेका छौं । हाम्रो गाउँपालिका पनि जोखिममा छ । त्यसका लागि स्क्रिनिङ गरिरहेका छौं त्यसैगरी १०,१० जना बस्न मिल्ने गरी क्वारेन्टाइन बनाएका छौं ।

यसैगरी हाम्रो गाउँपालिकाभित्र प्रवेश गर्ने नागरिकको स्वास्थ्य अवस्था चेक जाँच गर्नका लागि सिमामा हेल्थ डेस्क स्थापना देखि लिएर स्वास्थ्य क्षेत्रमा लागेका गाउँपालिका भित्रका स्वास्थ्यकर्मीको अवस्थालाई मध्य नजर गर्दै कार्यपालिकाको निर्णय अनुसार जोखिम भत्ता स्वरुप ४० प्रतिशत दिने निर्णय गरेका छौं । यो सहित स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यान दिंदै मास्क, पीपीई लगायतका अन्य सामाग्री उपलब्ध गराएका छौँ।

भारतबाट आएका सबै ब्यक्तिहरु क्वारेन्टाइनमा बसिरहेका छन् त ?

कोरोना संक्रमण रोकथामका लागि भारत सरकारले लकडाउन गरेपछि अहिले धेरै जना गाउँ आएका छन्। हामीले कडाइका साथ सबैलाई क्वारेन्टाइनमा बस्न भनेका छौं । ती सबै अहिले क्वारेन्टाइनमै छन्। उनीहरुको कोरोना परीक्ष्ण पनि भइसकेको छ । अहिलसम्म कसैमा पनि पोजेटिभ देखिएको छैन्,। त्यसैले अहिले सबैलाई घर पठाएका छौं । घरमा पनि एक साता छुट्टै बस्न भनेका छौं ।

विभिन्न ठाउँमा अलपत्र परेका गाउँपालिका भित्रका नागरिकको उद्धार कसरी हुँदैछ ?

तपाईले भने जस्तै लकडाउनका कारण गाउँपालिकाका नागरिक विभिन्न ठाउँमा अलपत्र परेका छन्। कतारमा हाम्रो गाउँपालिकाका २ जना नागरिक अलपत्र परेको खबर आएपछि संघिय सरकालाई भनेर र उनीहरुको उद्धार भइसकेको छ। यसैगरी हाम्रो गाउँपालिकाका अधिकाशं विद्यार्थी धनगढी पढ्न जान्छन्। उनीहरुको अबस्थालाई मध्ये नजर गर्दै हामीले राहत पनि वितरण गरिहेका छौं । हामी हाम्रो गाउँपालिकाका कुनै पनि नागरिकको चुल्हो निभ्न दिदैनौँ। अहीले हाम्रा नागरिक सिमामा अलपत्र परेको खबर आएको छैन्। यदि छन् भने हामी जसरी भएपनि उनीहरुको उद्धार गछौँ। नागरिकलाई अफ्ठ्यारो परेको बेला उनीहरुलाई सहयोग गर्नु हामीहरुको कर्तव्य हो। राज्य भनेको जनताको अभिभावक हो। कोरोनाको नाममा खान नपाउन र कोरोनाको नाममा आकाश मुनिको बास हुनु गलत भएकाले पूवीचौकी गाउँपालिका जनताको सेवा गर्न २४ घण्टा तयार छ।

गाउँपालिका भित्र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेलाई कसरी व्यवस्थापन गर्नुभएको छ ? 

सुदूरपश्चिममा अझै पनि थुप्रै नागरिक गरिबीको रेखामुनि रहेका छन्। हाम्रो गाउँपालिकामा नहुने कुरा भएन। यहाँका जनतामा गरीबीाको अवस्था बढी नै रहेको छ। जु्न दैनिक रुपमा काम गरेर खाने बर्ग आज लामो समयको लकडाउनले समस्या उत्पन्न हुँदा हामी ति नागरिकको तथ्याङक संकलन गरेर पहिलो चरणको राहत वितरण गरिसकेका छौँ। बिपन्न गरिब, दैनिक ज्यालादारी गरि खाने बर्गको लागि भनेर हामीहरुले ३० किलो चामल, ३ किलो दाल, २ किलो नुन, चार किलो चिनी र चार पिस साबुन वितरण गरेका थियौँ। अहिले विभिन्न संघ सस्थाबाट पनि सहयोग आइरहेको छ। प्रदेश, संघ सरकारबाट पनि सहयोग प्राप्त भएको छ। जसले गर्दा हामीहरुलाई बिपन्न गरिब, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने नागरीकको गास, बासको व्यवस्था मिलाउन सहज भएको छ।

राहत वितरणमा थुप्रै ठाउँमा गुनासा आएका छन् नि ?

राहत वितरणमा अहिले धेरै ठाउँमा गुनासा आइरहेका छन्। कतै अनियमितता भयो भन्ने छ। भने कतै सडेगलेको खानेकुरा वितरण गरियो भन्ने गुनासो पनि आएका छन्। तर, हामीहरुले भने सुरुदेखि नै सर्तकताका साथ राहत वितरण गरिरहेका छौं यदि कसैले कहीँ कतै अझै पनि राहात वितरणमा अनियमितता गरेको छ भने जो कोहीलाई कारबाही गरिन्छ। हामीले कार्यपालिकाको बैठकमा नै यो कुरामा छलफल गरेका थियौँ। यति बेलासम्म पूर्वीचौकी गाउँपालिकामा गुनासो आएका छैन्। यदि कसैले राहत नपाएको छ भने हामीहरुलाई सम्पर्क गर्नुहोला भोक भोकै हामी कुनै पनि नागरिकको चुल्हो निभ्न दिदैनौँ।

लकडाउनको पालना कत्तिको गरेका छन्?

लकडाउनको पूर्वी चौकीमा राम्रो प्रभाव रहेको पाईएको छ। सबै जनता संयमित छन्। तर अहिलको समय भनेको खेतीपातीको समय हो। त्यही भएर समस्या भइरहेको छ। गाउँमा गहुँ, जौँ, विभिन्न किसिमका बाली पाकिरहेका छन्। अब रोपाइँको लागि विउ राख्ने समय भइरहेको छ। त्यही भएर समस्या छ। विकास निर्माणका कामहरु भने ठप्प छन्। भोज भतेरदेखि लिएर कुनै पनि सभा सम्मेलन गर्न गाउँपालिकामा प्रतिबन्ध लगाइएको छ। ग्रामीण भेगमा खेतीपाती गर्ने, वनजंगल जाने ,गाई गोरु चराउने जस्ता काम भने भइरहेका छन्। यसलाई रोक्न सकिएको छैन्। तर, एक गाउँबाट अर्को गाउँमा जाने तथा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जाने कार्य पूर्ण रुपमा बन्द छ। यो हिसाबले लकडाउन पालना गरेकै छन् भन्नुपर्छ ।

अन्तमा गाउँपालिका बासीलाई यहाँको केही सन्देश छ की?

कोरोना विश्वव्यापी रुपमा फैलिएको महामारी हो। यसबाट वच्न सरकारले घोषणा गरेको लकडाउनको पुर्ण पालना गरी घरमै वसिदिनु हुन सबैमा अनुरोध छ। पटक पटक साबुन पानीले हात धुने, अत्यावश्यक नभएसम्म  घर बाहिर नजाने, बाहिर जाँदा मास्कको प्रयोग गर्ने बानीको विकास गरौँ। उच्च ज्वरो आयो ,रुघाखोकी लाग्यो भने तुरुन्त स्वास्थ्य संस्थामा जान अनुरोध गर्दछु। यस अवधीमा केही समस्या परे सामाधानका लागि हामी तत्पर छौँ। सम्पूर्ण नागरिकले संयमित भएर आफू र आफ्नो  परिवारका साथै समुदाय र राष्ट्र बचाउनका लागि योगदान पुर्याउन पुनःआग्रह गर्दछु।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार