Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘क्यान्सर बिरामीलाई कोरोनाबाट जोगाउन अस्पतालमा तीन तहको ‘स्क्रिनिङ’ गरिरहेका छौँ’

‘क्यान्सर बिरामीलाई कोरोनाबाट जोगाउन अस्पतालमा तीन तहको ‘स्क्रिनिङ’ गरिरहेका छौँ’

विश्वभरी कोरोना महामारीका कारण १ लाख ६० हजार बढी मानिसको ज्यान गइसकेको छ । त्यसैगरी २४  लाख बढी मानिस कोरोनाको संक्रमणमा परेका छन्। कोरोना भाइरसको संक्रमणले क्यान्सर, मधुमेह, उच्च रक्तचाप, दम लगायतका दीर्घ रोग भएकालाई अझ बढी सताउने कुरा विभिन्न अध्ययनले देखाएको छ । कोरोनाको यो महामारीकाबीच  क्यान्सरका बिरामीलाइ जोगाउन एवं उनीहरुको सहज उपचारका लागि के कस्ता काम भइरहेका छन् भन्ने विषयमा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठसँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानी:

कोरोना भाइरसको त्रासका बेला यहाँहरुले बिरामीलाई कसरी सेवा दिइरहनु भएको छ?

कोरोनाको महामारी विश्वभरी फैलिन थालेपछि नेपालमा पनि लकडाउन भयो। जुन अहिले पनि जारी छ। नेपालमा कोरोना रोग र लकडाउन दुबै पहिलो हो । त्यसैले शुरुका दिनमा हामीले कसरी काम गर्ने होला भनेर अलमलमा पर्यौं। सबैतिर अत्यधिक त्रास थियो । हामीले पनि इमरजेन्सी बाहेकका सबै सेवा बन्द गर्यौं। कसरी क्यान्सरका बिरामी र स्टाफलाई कोरोनाबाट जोगाउने भन्ने नै हाम्रो पहिलो प्राथमिकता रह्यो। तर सधैं यस्तो गरेर हुँदैन भनेर हामीले विश्वका कोरोनासँग लडिरहेका क्यान्सर अस्पतालमा कसरी काम गरिरहेका छन् भनेर सोधखोज गर्न थाल्यौ । त्यसलगत्तै हामीले अस्पतालमा कोरोनाको केस अस्पतालमा आएमा के गर्ने कसरी काम गर्ने भनेर उच्चस्तरीय समिति बनायौं। हुनत हाम्रो अस्पतालमा पहिलेदेखि नै ‘इन्फेक्सन कन्ट्रोल कमिटी ‘भन्ने समिति  थियो । त्यसलाई नै अझ बढी सक्रिय बनाएर काम गर्न थाल्यौं । हामीले कसरी काम गर्ने भनेर गाइडलाइन्स बनाएका छौं । त्यही गाइडलाइन्स अन्तर्गत रहेको सेवा दिइरहेका छौं । अब चाहिं हामी क्लिअर छौं कसरी काम गर्ने भन्नेमा ।

भनेपछि अहिले अस्पतालले ओपीडी सेवा पनि दिइरहेको छ ?

हामीले क्यान्सरका बिरामीका लागि ओपीडी सेवा दिइरहेका छौँ। तर आउनुअघि बिरामीले आफनो डाक्टरसँग कुरा गरेर आउनै परेमा मात्र बोलाउने गरेका छौं । पहिलेजस्तो सिधै आउने निकै कम छन्। कतिपय किमोथेरापी , रेडियोथेरापी एव फलोअपका लागि पनि आउने छन्।  इमरजेन्सी नपरेसम्म अस्पताल नआउनुस भनेर चाहिं अनलाइन मार्फत सूचना जारी पनि गरेका छौं । त्यसैले पहिले भन्दा निकै कम छन् बिरामी । तर आउँदै नआउने भन्ने हैन्। दैनिक ५० देखि ६० जना बिरामी अहिले पनि आइरहेका छन्।लकडाउनका कारण टाढाबाट आउने वा नजिकै भए पनि अस्पताल आउन गाह्रो भएर होला निकै कम छन्। हामीले नै उहाँहरुलाई इमरजेन्सी नपरेसम्म अस्पताल नआउन नै सल्लाह दिएका छौं । अस्पतालबाट धेरै रोग सर्ने सम्भावना हुन्छ । त्यसैले उहाँहरुलाई हामीले अस्पतालको वेवसाइट, फेसबुक पेज मार्फत नम्बरहरु दिएका छौं । फोन गर्नुस् भनेर धेरैलाई फोनमै परामर्श दिन्छौं । हामी अहिले पनि २४ सै घण्टा बिरामीको सेवामा छौं ।

क्यान्सर अस्पतालमा कोरोना भित्रिन नदिन के कस्ता काम गरिरहनुभएको छ?

हामीले अस्पतालमा आउने हरेक भिजिटर वा बिरामीका लागि तीन तहको स्क्रिनिङ गरेपछि मात्र भित्र प्रवेश गर्न पाउने बनाएका छौं । कोही पनि अस्पतालमा आउने बित्तिकै शुरुमा उनीहरुको हिस्ट्री लिइन्छ। कतै कोरोना प्रभावित देशबाट आएका हुन् की भनेर सोध्छौं । यदि यस्तो भएमाा उनीहरु रेड जोनमा पर्छन। उनीहरुलाई हामी फेरी फिबर क्लिनिकमा पठाउँछौ। कोरोना संक्रमितको सम्पर्कमा भए नभएको सोधपुछ र जाँच पछि मात्र उनीहरु भित्र प्रवेश गर्न पाउँछन्। फिबर भए र कोरोनासँग मिल्ने लक्षण देखिएमा क्यान्सर बिरामीलाई भेट्न वा उनीहरु भएको बिल्डिङमा जान पाउँदैनन्। त्यहीँबाट आइसोलेसन वार्डमा लगिन्छ ।अस्पतालमा आउने बिरामीको कुरुवाको हकमा पनि हामीले सकेसम्म एक जना मात्रै राख्न अनुरोध गरेका छौं । एकजना मात्र हुँदा  स्क्रिनिङ गर्न पनि सजिलो र जोखिम कम हुन्छ । कुरुवा हरेक पटक घर गएर अएपछि फेरी स्क्रिनिङ गछौं । यसरी हामीले हाम्रा बिरामीमा कोरोना संक्रमण नहोस भनेर यसरी काम गरिरहेका छौं ।

कुनै कोरोनाको बिरामी आइहालेमा यहाँहरुको अस्पतालमा तयारी कस्तो छ ?

हाम्रो अस्पताल क्यान्सरको विशिष्टीकृत अस्पताल हो । तर पनि कोरोनाका बिरामी हामीकहाँ पनि आउनसक्छन भन्ने कुरामा हामी तयार छौँ र त्यही अनुसार रणनिती बनाई काम पनि गरेका छौं । पहिलो कुरा त हामीकहाँ आउने बिरामीलाई हामी स्क्रिनिङ गछौं त्यसका लागि छुट्टै मेडिकल टिम छ । ‘कोभिड -१९ स्क्रिनिङ एण्ड म्यानेजमेन्ट कमिटी’ भन्ने छ । यो कमिटीले सम्पूर्ण काम गर्छ । यो टिममा रहने स्वास्थ्यकर्मी एवं चिकित्सक कोरोना सम्बन्धी र फिबर क्लिनिकमा मात्र हुन्छन्। उनीहरुका लागि अस्पतालले नै खान बस्न सकैको व्यवस्था गरेको छ । उनीहरु पीपीई लगाएर बिरामी हेर्छन्। फिबर क्लिनिकमा काम गर्ने स्वास्यथ्कर्मी घर जान पाउँदैनन्। कुनै बिरामी शंका लागेमा आइसोलेसन वार्डमा लगिन्छ । यसका लागि हामीले क्यान्सरका बिरामी रहने भन्दा टाढा छु्ट्टै भवनमा आइसोलेसन वार्ड राखेका छौं ताकी क्यान्सरका बिरामीसँग कुनै सम्पर्क नै हुन नसकोस् । यहाँसम्मकी त्यहाँ जाने बाटो नै अलग छ । यसरी कोरोनाको आशंका लागेमा स्वाब लिई टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पठाउने भन्ने हाम्रो गाइडलाइन्समा उल्लेख छ । यसैगरी कोरोना पोजेटिभ आएमा भने हामीले यहाँ उपचार गर्दैनौं उक्त बिरामीलाई कोरोनाकै लागि डेडिकेटेट पाटन अस्पताल पठाउने पनि कुरा भएको छ । यसरी हामी केस आएमा के गर्ने भन्ने कुरामा तयारी अवस्थामा छौं । प्रोटोकल र गाइडलाइन्स अनुसार नै काम गर्छौ ।

शल्यक्रिया गर्नुपर्ने बिरामीलाई के गर्नुभएको छ ?

शल्यक्रिया तुरुन्त गर्नुपर्ने नत्र बिरामीलाई जोखिम छ वा क्यान्सर तुरुन्त सबैतिर फैलिने छ भने हामीले त्यस्ता बिरामीको शल्यक्रिया रोकेका छैनौं । तर शल्यक्रिया एक दुई साता वा महिना नगर्दा खासै फरक पर्दैन र त्यसको सट्टा औषधि दिन सकिन्छ भने त्यो उपाय पनि सल्लाह दिएका छौं । यसमा हामी टिम नै बसेर सल्लाह गछौं र निर्णय गर्छौ।  शल्यक्रिया गर्नेपर्ने बिरामीका लागि हामीले टिम छुट्याएर काम गर्ने गरेका छौं । ताकी यदि कुनै बिरामीमा कोरोना भइहालेको भए त्यो टिम मात्र क्वारेन्टाइन वा आइसोलेसनमा बसे हुन्छ । अर्को टिमले काम गर्नसक्छ भनेर सबैलाई एकैपटक काममा लगाएका छैनौं । एनेस्थेसिया दिएर पूर्ण बेहोस बनाएर गरिने शल्यक्रियामा बिरामीलाई कोरोनाको जाँच गरेपछि मात्र शल्यक्रिया गर्ने गरेका छौँ ।

क्यान्सरका बिरामीलाई कोरोना लागेमा मृत्युदर बढी छ भनिन्छ ?

हेर्नुस । कोरोना हामी सबैका लागि नयाँ रोग हो । यसकाबारेमा एकिनका साथ कसैले पनि केही भन्न सक्ने अवस्था नै छैन्। तर भर्खर कोरोनाबाट बढी मृत्यु हने देशहरु इटली र अमेरिकाकाको उदाहरण हेर्नेहो भने इटलीमा मृत्यु भएकाको २० प्रतिशत क्यान्सरको उपचार गराइरहेका र अमेरिकामा ७ प्रतिशत क्यान्सरका बिरामी रहेको बताइएको छ । त्यसैले क्यान्सरका बिरामी र अन्य व्यक्तिलाई यो रोग सर्ने तरिका एउटै भए पनि क्यान्सरका बिरामीमा कोरोना भएमा यसमा मृत्युदर निकै बढी हुन्छ । किनकी क्यान्सरको उपचार गराइरहेका बिरामीको औषधिका कारण इम्युनिटी पावर कम हुन्छ । जसले गर्दा भाइरसले छिटो आक्रमण गर्ने र जटिलता निम्त्याउने हुन्छ । त्यसैले पनि क्यान्सरका बिरामीलाई संक्रमितको सम्पर्कमा नआउन भनेर सतर्कता अपनाउन निकै जरुरी छ । कोरोनाको बिरामी एक जना पनि क्यान्सर अस्पतालमा आएमा स्थिति भयावह हुनसक्छ । त्यसैले हामीले यति सावधानी अपनाउनु परेको हो ।

क्यान्सरको उपचार गराइरहेका बिरामीलाई कोरोनाबाट जोगिन के भन्नुहन्छ ?

क्यान्सरका बिरामीको इम्युनिटी कम हुने हुँदा कोरोना सर्ने सम्भावना बढी हुन्छ भने जटिलता पनि अन्य स्वस्थ व्यक्ति भन्दा निकै बढी हुन्छ । त्यसैले सरकारले जारी गरेको सूचना बमोजिम लकडाउनको पालना गर्दै घरभित्र बस्ने, आफनो सरसफाईमा ध्यान दिने, इमरजेनसी नपरेसम्म अस्पताल नजाने गर्न म सल्लाह दिन्छु । यसका साथै आफ्नो रोग सम्बन्धी केही समस्या परे शुरुमा फोनबाटै परामर्श लिने र डाक्टरले बोलाउँदा मात्र अस्पताल जानुस भन्न चाहन्छु । किनकी क्यान्सरका बिरामीलाई कोरोना भइहाल्यो भने बचाउन निकै गाह्रो हुन्छ । यसबाट जोगिन सिक्नु नै उत्तम उपाय हो ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार