Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘नेपाल प्लाष्टिक सर्जरीमा मेडिकल हब बन्न सक्छ’ (भिडियोसहित)

‘नेपाल प्लाष्टिक सर्जरीमा मेडिकल हब बन्न सक्छ’ (भिडियोसहित)

अहिले पनि धेरै मानिस प्लाष्टिक सर्जरीमा प्लाष्टिकको प्रयोग हुन्छ भन्ने ठान्छन्। प्लाष्टिक सर्जरी के हो, किन गरिन्छ र यसकाेअवस्था कस्ताे छ लगायत सेरोफेरोमा रहेर सानेपास्थित स्टार अस्पतालमा कार्यरत वरिष्ठ प्लाष्टिक सर्जन डा. जसवन शाक्यसँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानी–

प्लाष्टिक सर्जरी भनेको के हो?

धेरैले मलाई सोध्छन्, ‘प्लाष्टिक सर्जरीमा प्लाष्टिक प्रयोग हुने हो?’ प्लाष्टिक ग्रीक शब्द हो। यसको अर्थ हुन्छ मिलाउनु। प्लाष्टिक सर्जरीमा प्लाष्टिकको प्रयोग हुने होइन। जसरी प्लाष्टिकलाई मोडेर विभिन्न आकार प्रकार दिइन्छ, त्यसरी नै सेवाग्राहीको आवश्यकताअनुसार छालालाई विभिन्न आकार दिनु नै प्लाष्टिक सर्जरी हो। प्लाष्टिक सर्जरी दुई प्रकारको हुन्छ, रिकन्स्ट्रक्टिभ र कस्मेटिक।

यी दुईमा के फरक छ त?

रिकन्स्ट्रक्टिभ सर्जरी र कस्मेटिक सर्जरीमा धेरै नै फरक छ। रिकन्स्ट्रक्टिभ सर्जरी बाध्यता हो भने कस्मेटिक रहरमा गरिन्छ। जस्तो आगोले पोलेमा, दुर्घटनामा अंगभंग भएमा वा जन्मजात  कुनै अंग निमलेमा ती अंग प्लाष्टिक सर्जरी गरेर आकारमा ल्याइन्छ। यस्तो अवस्थामा बिरामीको शरीरको कुनै अंगबाट छाला लिएर बिग्रिएको अंगमा राखिन्छ। तर ओठ, नाक, आँखा, स्तनफ कान आदि आफ्नो अंगको आकार चित्त नबुझ्दा वा अझ आकर्षक बनाउन कस्मेटिक सर्जरी गर्न सकिन्छ।

कस्मेटिक सर्जरीको कुरा गर्दा नेपालमा कुन अंगको बढी हुन्छ?

मेरो १० वर्षको अनुभवमा चिम्से आँखा ठूलो पार्ने, स्तन ठूलो बनाउने तथा टाइट बनाउने नाक मिलाउने, पेटको बोसो तान्ने बढी छन्। स्वभावैले यो सुन्दरतासँग जोडिने हुनाले प्लाष्टिक सर्जरी गराउनेमा पुरुषको तुलनामा महिलाहरू नै बढी हुन्छन्। यीमध्ये आँखाको ‘लिड’ बनाउने भनेर आउनेको संख्या अझ बढी छ। आँखामा गाजल लगाउन पाइएन भन्दै धेरै जना आउँछन्। कस्मेटिक सर्जरीले राम्रो बनाउने मात्र नभई मानिसको आत्मविश्वास पनि बढाउँछ।

सबैले गर्न मिल्छ त प्लाष्टिक सर्जरी? 

रिकन्स्ट्रक्टिभ सर्जरी उपचारकै एउटा पार्ट भएकाले यो जुन उमेर समूहलाई पनि गर्न सकिन्छ। कस्मेटिक सर्जरीमा भने उमेर हद हुन्छ। १८ वर्ष नपुगेकालाई हामी कस्मेटिक सर्जरी गर्दैनौँ। किनकी १८ वर्षसम्म उनीहरूको बढ्ने उमेर नै हुन्छ। अंगको विकास भइरहेको हुन्छ। एकपटक मिलाइसकेपछि फेरि बढ्यो भने समस्या हुन्छ। १८ वर्षपछि भने जुनसुकै उमेरकाले गराउन सक्छन्।

नेपालमा कस्तो छ यसको सेवा एवं गुणस्तर?

केही समय अघिसम्म सेलिब्रेटीहरूले मात्र कस्मेटिक सर्जरी गराएर राम्रो भएको धेरै सुनिन्थ्यो। तर अहिले सेलिब्रेटीले मात्र होइन सर्वसाधारणले पनि गराउन थालेका छन्। राम्रो हुन सबैलाई मन लाग्छ। नेपालमा पनि यो सेवा निकै फस्टाइरहेको छ। दक्ष जनशक्ति पनि बढिरहेको छ। निजी स्तरका ठूला अस्पतालमा पनि यो सेवा उपलब्ध छन्। हामीले स्टार अस्पतालमा पनि प्लाष्टिक सर्जरी सम्बन्धी सम्पूर्ण सेवा दिइरहेका छौँ।

खर्चकाे कुरा गर्दा कतिकाे महँगाे छ?

कस्मेटिक सर्जरी केही महँगो त हुन्छ नै। तर विदेशको तुलनामा यो असाध्यै सस्तो हो। यो सर्जरी विदेशतिर इन्स्युरेन्समा पर्दैन जसले गर्दा एकदमै महँगो हुन्छ। जसले गर्दा विदेशमा बस्ने धेरै नेपालीहरू नेपालमा आएर कस्मेटिक सर्जरी गराएर जान्छन्। विदेशमा बस्ने नेपालीहरू जसरी दाँतको उपचार गर्न नेपाल आउँछन त्यसैगरी कस्ममेटिक उपारका लागि पनि आउने गरेका छन्।

नेपालले यो वर्ष भिजिट नेपाल मनाइरहेको छ। यो अवसरमा नेपाल प्लाष्टिक सर्जरीका लागि मेडिकल हब बन्न सक्छ। विदेशीलाई बोलाउने होइन, हाम्रै नेपाली, जो विदेशमा महँगो पैसा तिरेर कस्मेटिक सर्जरी गरिरहेका छन्, उनीहरुलाई यो सेवाबारे जानकारी दिएर ल्याउन सके धेरै नै राम्रो हुन्थ्यो। विदेशमा दिने सेवा भन्दा १ प्रतिशत पनि कम छैन यहाँको सेवा। साथै विदेशमा खर्च गर्ने पैसामा कस्मेटिक सर्जरी गर्ने मात्र होइन, परिवार र आफन्त भेटेर नेपाल घुमेर जान सकिन्छ।

कस्मेटिक सर्जरी कत्तिको सुरक्षित मानिन्छ?

प्लाष्टिक सर्जरीमध्ये रिकन्स्ट्रक्टिभ सर्जरीमा खासै रिस्क छैन। तर कस्मेटिक सर्जरीमा भने रिस्क हुनसक्छ। किनकी यो नमिलेको अंगलाई मिलाउने कुरा हो। यसमा सेवाग्राहीले १०० प्रतिशको आशा गरिरहेको हुन्छ। कहिलेकाहीँ सोचेजस्तो नहुन सक्छ। त्यसैले कस्मेटिक सर्जरी गराउँन राम्ररी बुझेर जानुपर्छ। दक्ष एवं अनुभवी डाक्टरकोमा जानुपर्छ। साथै यसको प्रक्रिया र साइड इफेक्ट सबै बुझ्न जरुरी छ।

बुझेर  दक्ष सर्जनबाट गराउँदा यो सुरक्षित नै हुन्छ। तर जहाँ पायो त्यहाँ गराउनु हुँदैन। कस्मेटिक सर्जरी दैनिक रूपमा गरिने मेकअप जस्तो होइन। एकपटक गराएपछि सधैँका लागि हाे।

हेर्नुस् भिडियो:

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार