Health TV Online
Health TV Online

सर्वसाधारणमा परिवार नियाेजनबारे अझै पर्याप्त चेतना पुगेकाे छैन

सर्वसाधारणमा परिवार नियाेजनबारे अझै पर्याप्त चेतना पुगेकाे छैन

स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले सोमवारदेखि दुईदिने सम्मेलन गर्दैछ। ‘पहुँच बाहिर रहेकाहरुलाई समेट्ने’ मूल नाराका साथ हुन लागेकाे  ‘राष्ट्रिय परिवार योजना’ सम्मेलनका विषयमा महाशाखाका निर्देशक डा. आर. पी. विच्छासँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानी–

राष्ट्रिय परिवार योजना सम्मेलन आयोजनाको उद्देश्य के हो?

नेपालमा परिवार योजनासम्बन्धी भइरहेका गतिविधिबारे छलफल गर्न यो सम्मेलन आयोजना गर्न लागेका हौँ। विज्ञ एवं सरोकारवालालाई एउटै थलोमा भेला गरी बदलिँदो स्वास्थ्य प्रणालीमा समय सान्दर्भिक परिवार योजनाको आवश्यकताका विषयमा छलफल र अनुसन्धान गर्न यो सम्मेलन आयोजना गरिएको हो। यस्तो प्रकारको सम्मेलन नेपालमा पहिलोपटक हुँदैछ। हाल नेपालमा परिवार नियोजन सेवाको अवस्था साथै माग र आपूर्तिको अवस्था के कस्तो छ भन्ने वारेमा बृहत छलफल हुनेछ ।

सम्मेलनको आवश्यकता किन महसुस गरियो?

हामीले परिवार नियोजनको क्षेत्रमा धेरै काम गरिरहेका छौँ। बर्सेनि ५० करोड रुपैयाँ परिवार नियोजनका साधनमा खर्च पनि भइरहेको छ। तर अझै पनि खासै सुधार हुन सकेको छैन। नेपालमा अझै पनि जम्मा ४४ प्रतिशतले मात्र आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको पाइएको छ। यो निकै कम हो। यो सख्या दुई वर्षदेखि बढ्न सकेको छैन। किन बढ्न सकेन भन्ने हाम्रो चिन्ता र चासोको विषय हाे।

सरकारले लिएको नीति तथा कार्यक्रममै कहीँ त्रुटि छ कि भन्ने पनि हो। यही कुरा पत्ता लगाउन वृहत छलफल गर्ने वेला आयो भनेर हामीले सम्मेलनको आवश्यकता महसुस गर्यौँ। त्यसैले सम्मेलन गर्दैछौँ ।

सम्मेलनमा के के हुनेछ?

दुईदिने सम्मेलनमा परिवार स्वास्थ्यसँगसम्बन्धित विषयमा अनुसन्धानकर्ताहरूले खोज तथा अनुसन्धानबारे २४ वटा मौखिक प्रस्तुति र २८ वटा पोस्टर प्रस्तुत गर्नेछन्। जसमध्ये परिवार नियोजनका साधनको पहुँच र यससँग सम्बिन्धत विषयवस्तु समेटिएका छन्। सहभागीहरुले पोस्टर प्रस्तुतीकरणको माध्यमबाट परिवार नियोजनको हालको अवस्थाको वारेमा गहन रुपमा छलफल गर्न अवसर प्राप्त गर्नसक्छन । त्यसबाहेक स्थिर रहेको आधुनिक परिवार नियोजनका साधनहरुको प्रयोगदरको कारण विश्लेषण गर्न र आगामी दिनमा समाधानका उपायहरुको विषयमा समेत प्रस्तुतीकरण हुनेछ । यस सम्मेलनले सरोकारवालाहरुसँग उत्कृष्ट अभ्यासको आदानप्रदान गर्दै आगामी दिनमा परिवार योजना र प्रजनन स्वास्थ्यसम्बन्धी साझा लक्ष्य हासिल गर्न उत्प्रेरित गर्नेछ।

सम्मेलनमा उठेका विषयवस्तु र सुझावलाई कसरी कार्यान्वयन गर्नुहुन्छ?

सम्मेलनबाट प्राप्त सुझावहरू हाम्रा नीति निर्माण, योजना तर्जुमा,  मूल्यांकन कार्यक्रम तथा विकास कार्यका लागि उपयोगी हुनेछन्। अनुसन्धान गरी आएका  परिवार योजना सम्बन्धी विषयवस्तुले  हाम्रो देशमा देखिएका हालको समस्या तथा र त्यसलाई समाधान गर्ने उपायहरूको खोजीमा समेत सहयोग मिल्नेछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार