Health TV Online
Health TV Online
Health TV Online

पौष्टिकताले भरिपूर्ण खीर

पौष्टिकताले भरिपूर्ण खीर

हेल्थ टिभी अनलाइन : मानिसका लागि दूध महत्त्वपूर्ण पेय पदार्थ हो। हाम्रो संस्कृतिमा पञ्चामृतमध्येको एक अमृत मानिन्छ, दूध। बच्चा जन्मिएपछि पहिलोपटक आमाको दूध खुवाइन्छ। गाईभैँसीको दूध पनि हाम्रो शरीरका लागि अत्यन्त आवश्यक पदार्थ हो।

हाम्रो समाजमा विशेषगरी साउनमा खीर खाने चलन छ। यो चलन परापूर्वकालदेखि नै चलेको हो। साउनका अन्य दिन खान अनुकुल नभए १५ गते मा अनिवार्य रूपमा खीर खाइन्छ।

हाम्रो संस्कृतिमा खीर पवित्र खानेकुरा हो। बालबालिकाको पास्नीका क्रममा पहिलोपटक अन्न खुवाउँदा पनि खीर नै खुवाइन्छ। श्राद्धमा पितृलाई खिरबाटै बनेको पिण्ड दिइन्छ। प्रसादको रूपमा खीर नै खाइन्छ। देवताहरूलाई पनि पायस ९खीर० नै भोग लगाइन्छ। हाम्रो समाजमा खीरको महत्त्व कति छ भन्ने यसबाट प्रष्ट हुन्छ।

खीर घिउमा दूध चामलमा सख्खर वा चिनी हाली पकाइन्छ। उपलब्धताका आधारमा नरिवल छोकडा, काजु, बदाम, किसमिस हालेपछि यो स्वादिष्ट बन्छ। खीरमा क्याल्सियम, कार्बोहाइड्रेट जस्ता पोषण पाइन्छ। यसले बालबालिकादेखि वृद्धवृद्धाको स्वास्थ्यलाई समेत फाइदा गर्छ। बालबालिकाको वृद्धि विकासमा पनि ठूलो मद्दत गर्छ भने बिरामी भएका वा शारीरिक रूपमा कमजोर भएकालाई पनि शक्ति प्रदान गर्छ।

खीर खाजा वा खानाको दुवै रूपमा खाना सकिन्छ। पश्चिमाको सिको गर्दै अचेल हरेक अवसरमा ल्याइने केकभन्दा खीर कैयौँ गुना पौष्टिक र स्वस्थकर छ।

खीर चामलको मात्र नभई मकै वा गहुँको पनि खान सकिन्छ। खिर खान नहुने भन्ने कुनै उमेर समूह पनि छैन। विशेषगरी मधुमेह भएकाले चिनी नहालीकन पनि खीर खान सक्छन्। अथवा चिनी खान मन नलाग्नेले सख्खर वा मह हालेर पनि खिर बनाउन सक्छन्।

हाम्रो जनजीवनज कृषिमा आधारित छ। साउन वर्षाका कारण वनपाखा, खेतबारीहरू हरियाली हुने महिना हो। यो वेला गाईभैँसीले प्रशस्त रूपमा पोषिला घाँसपात र जडिबुटी खान पाउँछन्। यसबेला गाईभैँसीका दूध थप पौष्टिक हुन्छन्।

यो वेला गाउँघरमा दूध प्रशस्त हुने भएकाले पनि यो समयमा खीर खाने चलन चलेको हुनसक्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार