Health TV Online
Health TV Online
Health TV Online

जाडोमा स्वस्थ रहन खानुस्, यी खानेकुरा

जाडोमा स्वस्थ रहन खानुस्, यी खानेकुरा

जाडोको समयमा खानेकुरामा हामी प्रायः कम ध्यान दिन्छाैँ। गर्मीमा जस्तो चिसोमा खानेकुरा नबिग्रिने भनेर बासी खानेकुरा पनि प्रशस्त नै खाने गर्छौँ। यस्ता कुरामा ध्यान नदिँदा जाडोको समयमा धेरै बिरामी पर्छन्। यी कुरामा सँधै ध्यान दिनुपर्छ।

जाडो याममा कसरी स्वस्थ रहने त? जाडोको समयमा कतिपय यस्ता खानेकुरा छन्, जसको सेवनबाट रोग प्रतिरोधात्मक शक्ति बढाउन र रुघाखोकीबाट बच्न सकिन्छ।

गाँजरः

उज्यालो रातो रङ भएको तरकारी, गाँजरमा धेरै मात्रामा ‘बेटा क्यारोटिन’ हुन्छ। यसबाहेक गाँजर फाइबरयुक्त हुन्छ, जसले शरीरको तौल घटाउन पनि मद्दत पुर्याउँछ। गाँजरमा अधिक मात्रामा एन्टिअक्सिडेन्ट, भिटामिन ‘के’ र कोलेस्ट्रोलको मात्रा कम हुन्छ। यसले आँखा पनि स्वस्थ राख्छ।

अण्डाः

अण्डा यस्तो पौष्टिक आहार हो जुन हामी दिनहुँ खान सक्छौँ। शरीरमा चाहिने महत्त्वपूर्ण पौष्टिक तत्त्वहरू जस्तै जिङ्क, प्रोटिन र आइरन अण्डामा पाइन्छ। अण्डा बिहानको खाजामा खान उत्तम हुन्छ र यसलाई धेरै तरिकाले खान सकिन्छ।

अदुवा

अदुवाले शरीरमा पुर्याउने फाइदाको बारेमा प्रायः सबैलाई थाहा छ। यसले अपचको समस्यालाई टाढा राख्नेदेखि रोग प्रतिरोधात्मक शक्तिसमेत बढाउँछ। जाडो समयमा शरीर अस्वस्थ हुने सम्भावना भएको हुँदा अदुवाको सेवन गर्नु फाइदाजनक हुन्छ। यसलाई चिया, सुप र तरकारीमा मिसाएर सेवन गर्न सकिन्छ।

लसुन

जाडोको समय लसुन सेवनको लागी उत्तम समय हुन्छ। काँचो लसुनमा सेलेनियम, जर्म्यानियम र सल्फाइड्रिल अमिनो एसिड हुन्छ जसले रोग प्रतिरोधात्मक शक्ति बढाउन मद्दत गर्छ। यो प्राकृतिक एन्टिबायोटिकले युरिनरी ट्रयाकट इन्फेक्सन, ब्रोन्काइटिस, निमोनियाबाट बच्न र रक्तचाप पनि घटाउन मद्दत गर्छ। चिसोपना र फ्लुले सताउँदा लसुनको सेवन गर्न जरुरी छ, जसले शरीरलाई स्वस्थ राख्छ।

दालचिनी

दालचिनी क्यालसियम र आइरनको राम्रो स्रोत हो। ‘रेड ब्लड सेल’ उत्पादन र रोग प्रतिरोधात्मक शक्ति बढाउन मद्दत पुर्याउँछ। दालचिनीले मधुमेहको स्तर घटाउन पनि मद्दत गर्छ। यसलाई चिया वा कफीमा हालेर पनि सेवन गर्न सकिन्छ।

रायोको साग

रायोको साग पनि पौष्टिक आहार हो जुन हामी सँधै खान सक्छौँ। यसले क्यान्सर लाग्नबाट बचाउँछ। याे फाइबरयुक्त हुन्छ। कलेजो र रगत दुवैलाई ‘डिटक्सिफाइ’ गर्छ र कोलेस्ट्रोलको स्तर घटाउन मद्दत गर्छ। यो भिटामिन ‘सी’को राम्रो स्रोत हो।