Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

औषधिमा जाेड हाेइन, खानपान नियन्त्रण गरेर घटाउनुस् युरिक एसिडको स्तर

औषधिमा जाेड हाेइन, खानपान नियन्त्रण गरेर घटाउनुस् युरिक एसिडको स्तर

हामीले खाएको खानाबाट प्राप्त हुने प्रोटिनको शरीरमा पाचन प्रक्रियापश्चात् बन्ने विभिन्न विकारहरूमध्ये युरिक एसिड पनि एक हो। शरीरमा बन्ने युरिक एसिड मिर्गौला भएर पिसाबको माध्यमले शरीर बाहिर निस्किन्छ। प्रोटिनहरूमध्ये विशेषगरी प्युरिनबाट युरिक एसिड बन्ने गर्दछ।

अर्थात् प्युरिन बढी भएको खानाको प्रयोग गरेमा शरीरमा युरिक एसिडको मात्रा पनि बढ्ने सम्भावना हुन्छ। एउटा स्वस्थ व्यक्तिमा जति युरिक एसिडको उत्पादन भए पनि मिर्गौलाबाट निस्किन सक्ने भएकोले, रगतमा युरिक एसिडको स्तर नियन्त्रणमा हुन्छ। युरिक एसिडको निष्कासनमा समस्या भए रगतमा यसकाे स्तर बढ्न सक्छ।

धेरैजसाे व्यक्तिमा युरिक एसिडको निस्कासन प्रक्रिया जेनेटिकमा(वंशानुगत) आधारित हुन्छ। थोरै प्रोटिनयुक्त खाना खाने व्यक्तिको युरिक एसिड बढी देखिनु र बढी खानेको युरिक एसिड सामान्य हुनु वंशाणुगत तथ्यमा आधारित हो।

अर्थात् खानामा प्रोटिन जति भए पनि मृगौलाको निष्कासन प्रक्रियाले युरिक एसिडको स्तरलाई निर्धारित गर्न प्रमुख भूमिका खेलेको हुन्छ। त्यसै गरी प्रोटिनयुक्त खानाको अत्यधिक सेवन गरे पनि रगतमा युरिक एसिडको स्तर बढ्नसक्छ। अर्थात् अत्यधिक प्रोटिनयुक्त खानाको सेवन वा युरिक एसिडको निष्कासनमा समस्याले गर्दा रगतमा युरिक एसिडको मात्रा बढ्न सक्छ।

युरिक एसिड र गाउटको बिरामीले ध्यान दिनुपर्ने कुरा

युरिक एसिड बढी भएको वा गाउट भइसकेको बिरामीले जीवनशैलीमा सुधार ल्याएर युरिक एसिडको मात्रालाई नियन्त्रणमा गर्नुपर्छ। सर्वप्रथम मदिराको सेवन बन्द गर्न जरुरी हुन्छ। मांसाहारी खानेकुराको प्रयोग सकेसम्म कम हुनुपर्छ। शाकाहारी खानाहरूमा पनि गेडागुडि कम खानुपर्छ। दूध र दहीले युरिक एसिडको स्तरलाई नियन्त्रणमा राख्छ। शरीरमा पानी कम हुन नदिन प्रशस्त पानीजन्य पदार्थ खानुपर्छ।

डाक्टरको सल्लाह अनुसार युरिक एसिडको स्तर घटाउने आैषधिहरूको (एलोप्युरिनोल र फेबुजोस्ट्याट) नियमित प्रयोग गनुपर्छ। गाउटको दुखाइको बेलामा युरिक एसिडको स्तर कम गर्न औषधि प्रयोग गर्न मिल्दैन। यस्तो बेलामा दुखाइ कम गर्न मात्रै औषधि प्रयोग गरिन्छ र पछि युरिक एसिडको स्तर घटाउने औषधि लामो समयसम्म खानुपर्ने हुन्छ। खानामा भिटामिन सीको प्रयोगले युरिक एसिडको स्तर घटाउन सकिन्छ।

माेटो व्यक्तिले आफ्नो तौललाई यथासम्भव घटाउन खोज्नुपर्छ। उच्च रक्तचाप र मुटु रोगमा प्रयोग गरिने केही औषधिहरूले (हाइड्रोक्लोथाइजाइड) पनि युरिक एसिडको स्तर बढाउनसक्ने हुनाले, यस्ता औषधिको प्रयोग नगरेको राम्रो हुन्छ। बिरामीले औषधिभन्दा पनि खानपान नियन्त्रण गरेर युरिक एसिडको स्तरलाई घटाउन खोज्नुपर्छ। खानामा नियन्त्रण गर्नु नै युरिक एसिड नियन्त्रणको सर्वोत्तम उपाय हो।

मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलको म पनि डाक्टर पुस्तकबाट