Health TV Online
Health TV Online
Health TV Online

सुर्तीजन्य पदार्थमा करको दरमा वृद्धि गरियोस् : एक्सन नेपाल

सुर्तीजन्य पदार्थमा करको दरमा वृद्धि गरियोस् : एक्सन नेपाल

हेल्थ टिभी अनलाइन :  नेपालमा सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दायरा अत्यन्त कम भएको भन्दै बढाउनका लागि एक्सन नेपालले सरकारसँग माग गरेको छ । सरकारले चालु आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गर्दै गर्दा यही समयमा एक्सन नेपालले यो माग राखेको हो ।

एक्सन नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ , ‘नेपालमा सुर्तीजन्य पदार्थको सेवनले जनस्वास्थ्य र अर्थतन्त्र दुवैमा ठूलो भार पारेको छ । यदि सरकारले यसको प्रयोग नियन्त्रण गर्न प्रभावकारी र कडा कदम चालेन भने सुर्तीका कारण हुने स्वास्थ्य तथा आर्थिक क्षति अझ बढ्दै जानेछ । साथै सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्दा स्वास्थ्य र अर्थतन्त्र दुवैका लागि लाभदायक हुने पनि जिकीर गरिएको छ ।’

विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्यका विज्ञहरूले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्नु यसको सेवन घटाउने सबैभन्दा प्रभावकारी उपाय भएको बताउँदै आएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार चुरोटको खुद्रा मूल्यमा १० प्रतिशत मात्रै वृद्धि हुँदा पनि उच्च आय भएका देशमा चुरोट सेवन करिब ४ प्रतिशतले घट्छ । न्यून तथा मध्यम आय भएका देशहरूमा ६ देखि ८ प्रतिशतसम्म घटेको पाइएको छ । त्यसैले पनि सुर्तीजन्य पदार्थमा करको दायरा बढाएर खुद्रा मूल्यमा व्यापक वृद्धि गर्न माग गरिएको छ । ताकी यो सबैको पहुँचमा नपुगोस् ।

नेपालमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशमा सुर्तीजन्य पदार्थको प्रयोग उच्च रहेको पाइएको छ । यी प्रदेशहरूमा गरिबी दर पनि बढी छ । त्यसैले गरिबी र सुर्तीजन्य पदार्थको सेवनको पनि सम्बन्ध रहेको देखाइएको छ ।

सुर्ती सेवनका कारण क्यान्सर, मुटुरोग, मष्तिष्कघात तथा श्वासप्रश्वास सम्बन्धी रोगहरूको उपचारमा ठूलो खर्च लाग्ने भएकाले परिवार र राज्य दुवै आर्थिक रूपमा प्रभावित भएका छन् । त्यसैले सुर्ती सेवन घटाउनु जनस्वास्थ्य सुधारसँगै यी प्रदेशलाई समृद्धितर्फ लैजान पनि अत्यन्त आवश्यक छ विज्ञप्तिमा भनिएको छ ।

विश्व स्वास्थ्य संगठन समेतलाई सामेल गराएर सरकार आफैले सन् २०१९ मा गरेको एक अध्ययनले सुर्ती नियन्त्रणमा लगानी गरिएको प्रत्येक १ रुपैयाँले करिब ५८१ रुपैयाँ बराबरको आर्थिक लाभ दिन सक्ने देखाइएको छ । त्यसैले पनि यसमा कर बढाएर धेरैको् ज्यान जोगाउन आवश्यक छ ।

नेपालमा सुर्ती कर अझै अत्यन्त कम

विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा कम्तीमा ७५ प्रतिशत कर हुनुपर्ने सिफारिस गरेको छ । तर नेपालमा हाल सुर्तीजन्य पदार्थमा लाग्ने कर त्यसको आधाभन्दा पनि कम छ र दक्षिण एसियामै न्यून देशहरूमध्ये पर्छ । नेपालमा सुर्तीजन्य पदार्थमा लगाउँदै आएको कर दक्षिण एसियामा सबैभन्दा कम ३२ देखि ३३ प्रतिशतसम्म मात्र रहेको छ । यदि नेपाल सरकारले सुर्तीजन्य पदार्थमा उल्लेखनीय कर वृद्धि गरेन भने दिगो विकास लक्ष्य एसडीजी ३ ‘सबैका लागि स्वस्थ जीवन’ हासिल गर्न कठिन हुनेछ ।

वार्षिक ३९ हजारको जान्छ ज्यान

नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने रोगबाट वर्षेनी ३९ हजार २ सय जनाको मृत्यु हुने गरेको छ । सुर्तीजन्य पदार्थको सेवनबाट क्यान्सर ,श्वासप्रश्वास, मुटु तथा अन्य जटिल रोगका बिरामीको संख्या पनि वर्षेनी वृद्धि भइरहेको छ ।

यसैगरी एक्सन नेपालले स्वास्थ्य जोखिम कर वृद्धि गर्न पनि माग गरेको छ । नेपालमा सुर्तीजन्य पदार्थमा लगाइने स्वास्थ्य जोखिम कर विगत चार वर्षदेखि बढाइएको छैन र हालको दर निकै न्यून छ । त्यसैले यसमा पनि कर बढाउन आवश्यक छ भनिएको छ ।

यसैगरी एक्सन नेपालले केही सिफारिसहरु पनि गरेको छ । ती सिफारिसहरुमा नेपालले सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा अन्तःशुल्कको हिस्सा क्रमशः बढाउँदै लैजाउनुपर्ने, हरेक वर्ष कर वृद्धि हुने स्वचालित व्यवस्था लागू गर्ने, सुर्ती करबाट प्राप्त राजस्वको निश्चित हिस्सा जनस्वास्थ्य कार्यक्रममा छुट्याउने, अवैध सुर्ती व्यापार नियन्त्रणका लागि कार्यान्वयन कडा बनाउने लगायतका रहेका छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार