नेपाल फिजियोथेरापी संघद्वारा फिजियोथेरापी क्षेत्रमा भइरहेको गैरकानुनी अभ्यासप्रति गम्भीर ध्यानाकर्षण
हेल्थ टिभी अनलाइन : नेपाल फिजियोथेरापी संघले देशका विभिन्न स्थानहरूमा सञ्चालन भइरहेका केही फिजियोथेरापी क्लिनिक तथा सेवा केन्द्रहरूमा भइरहेको गैरकानुनी अभ्यास, अप्रमाणित व्यक्तिद्वारा सेवा प्रवाह तथा दर्ता बिना सेन्टर सञ्चालनसम्बन्धी अनेकौं गुनासोहरू प्राप्त भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ ।
संघमा हाल विभिन्न सामाजिक सञ्जालहरूमा सार्वजनिक भएका केही भिडियो सामग्रीहरू तथा प्रत्यक्ष रूपमा प्राप्त उजुरीहरूमा आफूलाई ‘फिजियोथेरापिस्ट’ भनेर प्रस्तुत गर्ने केही व्यक्तिहरूसँग फिजियोथेरापीसम्बन्धी आवश्यक शैक्षिक योग्यता, व्यावसायिक दर्ता तथा नेपाल स्वास्थ्य व्यवसाय परिषद्को मान्यता नभएको आशंका गरिएको छ। यस्ता गतिविधिहरूले सेवाग्राहीको स्वास्थ्य, सुरक्षा तथा पेशागत मर्यादामाथि गम्भीर असर पार्न सक्ने भन्दै संघले चिन्ता व्यक्त गरेको हो ।
नेपाल स्वास्थ्य व्यवसाय परिषद् नै नेपालमा फिजियोथेरापी लगायत स्वास्थ्य व्यवसायसम्बन्धी अभ्यासलाई नियमन गर्ने, दर्ता प्रदान गर्ने तथा कुनै पनि प्रकारको गैरकानुनी अभ्यास वा कदाचारमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही गर्ने आधिकारिक निकाय हो ।
नेपाल फिजियोथेरापी संघ एक पेशागत संस्था भएकाले यसले कानुनी अनुसन्धान वा कारबाही गर्ने अधिकार नराख्ने भए पनि, नेपालका प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने व्यक्तिको योग्यता, दर्ता तथा वैधानिक अवस्थाबारे जानकारी माग्ने अधिकार रहेको र सोही अनुरुप संघले उजुरी आएका संस्थामा मौखिक सोधपुछ गरेको छ। अवलोकनका क्रममा संकलन गरिएको प्रारम्भिक विवरण तथा प्राप्त सूचनाहरू चित्त बुझ्दो नलागेकोले नेपाल स्वास्थ्य व्यवसाय परिषद् समक्ष आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि पेश गरिएको संघले जानकारी दिएको छ।
संघले फिजियोथेरापी जस्तो संवेदनशील स्वास्थ्य सेवामा योग्य, दर्ताप्राप्त तथा प्रशिक्षित जनशक्तिबाट मात्र सेवा प्रवाह हुनुपर्नेमा जोड दिँदै सम्बन्धित निकायलाई प्रभावकारी अनुगमन तथा आवश्यक कारबाहीका लागि आग्रह गरेको छ। साथै सर्वसाधारणलाई कुनै पनि स्वास्थ्य सेवा लि.दा सम्बन्धित स्वास्थ्यकर्मीको योग्यता र दर्ता अवस्थाबारे सुनिश्चित गर्न समेत अनुरोध गरेको छ ।
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?