Health TV Online
Health TV Online
Health TV Online

महिलाको मानसिक स्वास्थ्यबारे सचेतना कार्यक्रम सम्पन्न

महिलाको मानसिक स्वास्थ्यबारे सचेतना कार्यक्रम सम्पन्न

हेल्थ टिभी अनलाइन : महिलाको मानसिक स्वास्थ्य तथा तनाव व्यवस्थापनमा केन्द्रित एक अन्तरक्रियात्मक कार्यक्रम शनिबार सम्पन्न भएको छ । मनो सामाजिक परामर्शदाता लैला लामाले ललितपुरस्थित क्याफे जिरोमा उक्त कार्यक्रमको आयोजना गरेकी हुन् ।

कार्यक्रममा ६० भन्दा बढी महिलाको सहभागिता रहेको थियो । कार्यक्रममा महिलाको मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, आत्म–हेरचाह तथा दैनिक जीवनमा मानसिक स्वास्थ्यलाई चुस्त दुरुस्त राख्न गर्नपर्ने उपायबारे छलफल गरिएको थियो ।
परामर्शदाता लामाले महिलाले आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै तनाव कम गर्ने विभिन्न व्यवहारिक टिप्ससमेत दिएकी थिइन् । उनले मानसिक स्वास्थ्यसम्बन्धी समस्या लुकाएर राख्नु भन्दा खुलेर कुरा गर्नु आवश्यक रहेको बताइन् ।

यसैगरी क्यान्सर विशेषज्ञ डा सन्ध्या चापागाइँले महिलाले आफूलाई प्राथमिकतामा राख्न सिक्नुपर्ने बताइन् । उनले रोग लागिसकेपछि उपचार प्रक्रिया जटिल हुने भएकाले मानसिक तथा शारीरिक दुबै स्वास्थ्यप्रति समयमै सचेत हुनुपर्नेमा जोड दिइन् । उनले आफना कुराहरु शेयर गर्ने बानीले मन हलुका हुने हुँदा विश्वासिलो व्यक्तिसँग आफना भावनाहरु साट्ने गर्न पनि सुझाव दिइन ।

कार्यक्रममा विभिन्न महिला समूह, एकल महिला समूह तथा क्लबका प्रतिनिधित्व गर्दै महिलाहरु सहभागी भएका थिए । सहभागी महिलाहरुले आ आफ्नो प्रतिभा प्रस्तुत गर्नुका साथै मानसिक स्वास्थ्यसम्बन्धी अनुभव र विचार समेत साझा गरेका थिए । मनो सामाजिक परामर्शदाता लामाले महिलाको मानसिक स्वाथ्यमा केन्द्रित रहेर आफूले अब नियमित रुपमा यस्तो अन्तरक्रिया कार्यक्रम गर्ने योजना बनाएको समेत जानकारी दिइन ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार