Health TV Online
Health TV Online
Health TV Online

मेलबर्नमा विश्वभरका महिला अधिकारकर्मीको जमघट, समानताका लागि एक स्वर

मेलबर्नमा विश्वभरका महिला अधिकारकर्मीको जमघट, समानताका लागि एक स्वर

मेलबर्न, अष्ट्रेलिया\कल्पना आचार्य : विश्वभरका महिला अधिकारकर्मीहरू यतिबेला अष्ट्रेलियाको मेलबर्नमा भेला भएका छन्। वुमन डेलिभर सम्मेलन २०२६ का लागि उनीहरू यहाँ जुटेका हुन्। वुमन डेलिभरद्वारा आयोजित चार दिने सम्मेलन आजदेखि औपचारिक रूपमा सुरु भएको छ।

सम्मेलनको उद्घाटन सत्रमा बोल्दै वुमन डेलिभरकी अध्यक्ष तथा प्रुमख कार्यकारी अधिकृत डा मलिहा खानले महिला भएकै कारण वा कुनै पनि बहानामा कसैमाथि विभेद हुन नहुने स्पष्ट पारिन्। उनले भनिन्, ‘हामी महिला समानता र समताका लागि जति धेरै आवाज उठाउँछौं, त्यति नै हामी अघि बढ्छौं। चुप लागेर बस्नु भनेको विभेद स्विकार गर्नु जत्तिकै हो ।’

उनले सबैलाई आफ्नै ठाउँबाट आवाज उठाउन आग्रह गर्दै वुमन डेलिभरलाई साझा सिकाइ र अनुभव आदान–प्रदान गर्ने महत्वपूर्ण मंचका रूपमा वर्णन गरिन्। “यो यस्तो मंच हो जहाँ हामी एकअर्काका समस्या, भोगाइ र प्रगति साटासाट गर्न सक्छौं, ताकि मिलेर समाधान खोज्न सकियोस्,” उनले थपिन्।

यस वर्षको वुमन डेलिभर सम्मेलनमा १८९ देशबाट करिब ६ हजार महिला अधिकारकर्मी, नीति निर्माता, अभियन्ता र विकास क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका छन्। सम्मेलनमा महिलाको स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, सुरक्षित गर्भपतन, महिनावारी व्यवस्थापन, परिवार नियोजन लगायतका विषयमा विस्तृत छलफल हुने डा खानले जानकारी दिइन ।

सहभागीहरूले आफ्ना देशमा महिला अधिकारको वर्तमान अवस्था, कानुनी व्यवस्था, चुनौती र सम्भावनाबारे पनि अनुभव आदान–प्रदान गरिरहेका छन्। विशेष गरी विकासशील देशहरूमा महिला र लैङ्गिक अल्पसंख्यक समुदायले भोगिरहेका संरचनात्मक समस्या र समाधानका उपायहरूमा केन्द्रित छलफल भइरहेको छ।

सम्मेलनमा महिलाको स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, सुरक्षित गर्भपतन, महिनावारी व्यवस्थापन, परिवार नियोजन लगायतका विषयमा विस्तृत छलफल हुने डा खानले जानकारी दिइन ।

कार्यक्रममा युनाइटेड नेशन्सकी डेपुटी सेक्रेटरी जनरल अमिना मोहम्मदले पछिल्लो ३०\४० वर्षमा महिला अधिकारका क्षेत्रमा महत्वपूर्ण प्रगति भएको उल्लेख गरिन्। तर अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै उनले संयुक्त प्रयासको आवश्यकता औंल्याइन्। “हामीले सँगै काम गर्यौं भने मात्र दीर्घकालीन परिवर्तन सम्भव हुन्छ,” उनले भनिन्।

सम्मेलनमा सहभागीहरूले विश्वभर बढ्दो असमानता, राजनीतिक अस्थिरता, बजेट कटौती र महिला अधिकारमाथि देखिएको प्रतिगमनप्रति चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार यस्ता चुनौतीबीच महिला तथा लैङ्गिक विविध समुदायको आवाज अझै बलियो बनाउनुपर्ने आवश्यकता टड्कारो देखिएको छ ।

यसैगरी सहभागी अधिकारकर्मीहरूले निर्णय प्रक्रियामा समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्ने, तथा स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। धेरैले टाढाबाट गरिने निर्णयले स्थानीय जीवनमा गहिरो असर पार्ने भन्दै यसको अन्त्य हुनुपर्ने बताएका छन्।

चार दिनसम्म सञ्चालन हुने यस सम्मेलनमा विभिन्न कार्यशाला, प्यानल छलफल, अनुभव आदान–प्रदान सत्र तथा रणनीतिक बैठकहरू आयोजना हुनेछन्। सहभागीहरूले सम्मेलनबाट सिकेका अनुभव र रणनीतिहरूलाई आफ्ना देशमा लागू गर्दै महिला अधिकारको क्षेत्रमा थप प्रगति गर्ने अपेक्षा गरेका छन्।

वुमन डेलिभरले विश्वभरका महिला अधिकारकर्मीलाई एकै ठाउँमा ल्याएर साझा मुद्दामा बहस, सहकार्य र समाधान खोज्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ। यसका साथै सम्मेलनले ‘अब चुप लागेर बस्ने होइन,’ अधिकारका लागि संगठित रूपमा अघि बढ्न पर्छ भन्ने महत्वपूर्ण सन्देश दिएको सहभागीहरूको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार