बढ्दो पार्किन्सन्स रोगप्रति चिकित्सकहरुको चिन्ता
हेल्थ टिभी अनलाइन : हिँड्न गाह्रो हुनु, शरीर कडा हुनु वा हात काँप्ने जस्ता लक्षणलाई धेरैले सामान्य बुढ्यौलीको समस्या ठान्ने गरेका छन् । तर चिकित्सकहरूले यस्ता लक्षणहरूलाई बेवास्ता नगर्न चेतावनी दिएका छन् । उनीहरूका अनुसार यी संकेतहरू गम्भीर स्नायु रोग पार्किन्सनका प्रारम्भिक लक्षण हुनसक्छन् । विश्व पार्किन्सन दिवसको अवसरमा सिनियर केयर सेन्टरले काठमाडौँमा आयोजित जनचेतनामूलक कार्यक्रममा विशेषज्ञहरूले समयमै पहिचान र उपचार नहुँदा रोग जटिल बन्दै जाने बताएका छन् ।
स्नायु रोग विशेषज्ञहरूका अनुसार पार्किन्सन एक प्रगतिशील न्युरोलोजिकल रोग हो, जसले शरीरको चाल नियन्त्रण गर्ने क्षमतामा असर पार्छ । मस्तिष्कको “सब्स्टेन्सिया निग्रा” भागमा डोपामाइन नामक रसायनको कमी हुँदा यो रोग हुने नसारोग विशेषज्ञ डा राजु पौडेल बताउँछन् ।
उनका अनुसार रोगका मुख्य लक्षणहरूमा हात काँप्नु,शरीर कडा हुनु,चाल सुस्त हुनु,सन्तुलन बिग्रिनु पर्छन् । यी लक्षणलाई सामान्य ठानेर उपचार नगर्दा रोग क्रमशः जटिल बन्दै जाने गर्दछ । बसै कम्पन पार्किन्सन हुँदैनन । नेपालमा ५ हजार भन्दा बढी यस्ता बिरामी रहेको र बर्षेनी ५ सयको यहि रोगका कारण मृत्यु हुने गरेको अनुमान गरिन्छ । विशेष गरि ६० बर्ष देखि ८० बर्षका धेरै बिरामी रहेका भए पनि ४० बर्ष मुनीका पनि ५ प्रतिशतको हाराहारिमा पार्किन्सनका बिरामी रहेको उनले जानकारी दिए । हरेक १ सय जनामा १ जना पार्किन्सनका बिरामी हुनसक्ने अनुमान गरिएको छ । यो रोगको शुरुकै चरणमा उपचार भयो भने उपचारपछि सामान्य व्यक्ति सरह हुने पनि उनले जानकारी दिए ।
डा रेसा श्रेष्ठका अनुसार प्रारम्भिक चरणमा औषधिबाट राम्रो नियन्त्रण गर्न सकिन्छ । तर औषधिले काम नगर्ने अवस्थामा पुगेपछि शल्यक्रिया आवश्यक पर्न सक्छ । उनका अनुसार केही बिरामीमा ‘डीप ब्रेन स्टिमुलेसन” प्रविधि प्रयोग गरिन्छ, जसमा मस्तिष्कमा सानो उपकरण (ब्रेन पेसमेकर) राखेर कम्पन र कडापन नियन्त्रण गर्ने प्रयास गरिन्छ । “सबै बिरामीलाई अपरेसन आवश्यक हुँदैन, तर औषधिले काम गर्न छाडेपछि यस्तो विकल्प प्रयोग गर्नुपर्छ,’ उनले भनिन ।
चिकित्सकहरूका अनुसार पार्किन्सन पूर्ण रूपमा निको नहुने रोग भए पनि समयमै उपचार, व्यायाम र जीवनशैली परिवर्तनबाट नियन्त्रण गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनका तथ्याङ्कअनुसार विश्वभर पार्किन्सन रोग तीव्र रूपमा बढिरहेको छ । पछिल्ला २५ वर्षमा यसको संख्या दोब्बर भएको छ र लाखौँ मानिस प्रभावित छन् ।
कार्यक्रममा सहभागी बिरामीहरूले रोग, उपचार पद्धति र नयाँ प्रविधिबारे सचेतना बढाउनुपर्ने आवश्यकता औँल्याए । यसैगरी सिनियर केयर सेन्टरका संस्थापक सागर कटुवालको अनुभवमा धेरै पार्किन्सनका बिरामीलाई आफुले नजिकैबाट नियाल्ने गरेको र समयमै चिकित्सकको सल्लाह अनुसार उपचार गर्दा पहिलाकै अवस्थामा पनि पुगेका पाएको बताउँछन् ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’