Health TV Online
Health TV Online
Health TV Online

अत्यावश्यक औषधिमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड

अत्यावश्यक औषधिमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड

हेल्थ टिभी अनलाइन :  नेपाललाई अत्यावश्यक औषधिमा आत्मनिर्भर बनाउनपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको ‘नेपाल फर्मा एक्सपो र औषधिमा आत्मनिर्भरता बिषयमा नीतिगत सवाल’ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा ललितपुर क्षेत्र नं ३ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्की अत्यावश्यक औषधिमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइन ।

उनले औषधि महङ्गो भएको कारणले बर्षेनी पाँच लाख भन्दा बढी नागरिक गरिवीको रेखामुनी पर्ने गरेको भन्दै प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरिय औषधि पाउनुपर्नेमा जोड दिइन । उनले अव बन्ने सरकारको प्रमुख प्राथमिकता नागरिकको औषधि उपचार रहेको समेत जिकीर गरिन । उनले औषधि ऐन संशोधन गरेर नेपाली औषधि उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा समेत जोड दिइन । .गुणस्तरीय ओैषधि नागरिकको पहुँचमा पुगेको छ कि छैन भनेर पनि हेर्नुपर्ने भन्दै नागरिकको सेवालाई सहज बनाउन काम नगर्ने समितिहरू अब खारेज गरिने समेत बताइन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा चुमनलाल दासले औषधि ऐन २०३५ लाई संशोधन गरेर नेपाली औषधि उद्योगमैत्री बनाउनुपर्नेमा जोड दिए । उनले स्वास्थ्य बीमा बोर्डबाट प्रदान गरिने सवै औषधि नेपाली औषधि उद्योगबाट उत्पादन भएका लिनुपर्ने व्यवस्था गर्नुपर्ने बताए । उनले सकेसम्म आफनै देशमा बनेको औषधि बीमा बोर्डबाट वितरण गरिने व्यवस्था गर्नुपर्ने समेत जिकीर गरे ।

राष्ट्रिय ओैषधि प्रयोगशालाका निर्देशक भरतप्रसाद भट्टराईले ओैषधि परामर्श समितिका कारण धेरै समस्या रहेको भन्दै ओैषधिको गुणस्तर प्रत्याभूति गर्न विश्व स्वास्थ्य सङ्गठनले लागू गरेको मापदण्डलाई पूरा गर्नुपर्नेमा जोड दिए । उनले दिगो विकास लक्ष्यमा उल्लेख गरेअनुसार ओैषधि सम्बन्धि नीतिगत व्यवस्था परिवर्तन गरिनुपर्ने बताउँदै अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गरेर गुणस्तरीयतामा ध्यान दिनुपर्नेमा जोड दिए ।

नेपाल फार्मेसी परिषदका अध्यक्ष प्रज्वल जंग पाण्डेले नेपालले नीतिगत सुधार गरेर ओैषधि उद्योगलाई गुणस्तरीय उत्पादनमा प्रेरित गर्नुपर्नेमा जोड दिंदै प्राविधिक सीप र वैदेशिक मुद्रामा कारोबार गर्न सहज बनाइदिने हो भने धेरै उपलब्धि हासिल गर्न सकिने बताए ।

नेपाल मेडिकल काउन्सिलका सदस्य डा दिपेन्द्र पाण्डेले जेनेरिक ओैषधि उत्पादनका लागि नेपाल सरकारले उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै उत्पादनको प्रक्रिया र गुणस्तर परिक्षण गरेर जान सक्दा राम्रो हुने बताए ।उनले देशको अवस्था सुधार हुँदैगर्दा कच्चापदार्थमा कर छुट दिएर नेपाली ओैषधि उत्पादक कम्पनीलाई सहुलियत दिनुपर्नेमा जोड दिए ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले २०३५ सालमा बनेको ओैषधि ऐन नेपालका ओैषधि व्यवसायीको हितमा नभएको भन्दै आयातमुखी ओैषधि ऐनलाई सुधार गर्नुपर्नेमा जोड दिए । उनले औषधि ऐन नेपाली औषधिको पक्षमा बन्ने हो भने पाँच बर्षमा मुलुकलाई औषधिमा ८० प्रतिशत आत्मनिर्भर बनाउन सकिने धारणा राखे । उनले बंगलादेश र भारत ओैषधि उत्पादन गर्ने विश्वका ९८ प्रतिशत भन्दा बढि ओैषधि उत्पादन गर्ने देश भएको बताउँदै नेपाली उद्योगलाई पनि भारत र बंगालादेशका तुलनामा कम मुल्यमा ओैषधि उत्पादन गर्न सरकारले वातावरण बनाइदिनुपर्नेमा जोड दिए ।

स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष भिषा काफ्लेले ओैषधिको गुणस्तरमा ध्यान दिन, स्वास्थ्य क्षेत्रका नीतिगत समस्या समाधानका लागि सर्वपक्षीय छलफलका लागि यो कार्यक्रम आयोजना गरिएको जानकारी गराएका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार