Health TV Online
Health TV Online
Health TV Online

एन्टीमाइक्रोबियल रेसिस्टेन्सबारे मिडिया अन्तरक्रिया

एन्टीमाइक्रोबियल रेसिस्टेन्सबारे मिडिया अन्तरक्रिया

हेल्थ टिभी अनलाइन : एन्टीमाइक्रोबियल रेसिस्टेन्सबारे मिडिया अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विश्व स्वास्थ्य संगठन नेपाल, स्वास्थ्य पत्रकार मञ्च नेपाल र ग्लोबल एएमआर मिडिया अलायन्सको संयुक्त आयोजनामा यूएन हाउसमा उक्त अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको हो । विश्व एन्टीमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताहको अन्तिम दिन आयोजना गरिएको कार्यक्रममा विज्ञहरुले एन्टीमाइक्रोबियल रेसिस्टेन्सको समस्या विकराल बन्दै गएको भन्दै यसलाई कम गर्न मिडियाले पनि महत्वपूर्ण भूमिका खेल्न सक्नेमा जोड दिए ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा सम्भाजीराव पाण्डवले एन्टीबायोटिक जथाभावी खाने औषधि होइन यसको सही सदुपयोग गरौं भन्ने सन्देश मिडियाले समूदायसम्म पुराएर महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने जिकीर गरे । उनले मिडिया नै एकैपटक धेरै व्यक्तिकोमा जानसक्ने हुँदा एन्टीबायोटिकको दुरुपयोग गर्दा हुनसक्ने स्वास्थ्य जोखिमकाबारेमा समूदायस्तरमा जानकारी दिन आवश्यक रहेको बताए । उनले समाजमा एन्टीबायोटिक दुरुपयोगका कारण भएका जोखिमका उदाहरणहरु खोजी खोजी बाहिर ल्याउन पनि आग्रह गरे ।

यसैगरी कार्यक्रममा एन्टीबायोटिककोबारेमा प्रस्तुतीकरण दिंदै विश्व स्वास्थ्य संगठनकी एएमआर फोकल पर्सन डा पल्पसा कंसाकारले एन्टीमाइक्रोबियल रेसिस्टेन्सको समस्या नेपालमा पनि दिनप्रतिदिन विकराल बन्दै गएको भन्दै यसलाई बेलैमा सम्बोधन नगरे स्थिती भयावह हुने र कुनै पनि एन्टीबायाटिकले कामै नगरेर ज्यान जाने अवस्था आउनसक्ने बताइन । उनले भनिन, ‘अहिले नै भएका धेरै एन्टीबायोटिकले काम गर्न छोडेका छन, विगत ३० वर्षदेखि नयाँ एन्टीबायोटिक आउन सकेको छैन् यस्तो अवस्थामा बिरामीले एन्टीबायोटिक औषधि नभएर भन्दा पनि भएको औषधिले काम नगरेर ज्यान गुमाउनपर्ने अवस्था आउन सक्छ । त्यसैले भोलिका लागि पनि आज एन्टीबायोटिकको दुरुपयोग रोक्न जरुरी छ ।’ अहिले नै कुनै एक्सन चालिएन भने सन् २०५० सम्ममा एएमआरका कारण वर्षमा एक करोड मानिसको मृत्यु हुने अनुमान गरिएको उनले जिकीर गरिन ।

सोही कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाकी वरिष्ठ औषधि प्रशासक उषा तण्डुकारले एन्टीमाइक्रोबियल रेसिस्टेन्स लाई सम्बोधन गर्न विभिन्न निकायको भूमिका हुने गरी नीति तथा नियम बनाइसकेको बताइन्। उनले नेपालले एक्सन प्लान अनुसार नै काम गरिरहेको भए पनि यो धेरै मन्त्रालयवीच समन्वय गरेर मात्र काम गर्न पर्ने भएकाले समस्या आउने गरेको जिकीर गरिन । उनले एन्टीबायोटिककाबारेमा व्यापक सचेतना जगाउन मिडियाको भूमिका महत्वपूर्ण हुने समेत जिकीर गरिन । उनले मिडियाकर्मीलाई समस्या मात्र देखाउने भन्दा पनि समाधानका उपाय यी यी हुनसक्छन भनेर देखाइदिनपर्नेमा जोड दिइन ।

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष भिषा काफ्लेले एन्टीमाइक्रोबियल रेसिस्टेन्स धेरै नै प्राविधिक विषय भएकाले मिडियाकर्मीले पनि यस विषयमा कम कलम चलाइरहेको भन्दै अब भने यस्ता खालका अन्तरक्रिया र छलफलबाट धेरै कुरा प्रस्ट हुनेमा आफू विश्वस्त रहेको भन्दै आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमको समन्वयका लागि विश्व स्वास्थ्य संगठनलाई आग्रह गरे । कार्यक्रममा विभिन्न मिडियामा काम गर्ने स्वास्थ्य पत्रकारको सहभागिता रहेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार