Health TV Online
Health TV Online
Health TV Online

ग्लोबल एएमआर मिडिया अलायन्सको नेपाल च्याप्टर गठन

हरेक वर्ष 'नेपाल एएमआर मिडिया अवार्ड' प्रदान गरिने

ग्लोबल एएमआर मिडिया अलायन्सको नेपाल च्याप्टर गठन

हेल्थ टिभी अनलाइन : नेपालमा एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) सम्बन्धी सचेतना बढाउने र तथ्यमा आधारित विश्वसनीय पत्रकारिता प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल एएमआर मिडिया अलायन्सको नेपाल च्याप्टर गठन गरिएको छ।

ग्लोबल एएमआर मिडिया अलायन्स, विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्य पत्रकार मञ्च नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा ग्लोबल एएमआर मिडिया अलायन्स एशिया प्यासिफिक क्षेत्रकी अध्यक्ष कल्पना आचार्यले नेपाल च्याप्टरको घोषणा गर्दै बढ्दो एएमआर समस्यालाई कम गर्न मिडियाको भूमिकालाई निर्णायक भन्दै नेपालमा पनि एकीकृत मिडिया अभियान आवश्यक भएको बताइन्। उनले भनिन्, ‘एएमआर जनस्वास्थ्यका लागि मौन महामारी बनेर फैलिँदै गएको छ। तथ्यमा आधारित पत्रकारितामार्फत जनमानसमा सचेतना बढाउन र नीति निर्माणमा दबाव सिर्जना गर्न नेपाल च्याप्टर महत्वपूर्ण मञ्च बन्नेछ ।’

उनले एएमआर आफैमा प्राविधिक र जटिल विषय भएकाले यसलाई सरलीकृत बनाउँदै सही सूचना दिन पत्रकारको क्षमता अभिवृद्धि तथा तालिम समेतको आयोजना गर्ने जानकारी दिइन । उनी भन्छिन्, ‘एएमआर नियन्त्रण केवल चिकित्सक, स्वास्थ्यकर्मी वा सरकारको काम मात्र होइन, यो हामी सबैको साझा जिम्मेवारी हो। मिडियाका माध्यमबाट विस्तृत बहस, सही सूचना प्रस्तुतिले समस्या समाधानमा ठूलो योगदान दिन्छ भन्ने लाग्छ । त्यसको फलस्वरुप यो अलायन्स गठन भएको हो ।’

कार्यक्रममा विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा राजेश सम्भाजीराव पाण्डवले एएमआरको बारेमा जनमानसमा बुझाई कम रहेको र यसबारे बुझाउन र उनीहरुलाई सचेत बनाउने काममा मिडियाकर्मीको ठूलो भूमिका हुने बताए । उनले सरलीकृत भाषामा समूदायका समस्या उजागर गर्न ग्लोबल एएमआर नेपाल च्याप्टरले सहयोग गर्नेछ भन्नेमा आफू विश्वस्त भएको समेत जिकीर गरे ।

यसैगरी स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष भिषा काफ्लेले मिडियाकर्मी आफै नै एएमआरको बारेमा कम जानकार भएको भन्दै यस विषयमा मिडियाकर्मीलाई पनि तालिमहरुको आवश्यकता औल्याए । उनले समूदायमा सही सूचना सम्प्रेषण गर्न पत्रकार आफै जानकार हुनुपर्छ त्यसका लागि स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन जस्ता संस्थाहरुले सहजीकरण गर्नुपर्ने बेला आइसकेको जिकीर गरे ।’

उत्कृष्ट रिपोर्टिङ गर्ने एक जनालाई २० हजार अक्षरुपी सहितको ‘नेपाल एएमआर मिडिया अवार्ड’

नेपाल च्याप्टरको घोषणासँगै आगामी वर्षदेखि एएमआरबारे उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई २० हजार अक्षरुपी राशी सहित ‘नेपाल एएमआर मिडिया अवार्ड’ प्रदान गरिनेछ । उक्त अवार्डले एएमआरका क्षेत्रमा अनुसन्धानात्मक, तथ्यपरक तथा प्रभावशाली सामग्री उत्पादन गर्ने पत्रकारलाई सम्मान गर्नेछ। यो अवार्ड विश्व एएमआर सचेतना सप्ताहको अवसर पारेर दिइनेछ । अवार्डको आवेदन प्रक्रिया, मूल्यांकन मानक र छनोट विधिबारे विस्तृत जानकारी चाँडै नै सार्वजनिक गरिने नेपाल च्याप्टरकी अध्यक्ष आचार्यले जनाइन् ।

ग्लोबल एएमआर मिडिया अलायन्स विश्व भरका मिडियाकर्मीको साझा नेटवर्क हो जसले एएमआरका विषयमा पैरवी र खबरदारी गर्दै कलम चलाउने गर्छन । यो नेटवर्कमा विश्वका ५७ देशका ४ सय बढी पत्रकार आवद्ध छन् । यसले हरेक वर्ष ग्लोबल एएमआर मिडिया अवार्ड प्रदान गर्ने गर्छ । जसमा विश्वभरका पत्रकारले आवेदन दिन सक्छन । योबाहेक आगामी वर्षदेखि नेपाल च्याप्टरले नेपालका लागि छुट्टै मिडिया अवार्डको घोषणा गरेको हो ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार