Health TV Online
Health TV Online
Health TV Online

विश्व स्वास्थ्य संगठनद्वारा स्वास्थ्य मन्त्रालयलाई प्रिफ्याब भवन हस्तान्तरण

विश्व स्वास्थ्य संगठनद्वारा स्वास्थ्य मन्त्रालयलाई प्रिफ्याब भवन हस्तान्तरण

हेल्थ टिभी अनलाइन : विश्व स्वास्थ्य संगठनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महत्वपूर्ण प्रशासनिक काम तथा स्वास्थ्यसम्बन्धी सेवा सहज बनाउने उद्देश्यले निर्माण गरिएको नयाँ प्रिफ्याब्रिकेटेट कार्यालय संरचना आज मन्त्रालयलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।

सिंहदरबार परिसरमा आयोजित कार्यक्रममा विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा क्याथरिना बोहमले प्रिफ्याब्रिकेटेट संरचना स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतमलाई हस्तान्तरण गरिन । कार्यक्रममा स्वास्थ्य सचिव डा विकास देवकोटा, विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा राजेश सम्भाजीराव पण्डव, मन्त्रालय तथा विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो। प्रिफ्याब्रिकेटेट मोड्युलबाट निर्माण गरिएका ६ वटा कार्यालय कक्ष मन्त्रालयको तत्काल आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको हो ।

जेनजी प्रदर्शनका क्रममा मन्त्रालयको मुख्य भवन क्षतिग्रस्त भएपछि, मन्त्रालयको परिसरमै रहेको भवनको अस्थायी र सीमित ठाउँबाट सेवा सञ्चालन गर्दै आएको थियो । संरचनाले मन्त्रालयलाई स्वास्थ्य नीतिनिर्माण, समन्वय र सेवा प्रवाहसम्बन्धी महत्वपूर्ण कामहरूलाई निरन्तरता दिन सहयोग पुराउनेछ । कार्यक्रममा बोल्दै डा बोहमले दृढ साझेदारी र द्रुत पुनःस्थापनाको महत्वमा जोड दिइन । उनले भनिन, “यो केवल भौतिक संरचना मात्रनभई उत्थानशिलता, पूर्वतयारी र साझेदारीको प्रतीक हो । यसले मन्त्रालयका महत्वपूर्ण कामहरु बिना अवरोध निरन्तर चलिरहने वातावरण पुनःस्थापित गरेको छ ।”

मन्त्रालयका तर्फबाट प्रिफ्याब्रिकेटेट कार्यालय ग्रहण गर्दै मन्त्री डा सुधा गौतमले विश्व स्वास्थ्य संगठनले समयमै गरेको सहयोगप्रतिकृतज्ञता व्यक्त गरिन । डा गौतमले भनिन, “मन्त्रालयका लागि यो कार्यस्थल छिटो उपलब्ध गराइदिनुभएकोमा हामी विश्व स्वास्थ्य संगठनलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ । यस सुविधाले हामीलाई अझ प्रभावकारी रूपमा काम गर्न र नेपाली जनतालाई निरन्तर सेवा प्रदान गर्ने कार्यमा सहयोग गर्नेछ ।”

निर्माणका लागि प्रयोग भएका यी प्रिफ्याब्रिकेटेट युनिटहरू विश्व स्वास्थ्य संगठन नेपालले सन् २०२३ मै स्वास्थ्य आपत्कालिन पूर्वतयारी रणनीति अन्तर्गत खरिद गरेर भण्डारण गरेको थियो । यस प्रविधिले सरकारी कामकाजलाई धेरै असर नपारी छिटो निर्माण सम्पन्न गर्न मद्दत गर्यो । विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यालयका प्रमुख डा पाण्डवले भने “यी युनिटहरू पहिले नै भण्डारण गरी राखिएकाले मन्त्रालयलाई कार्यसञ्चालनको लागि ठाउँ अत्यावश्यक परेका बेला तुरुन्तै प्रयोगमा ल्याउन सम्भव भएको । यसले पूर्वतयारीमा लगानी गर्नु महत्वपूर्ण हुन्छ भन्ने फेरि पुष्टि भएको छ । आज यी संरचनाहरु हस्तारन्तरण गर्न पाउँदा हामी गौरवान्वित छौँ । यसले नेपालको स्वास्थ्य क्षेत्रको पूर्वतयारी र प्रतिकार्यको समन्वयमा मन्त्रालयको नेतृत्वलाई थप सहयोग प्रदान गर्नेछ भन्नेमा पूर्ण रुपमा विश्वस्त छौं ।”

प्रिफ्याब्रिकेटेट कार्यालय संरचना विश्व स्वास्थ्य संगठनसँगको अत्यावश्यक स्वास्थ्य सेवा निरन्तरता र जनस्वास्थ्य आपतकालिन अवस्थाको पूर्वतयारी सुदृढीकरण सम्बन्धी वृहत् पहलको एक हिस्सा हो । यसअघि विश्व स्वास्थ्य संगठन नेपालले संघीय तथा सातै प्रदेशमा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रहरू स्थापना गर्न सहयोग गरेको थियो । साथै, आपतकालिन अवस्थाहरूमा समयमै प्रतिकार्य गर्न मेडिकल क्याम्प किटमार्फत अस्थायी स्वास्थ्य संरचना स्थापनामा पनि सहयोग गरेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार