Health TV Online
Health TV Online
Health TV Online

डा पुकारलाई बेलायतमा सम्मान

डा पुकारलाई बेलायतमा सम्मान

हेल्थ टिभी अनलाइन : वरिष्ठ प्रत्यारोपण सर्जन डा पुकारचन्द्र श्रेष्ठलाई मिर्गौला तथा कलेजो प्रत्यारोपण क्षेत्रमा पुर्‍याएको योगदानका कदर गर्दै बेलायतस्थित रोयल कलेज अफ सर्जन्स अफ एडिनवर्गले सम्मान गरेको छ।

प्रत्यारोपणसम्बन्धी अध्ययन बेलायतमा गरेर स्वदेश फर्किएका डा श्रेष्ठले नेपालमा मिर्गौला तथा कलेजो प्रत्यारोपण सेवा स्थापना मात्र होइन, यसलाई विश्वस्तरको बनाउने अभियानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई विशेष सम्मान गरिएको हो ।

सोही योगदानको कदर गर्दै कलेजका अध्यक्ष डा क्लारे म्याक्नटले उनलाई उक्त सम्मान प्रदान गरेकी हुन् । सो अवसरमा प्रतिष्ठित स्वास्थ्य विज्ञ तथा कलेजका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। डा श्रेष्ठले बेलायतबाट अध्ययन सकेर आएर नेपालमा प्रत्यारोपण सेवालाई विकास गर्दै उनकै अग्रसरतामा

भक्तपुरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको स्थापना गरेका थिए । डा श्रेष्ठको नेतृत्वमा देशभर १६०० भन्दा बढी मिर्गौला प्रत्यारोपण ९९ प्रतिशतभन्दा बढी सफलताका साथ सम्पन्न भएको छ। यसैगरी नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने ऐतिहासिक काम पनि उनले गरेका छन्। यसैगरी अंगदान र प्रत्यारोपण सम्बन्धी जनचेतना अभिवृद्धिको लागि महत्वपूर्ण भूमिका खेलेका छन् ।

उनले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट १३ मिर्गौला, ४ कलेजो तथा १ संयुक्त ९मिर्गौला–कलेजो० प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिसकेका छन्। हालसम्म कुल ३५ जनाको कलेजो प्रत्यारोपण गरिसकेका छन् । यस्तै अत्यन्त जटिल मानिने तेस्रो पटकको मिर्गौला प्रत्यारोपण तथा ४ वटा धमनी ९आर्टरी० रहेको दाताबाट शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्नु उनको अर्को उल्लेखनीय उपलब्धि हो।

सन २००० मा एडिनबर्गमै प्रत्यारोपण तालिम सुरु गरेका डा श्रेष्ठले सोही कलेजको मेम्बरसिप एमआरसीएस उपाधि प्राप्त गरेका हुन्। यस्तै उनले त्यसबेला बेलायतको प्रतिष्ठित फ्रिम्यान अस्पताल लगायतका केन्द्रमा समेत कार्य अनुभव हासिल गरेका थिए।

उनकै नेतृत्व रहेका बेला भक्तपुरको शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रले देशभरका दुई तिहाइभन्दा बढी मिर्गौला तथा कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ। प्रत्यारोपण सेवा देशमै स्थापित हुँदा यसका लागि भन्दै हरेक वर्ष विदेशिने झण्डै दुई अर्ब रुपैयाँ बचत हुन थालेको पनि बताइन्छ।

हाल सरकारी सेवाबाट अवकाशप्राप्त डा श्रेष्ठले गैर नाफामूलक संस्था स्थापना गरेर प्रत्यारोपण सेवालाई अझ सुदृढ बनाउने तथा सर्वसाधारणको पहुँचमा झन् सहज रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार