Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यसम्बन्धी जनचेतना बढाउन स्वास्थ्य पत्रकारको भूमिका महत्वपूर्ण : सभामुख

स्वास्थ्यसम्बन्धी जनचेतना बढाउन स्वास्थ्य पत्रकारको भूमिका महत्वपूर्ण : सभामुख

हेल्थ टिभी अनलाइन : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विधागत पत्रकारितामा स्वास्थ्य विधा अझ बढी महत्वपूर्ण रहेको भन्दै उनीहरुको भूमिका जनचेतना अभिवृद्धि गर्न बढी महत्वपूर्ण हुने बताए । शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपालको दशौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सभामुख घिमिरेले स्वास्थ्य प्राविधिक र संवेदनशिल विषय भएकाले तथ्यमा आधारित रहेर नागरिकलाई सूचनामार्फत सचेत गराउने काम चुनौतीपूर्ण भए पनि यो काम स्वास्थ्य पत्रकारहरुले गर्दै आएकोमा उनले खुलेर प्रशंसा समेत गरे । उनले भने, ‘विधागत पत्रकारिता गर्न सजिलो छैन, विधागत पत्रकारिता गर्ने अझ बढी जिम्मेवार र विशिष्टीकृत हुनुपर्छ । मलाई लाग्छ स्वास्थ्य पत्रकार मञ्च यसमा सचेत छ ।’ उनले रोगबारेमा भन्दा पनि रोग लाग्नबाट जोगिने विषयहरुलाई बढी प्राथमिकता दिएर समाचार लेख्नुपर्नेमा जोड दिए ।

 

यसैगरी कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य पत्रकारिताको महत्व दिनानुदिन बढेको भन्दै समग्रतामा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न के गर्न सकिन्छ ती कुराहरुलाई पनि बाहिर ल्याउनु पर्ने बताए । उनले पत्रकारिताका माध्यमले पनि कहिलेकाँही कन्टेन्ट खोजिरहेकाहरुलाई सजिलो हुने बताए । यस्तै स्वास्थ्य पत्रकारहरुले राज्य तथा स्वास्थ्य क्षेत्रको नेतृत्व गरेकाहरुलाई दवाव दिन सक्ने बताए । ‘गलत काम भए औल्याउन र सहि काम भए गो अहेड भन्नु पर्छ,’ उनले भने ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी विच्छाले स्वास्थ्य पत्रकारिताले देशको स्वास्थ्य क्षेत्र सुधारका लागि धेरै योगदान गरेको भन्दै स्वास्थ्य पत्रकार मञ्च अझ क्रियाशिल भएर स्वास्थ्य क्षेत्र सुधारका लागि दवाव सिर्जना गर्दै अघि बढ्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा स्वास्थ्य सचिव डा विकास देवकोटाले पत्रकारहरुलाई राज्यको चौथो अंग भनिने गरेको भए पनि आफूलाई स्वास्थ्य पत्रकारहरु तेस्रो अंग नै हो कि भन्ने लागेको बताए । उनले निरन्तर निगरानी र खबरदारीले स्वास्थ्य क्षेत्र सुधारका लागि धेरै काम भएको भन्दै तथ्यमा रहेर काम गर्न शुभकामना दिए ।

यसैगरी विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा राजेश सम्भाजीराव पाण्डवले जनस्वास्थ्य सचेतनामा सञ्चाकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै पछिल्लो पटक डब्लुएचओले स्वास्थ्य पत्रकार मञ्च नेपालसँग जनस्वास्थ्यका विभिन्न विषयमा छलफल तथा अन्तर्क्रिया गर्दै आएको जिकीर गरे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले विधागत पत्रकारिताको विकास क्रमसँगै स्वास्थ्य पत्रकारिता उदाएको भन्दै त्यसको उदाहरण स्वास्थ्य बिटका पत्रकारहरुको संस्थाको रुपमा उदाएको मञ्च हो भनिन् । उनले स्वास्थ्य पत्रकार मञ्चसँग अघि बढेर सहकार्य गर्न महासंघ तयार रहेको समेत जनाइन ।

मञ्चका पूर्व अध्यक्ष तथा संस्थापक कल्पना आचार्यले स्वास्थ्य पत्रकार मञ्च स्थापना गर्दाका अनुभवहरु बाँड्दै स्थापनाकालमा थुप्रै चुनौती रहेको स्मरण गर्दै अहिले पनि चुनौती कायम रहेको तर चुनौतीको स्वरुप मात्र फेरिएको बताइन् ।

मञ्चका अध्यक्ष भिषा काफ्लेले मञ्चको दश वर्षे ईतिहास आरोह अवरोहका बारेमा चर्चा गर्दै आफूहरुले गर्न खोजेका कामका विषयमा चर्चा गरे । सो कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका संस्थापहरुलाई सम्मान गरिएको थियो । यसैगरी कार्यक्रममा प्रवीण ढकाल र श्रीमन शर्माद्धारा लिखित स्वास्थ्य पत्रकारिता कला र कौशल पुस्तकको पनि बिमोचन गरिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार