बालबालिकाको क्यान्सर उपचारका लागि अत्यावश्यक औषधीको पहिलो खेप आइपुग्यो
हेल्थ टिभी अनलाइन : नेपालले ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्सअन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधीको पहिलो खेप प्राप्त गरेको छ । यस महत्वपूर्ण उपलब्धिलाई विश्व स्वास्थ्य संगठन र युनिसेफले स्वागत गर्दै बालबालिकामा हुने क्यान्सर विरुद्धको लडाइँमा नेपालले अघि बढाएको कदमको प्रशंसा गरेका छन् ।
विश्व स्वास्थ्य संगठन र सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटलको संयुक्त पहलमा स्थापना भएको यस ग्लोबल प्लेटफर्ममा युनिसेफ र पाहो खरिद साझेदारको रुपमा रहेका छन् र यसले न्यून र मध्यम आय भएका देशहरूमा बालबालिकाको क्यान्सर उपचारका लागि गुणस्तरीय औषधीहरू निरन्तर रुपमा आपूर्ति गर्ने लक्ष्य लिएको छ ।
सन् २०२० मा नेपाल विश्व स्वास्थ्य संगठनकोे ग्लोबल इनिसिएटिभ अफ चाइल्डहुड क्यान्सरको प्राथमिकतामा परेको थियो । सन् २०२२ मा, नेपाल ग्लोबल प्लेटफर्ममा सहभागी हुन छनोट भएका विश्वभरका ६ देशमध्ये एक र विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रमध्ये एक मात्र राष्ट्र बन्यो । सन् २०२४ को मार्चमा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा यो कार्यक्रम सञ्चालन गर्नका लागि सहमति पत्रमा हस्ताक्षर गरेको थियो । यस प्लेटफर्मको सदस्यका रूपमा, नेपालले बालबालिकाको क्यान्सर उपचारका लागि पाँच वर्षसम्म निरन्तर रुपमा ३५ प्रकारका अत्यावश्यक गुणस्तरीय औषधी निःशुल्क प्राप्त गर्नेछ ।
युनिसेफको खरिद सेवामार्फत् वितरण गरिएका यी औषधीहरूले चारवटा अस्पतालहरु- भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, र भरतपुर क्यान्सर अस्पतालमा उपचाररत बालबालिकाको उपचारमा सहयोग गर्नेछन् । यी अस्पतालहरूले क्यान्सर उपचारका लागि आवश्यक औषधीहरूको सुरक्षित भण्डारण र प्रयोगका लागि निर्धारण गरिएका उच्चतम मापदण्डहरू पूरा गरेका छन्, जसले बालबालिकाका लागि गुणस्तरीय उपचार सुनिश्चित गर्छ ।
नेपालमा हरेक वर्ष करिब ९०० नयाँ बाल क्यान्सरका केसहरु देखा पर्ने गरेका छन् । विगतमा औषधीको अभाव र अन्य विभिन्न चुनौतीहरुको कारण एक तिहाइ बालबालिकाले मात्र उचित उपचार पाइरहेका थिए । अब यो समस्या कम हुने देखिएको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य