कान्ति बाल अस्पतालमा काठमाडौं महानगरपालिकाले मोडुलर अपरेसन थियटर निर्माण गरिदिने
हेल्थ टिभी अनलाइन : काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटर निर्माण गरिदिने भएकोछ । सोमबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र अस्पतालका निर्देशक पंकज रायले निर्माण तथा उपकरण जडान सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई सरल, सहज, पारदर्शी र पहुँच योग्य बनाउन आन्तरिक क्षमतासँगै अन्य सरकारी स्वास्थ्य सेवाको क्षमता बढाउन सहकार्य गरिएको हो । चालु आर्थिक वर्षमा कान्ति बाल अस्पतालसँगको सहकार्यका लागि ५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । महानगरबासीको सरल पहुँचमा स्वास्थ्य सेवा विस्तारसँगै समय समयमा आउने विश्वव्यापी महामारीका जोखिमको प्रतिकार्य, रोकथाम र पुनःस्थापनाका लागि समन्वयात्मक काम गर्नु सम्झौताको उद्देश्य हो ।
सम्झौताबमोजिम अस्पतालले मोडुलर अपरेशन थियटर बनाउन लागत अनुमान तयार पार्नेछ । सम्झौतामा उल्लेख भएको ५ करोड ५० लाख रुपैयाँभन्दा धेरै लागत आएमा त्यसको दायित्व अस्पतालकै हुनेछ । लागत र डिजाइनका आधारमा खुला बोलपत्र आव्हान गर्ने, मूल्याङ्कन गर्ने, निर्माण पक्ष छनोट गर्ने र निर्माण कार्य गराउने दायित्व अस्पतालको हुनेछ । महानगरपालिकाले प्रगतिका आधारमा बढीमा ३ किस्तामा सम्झौताबमोजिमको रकम उपलब्ध गराउनेछ । यसरी रकम उपलब्ध गराउँदा नेपाल सरकार वा अन्य निकायबाट प्राप्त रकमसँगा दोहोरो नहुने सुनिश्चित गर्नेछ । यसरी उपलब्ध गराएको रकमबाट निर्माण हुने संरचनाको अनुगमन गर्नेछ ।
अस्पतालले आयोजनाको पारदर्शिताका लागि सूचना बोर्ड राख्नु पर्नेछ । निर्माणका लागि अन्य निकायबाट अनुदान वा सहयोग रकम उपलब्ध भएमा त्यसको विवरण महानगरपालिकामा बुझाउनु पर्नेछ । प्रचलित पद्धतिको पालना गरेर वेरुजु नहुने गरी काम गर्नु पर्नेछ । यसबाट कुनै प्रकारको वेरुजु देखिए यसलाई फस्र्योट गर्ने दायित्व अस्पतालकै हुनेछ । यस्तै अन्तिम लेखा परीक्षण गराएर रकम उपयोगलाई चुस्त बनाउनुपर्नेछ । निर्माण तथा उपकरण जडान कार्य २०८२ ज्येष्ठ मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ ।
हस्ताक्षरपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, महानगरबासीप्रति महानगरपालिकाले पूरा गर्नु पर्ने स्वास्थ्य सेवाको पहुँच सम्बन्धी दायित्व पूरा गरिएको बताए । यस्तै महानगरका स्वास्थ्य सल्लाहकार डा.जगदीश प्रसाद अग्रवालले बाल रोगको उपचारका लागि महानगरबासीले विशेष सहुलियत प्राप्त गर्ने बताए ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य