Health TV Online
Health TV Online
Health TV Online

‘क्षयरोग अन्त्यका लागि धुम्रपान नियन्त्रण कार्यक्रम पनि सँगसँगै लान जरुरी’

‘क्षयरोग अन्त्यका लागि धुम्रपान नियन्त्रण कार्यक्रम पनि सँगसँगै लान जरुरी’

हेल्थ टिभी अनलाइन : यदि क्षयरोग अन्त्य गर्ने हो भने धुम्रपान नियन्त्रण गर्ने कार्यक्रम पनि सँगै लानै पर्छ । यदि यसो गर्न सकिएन भने क्षयरोग अन्त्य कार्यक्रम सफल हुन निकै गाह्रो हुने बताउँछन भाइटल स्ट्राटेजीमा टोबाको कन्ट्रोल कार्यक्रमका एसिया प्यासिफिक क्षेत्रका निर्देशक डा तारा सिंह बम। विश्वमा क्षयरोगबाट हुने मृत्युमध्ये औसतमा १६ प्रतिशत कारण धुम्रपान रहेको पाइन्छ । यसैगरी देश अनुसार यो अझै बढी पनि देखिएको छ । जबसम्म धुम्रपान गर्ने बानीलाई छुटाउन सकिन्न तबसम्म क्षयरोग अन्त्य गर्न मुश्किल पर्ने बताउँछन् डा बम । ‘एन्ड टिबी डायलग’ को स्पेसल एडिसनमा कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले क्षयरोगको उपचारमा जाने हरेक बिरामीलाई धुम्रपान गर्ने गरेको छ छैन सोधेर सोही अनुसार रेकर्ड राखी धुम्रपान छोडाउन सकिने बताए । यसका लागि छुट्टै बजेट पनि चाहिंदैन मात्र स्वास्थ्यकर्मीसँग इच्छाशक्ति हुनु पर्छ । हरेक भिजिटमा धुम्रपान नियन्त्रण गर्नका लागि प्रयास गरिने हो भने बिस्तारै बिरामीले सो छोड्दै जाने तथ्यांकले नै देखाएको समेत उनले जिकीर गरे ।

यसरी क्षयरोगको उपचारमा आएका बिरामीलाई धुम्रपान नियन्त्रण कार्यक्रमपनि सँगै लगेका देशका केही उदाहरण पनि उनले प्रस्तुत गरेका थिए । यसरी उपचारमा आएका बिरामीमध्ये बंगलादेशमा धुम्रपान सेवन गर्ने ८२ प्रतिशत बिरामीले आफनो उपचारका क्रममा धुम्रपान छोडेका थिए । यसैगरी भारतमा यो विधि अपनाउँदा ६७ प्रतिशतले धुम्रपान त्यागेको तथ्यांक छ । यसैगरी इन्डोनेशियामा यो कार्यक्रममा ६६ प्रतिशतले चुरोट छाडेका थिए ।

डा बमका अनुसार उपचारका क्रममा यदि बिरामीले धुम्रपान गरेन भने उपचार सफलता पनि बढी हुने गर्छ । धुम्रपान गर्ने क्षयरोगीको उपचारको सफलता धुम्रपान नगर्नेको तुलनामा निकै कम सफल हुने पनि उनले अध्ययनले देखाएको जनाए । यसैगरी धुम्रपान गर्ने बिरामीमा क्षयरोग फेरि बल्झिने सम्भावना पनि धेरै हुने गरेको अध्ययनले देखाएको छ ।
डा बमले क्षयरोगको भार बढी भएका देशले यो कार्यक्रम टोबाको नियन्त्रण र क्षयरोगका उपचार इन्टीग्रेटेट गरेर लगेमा निकै सफलता मिल्ने पाइएको समेत जिकीर गरे । त्यसका लागि स्थानीय नेतृत्वकर्ताको प्रतिवद्धता भने चाहिन्छ ।

नेपालमा गरिएको एक अध्ययनमा धुम्रपान गर्ने व्यक्ति क्षयरोगको उपचारमा ढिला पुगेको पाइएको छ । यसको प्रमुख कारणमा धुम्रपान गर्ने व्यक्तिहरुमा खोकी लागिरहने हुने र सो खोकीलाई धुम्रपानकै कारण हो भन्ने ठानेर बस्दा क्षयरोगको उपचारमा ढिला पुग्ने देखिएको हो । सो अध्ययनले धुम्रपान सेवन गर्ने व्यक्ति लक्षण आएको १३३ दिनपछि मात्र उपचारमा पुगेको पाइएको छ भने धुम्रपान नगर्ने व्यक्ति ८० दिनमै उपचारका लागि पुगेको पाइएको छ ।

नेपालमा प्रत्येक वर्ष ६९ हजार नयाँ क्षयरोगी थपिने गरेको पाइएको छ भने वर्षेनी झण्डै १६ हजार बिरामीको मृत्यु हुने गरेको छ । यसरी मृत्यु हुनेमध्येको २० प्रतिशत कारण धुम्रपान रहेको छ । यसैगरी नेपालमा ४८ प्रतिशत पुरुष र ११ प्रतिशत महिलाले कुनै न कुनै सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको पाइन्छ । २७ हजार बढीको सुर्तीजन्य सेवनका कारण लाग्ने रोगबाट मृत्यु हुने गरेको पाइएको छ ।

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा