स्वास्थ्यका समस्या समाधानका लागि सुझाव दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रका देखिएका समस्या समाधानका लागि सुझाव मागेका छन् । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका सरोकारवाला सबैसँग सुझाव सल्लाह लिएर सामूहिक रूपमा योजना बनाएर अघि बढ्ने भन्दै आफनो इमेल र ह्वाट्सएप मार्फत सुझाव माग गरेका हुन्।
उनले आफनो फेसबुक पेजमा लेखेका छन,’स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी सम्हालेको केही दिन भयो । मलाई यो अवसर प्रदान गर्नुहुने सबैलाई आभार व्यक्त गर्न चाहन्छु । मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा यहाँहरूबाट धेरै शुभकामना, आशीर्वाद र माया पाएको छु । अझ महत्वपूर्ण, स्वास्थ्य क्षेत्र सुधार गर्नका लागि धेरै सल्लाह सुझावहरू प्राप्त भएको छ । यहाँहरूका सुझाव अनुसार नै, स्वास्थ्य क्षेत्रको सुधार तथा सेवा प्रवाहलाई मर्यादित, पारदर्शी, सहज र सर्वसुलभ बनाउने हाम्रो उद्देश्य हो ।
स्वास्थ्य क्षेत्रमा धेरै समस्या र चुनौतीहरू छन् । ती समस्याको एक एक गर्दै समाधान खोज्न र अहिलेको अवस्थालाई सुधार गर्न तथा विकसित हुँदै आएका नयाँ प्रविधि र उपचार विधिहरूको अवलम्बन गर्न नीतिगत र प्रणालीगत सुधारको खाँचो छ । यसका लागि समग्र स्वास्थ्य प्रणालीलाई एकीकृत रुपमा विकास गर्न तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनाहरू निर्माण गर्नुपर्छ। ती योजनाहरू निर्माण गर्न, हामी सबैले आ–आफ्नो स्थानबाट प्रयास गर्न आवश्यक छ ।
यसका लागि, स्वास्थ्य क्षेत्रका सरोकारवाला सबैसँग सुझाव सल्लाह लिएर सामूहिक रूपमा योजना बनाएर अघि बढ्ने छौँ । त्यसैले, समग्र स्वास्थ्य प्रणाली भित्र रहेका प्रमुख समस्याहरू के के हुन् ? ती समस्याका सूची भित्र पनि प्राथमिकताका विषय के के हुन् ? र तीनको समाधान कसरी गर्ने र ? जस्ता सवालहरूको तत्कालीन र दीर्घकालीन समाधानका लागि के कस्ता योजना निर्माण गर्ने र कार्यान्वयन गर्ने भन्ने सन्दर्भमा यहाँहरूको रचनात्मक सुझावको अपेक्षा गरेको छु । ती सुझावहरू ईमेल तथा ह्वाट्सअप मार्फत दिन सक्नुहुनेछ ।’




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य