Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बंगलादेशबाट ३४० नेपाली विद्यार्थी फर्किए, अरु आउने क्रममा

बंगलादेशबाट ३४० नेपाली विद्यार्थी फर्किए, अरु आउने क्रममा

हेल्थ टिभी अनलाइन : तीन दिनमा पूर्वीनाका काँकडभिट्टा हुँदै तीन सय ४० जना नेपाली विद्यार्थी बङ्गलादेशबाट फर्किएका छन् । बङ्गलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किन थालेका हुन् ।

अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले बिहीबार ८५, शुक्रबार एक सय १४ र शनिबार एक सय ४१ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका जानकारी दिए । नेपाली विद्यार्थीसँगै बङ्गलादेशमा अध्ययनरत माल्दिभ्सकी एक छात्रासमेत काँकडभिट्टा नाका भएर नेपाल आएकी उनले बताए । ‘माल्दिभ्सकी छात्रा नेपालीसँगै त्यहाँ अध्ययन गर्नुहुँदो रहेछ’, अध्यागमन प्रमुख पनेरुले भने, ‘आन्दोलनका कारण हिंसा बढेपछि उहाँ पनि नेपालीसँगै यहाँ आउनुभयो । भारतीय अध्यागमन अधिकारीले पनि उहाँलाई नेपाल जान अनुमति दिएका उहाँले हामीलाई जानकारी दिनुभयो।’

चिकित्सा शिक्षा अध्ययनका लागि हजारौँ नेपाली विद्यार्थी बङ्गलादेशमा रहँदै आएका छन् । केही समययता बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण धेरै भएको भन्दै चलेको विद्यार्थी आन्दोलनले उग्ररुप लिएको छ । त्यहाँ रहेका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गरिएका छन् ।
ढाकास्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै नेपाली विद्यार्थीलाई अत्यावश्यक काम नपरी होस्टलबाट बाहिर ननिस्कन आग्रह गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख पनेरुले जानकारी दिए । कुनै कारणवश होस्टेलबाट बाहिरिनु पर्ने भएमा दूतावासमा जानकारी गराउनसमेत भनिएको उनले बताए ।

बङ्गलादेशमा हिंसात्मक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीले त्यहाँ बस्नुभन्दा स्वदेश फर्किनु उचित सम्झेर परिवारसँग सम्पर्क गरिरहेका अध्यागमन प्रमुख पनेरुले बताए ।

बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीलाई ढाकाबाट हवाईमार्ग हुँदै सिधै काठमाडौँ अवतरण हुने र पूर्वीनाका काँकडभिट्टा हुँदै स्थलमार्गबाट नेपाल आउने दुई सजिला विकल्प रहेका छन् ।

राससबाट :

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार