अमेरिकामा मान्छेमा बर्ड फ्लू, नेपालमा पनि सजग हुन जरुरी
हेल्थ टिभी अनलाइन : अमेरिकाको टेक्ससमा एक व्यक्तिमा बर्ड फ्लूको सङ्क्रमण पुष्टि भएपछि ठूलो स्तरमा कुखुरापालन हुने नेपालमा पनि सो रोगलाई लिएर सजगता अपनाउनुपर्ने विज्ञहरूले औँल्याएका छन्।
मूलतः पशुपक्षीमा हुने बर्ड फ्लू मानवमा सर्ने जोखिम न्यून हुने गरे पनि सङ्क्रमणको सम्भावनालाई नकार्न नसकिने भन्ने कुरा पुष्टि भइसकेको उनीहरूको तर्क छ। सरकारी तथ्याङ्कअनुसार पाँच वर्षअघि नेपालमा बर्ड फ्लूबाट एकजना पुरुषको ज्यान नै गएको इतिहास छ।
सन् २०१९ को मे महिनामा काभ्रेका २१ वर्षीय पुरुषको बर्ड फ्लूको सङ्क्रमणबाट मृत्यु भएको थियो। विज्ञहरूका अनुसार एभिअन फ्लू पक्षीमा घातक भए पनि गाईबस्तुमा कम घातक हुने गरेको छ।
पक्षीसँग प्रत्यक्ष सम्पर्कमा हुने मानिसहरू बढी जोखिममा हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुस्थित सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्। त्यसमा पहिलो नम्बरमा कृषक पर्छन् भने दोस्रोमा त्यसको ओसारपसार गर्ने मानिस पर्छन्,”
“तेस्रोमा वधशालामा काम गर्नेहरू पर्छन् र चौथो नम्बरमा मासुलगायत पक्षीजन्य उत्पादन बिक्री गर्नेहरू पर्छन्।” यद्यपि बर्ड फ्लूबाट हुने सङ्क्रमणलाई लिएर नेपालमा पर्याप्त गम्भीरता नदेखिएको डा पुन औँल्याउँछन्।
“यति संवेदनशील विषय भए पनि हामीले खासै ध्यान नदिएको हो कि जस्तो मलाई लाग्छ।”चालु आर्थिक वर्षमा अहिलेसम्म बर्ड फ्लू नदेखिएको पशु सेवा विभागका निर्देशक डा दाहाल बताउँछन्।
“हामीले गर्दै आएका सर्भेलिएन्सका क्रममा हालसालै कतै पनि बर्ड फ्लू गराउने भाइरस देखिएको छैन,” उनी भन्छन्। “यद्यपि देखिसकेपछि यो सङ्क्रामक भएकोले मानवीय क्षति पनि हुने हामी सचेत रहन जरुरी छ।”
बीबीसीबाट :




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य