Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विज्ञ भन्छन् : बच्चाको क्यान्सर निको हुने सम्भावना बढी हुन्छ, उपचारमा ढिलाई नगरौं

विज्ञ भन्छन् : बच्चाको क्यान्सर निको हुने सम्भावना बढी हुन्छ, उपचारमा ढिलाई नगरौं

हेल्थ टिभी अनलाइन : क्यान्सर रोगका विशेषज्ञहरुले बालबालिकामा हुने क्यान्सर निको हुने सम्भावना बढी हुने भएकाले समयमै उपचार गराउन आग्रह गरेका छन् । अन्तराष्ट्रिय बाल क्यान्सर दिवसको अवसर पारेर नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विशेषज्ञहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बाल क्यान्सर रोग विशेषज्ञ डा प्रकाशनिधी तिवारीले वयस्क भन्दा बाल क्यान्सर फरक हुने र बालबालिकामा निको बनाउन सकिने सम्भावना धेरै हुने बताए । उनले नेपाल क्यान्सर अस्पतालमा निको हुने दर ८५ प्रतिशतभन्दा बढी रहेको समेत जिकीर गरे । उनले बोनम्यारो ट्रान्सप्लान्टका लागि सरकारले सहयोग गरेमा १० देखि १२ प्रतिशत अझ निको हुने दर बढ्ने बताए । उनले तर  धेरै बालिबालिका उपचारको पहुँचमै नभएको समेत जिकीर गरे ।

यसैगरी अर्की बाल क्यान्सर रोग विशेषज्ञ डा अन्जली पण्डितले लगभग १४ सय बालबालिकामा बाल क्यान्सर रोग भएको अनुमान गरिएकोमा जम्मा ६ देखि ७ सय जति बालबालिका मात्र उपचारमा रहेको तथ्यांक रहेको भन्दै आधा भन्दा बढी बालबालिका उपचारको पहुँच बाहिर रहेको जानकारी दिइन् । उनले कतिपय बालबालिकाका अभिभावकलाई क्यान्सरका लक्षणबारे जानकारी नहुँदा ढिला गरी अस्पताल आउने र त्यसबेला उपचारमा कठिनाई हुने पनि उनले जनाइन् । उनले बालबालिकामा हुने क्यान्सर उपचार गरेमा निको हुन्छ भन्ने जनचेतना जगाउन जरुरी रहेको भन्दै आफूहरुले उपचार गरेका धेरै बालबालिकाले अहिले स्वस्थ जीवनयापन गरिरहेको बताइन् । उनले आफू कार्यरत अस्पतालमा बाल क्यान्सरको उपचारमा चाहिने सम्पूर्ण सेवा तथा विशेषज्ञको टिम राम्रो भएकाले रिजल्ट राम्रो दिन सकेको पनि जिकीर गरिन् ।

अन्तरक्रिया कार्यक्रममा अस्पतालका अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले सरकारले निको हुने क्यान्सरमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले सरकारले सबै क्यान्सरलाई एउटै बास्केटमा राखेर एक लाख रुपैयाँ दिने गरेको छ । निको नहुने क्यान्सर भन्दा पनि बच्चाहरु जस्तो निको हुने क्यान्सरको उपचारमा सरकारले ५ लाख सम्म सहायता गरेमा धेरै बालबालिकालाई बचाउन सकिने थियो । उनीहरु उपचार गरेर निको हुनु भनेको राज्यको सम्पत्ति हुन्। उनीहरुले देशका लागि धेरै गर्न सक्छन् ।’ उनले कतिपय अभिभावकले आर्थिक अभावकै कारण बच्चाकोे उपचार बिचमै छोडेको र सम्पर्कमै नआएको पनि अनुभव सुनाए ।

कार्यक्रममा रेडियोलोजी, प्याथोलोजी, प्रिभेन्सन विभाग लगायतका विशेषज्ञहरुले बालबालिकाको क्यान्सर उपचारमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा अस्पतालका सिइओ कपिल गौतमले आफूहरुले ५ वर्षमा १५० बाल क्यान्सर भएको बालबालिकाको उपचार गरेकोमा कसैलाई पनि आर्थिक अभावका कारण उपचारबाट वञ्चित नगराएको बताए । उनले आफूहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर आर्थिक  कमजोर भएका कयौं बालबालिकालाई निशुल्क औषधि तथा उपचार उपलब्ध गराएको बताए । उनले सरकारले सहायता स्वरुप दिने भनिएको एक लाख रुपैयाँ आफूहरुले बिरामीलाई नियमित दिंदै आएको भए पनि सरकारले भने कहिल्यै पनि उक्त रकम समयमा पठाउने नगरेको गुनासो गरे ।

बालबालिकामा सबैभन्दा धेरै देखिने र पहिलो नंबरमा रक्त क्यान्सर रहेको छ भने क्रमस ब्रेन ट्युमर,लिम्फोमा क्यान्सर, हड्डीको क्यान्सर लगायतका रहेका छन् । ८० प्रतिशतभन्दा बढीमा भने रक्त क्यान्सर नै देखिने गरेको तथ्यांक छ । जन्मेदेखि १८ वर्षसम्मका बालिबालिकामा देखिने क्यान्सरलाई बाल क्यान्सर भनिन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार