Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा क्षयरोग अन्त्यको कार्यक्रम ट्रयाकमा नभएको सरोकारवालाको निस्कर्ष

नेपालमा क्षयरोग अन्त्यको कार्यक्रम ट्रयाकमा नभएको सरोकारवालाको निस्कर्ष

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा क्षयरोग अन्त्यको कार्यक्रम ट्रयाकमा नभएको सरोकारवालाले निष्कर्ष निकालेका छन्। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सरोकारवालाले नेपालमा क्षयरोग अन्त्यका लागि काम गरिरहेको भए पनि सो सही ट्रयाकमा नभएको बताएका हुन्।

कार्यक्रम अन्तराष्ट्रियस्तरमा नै क्षयरोग र लंग हेल्थमा काम गर्दै आएको अन्तराष्ट्रिय संस्था इन्टरनेशनल युनियन अगेन्स्ट ट्युबरक्लोसिस एण्ड लंग डिजिज द युनियन, एपिक्याट, एपिक्याट मिडिया, भाइटल स्टार्टेजी, एक्सन नेपाल र स्वास्थ्य पत्रकार मञ्चको संयुक्त आयोजनामा भएको हो । सो कार्यक्रममा विशेष अतिथिका रुपमा आएका द युनियनका अध्यक्ष प्राध्यापक गाइ माक्र्सले नेपालमा क्षयरोग अन्त्यका कार्यक्रमहरु बढिरहेको भए पनि केस घट्नुको सटटा झन झन बढिरहेको हुँदा सो कार्यक्रम सही ट्रयाकमा नभएको जस्तो देखिएको बताए । उनले भने, ‘अहिले जोखिम समूहमा मात्र गएर स्क्रिनिङ गरेको पाइएको छ तर क्षयरोगमा जोखिम समूह भन्दा पनि सबै व्यक्ति जोखिममै हुने हुँदा सबैलाई मासमा गएर स्क्रिनिङ गर्नुपर्छ । अनि मात्र कोही पनि परीक्षणबाट छुट्दैनन । केस छिटो पत्ता लाग्छ ।’

उनले मास स्क्रिनिङ नै क्षयरोग पत्ता लगाउने, उपचार गर्ने र यसको अन्त्य गर्ने एउटै मात्र उपाय भएको पनि बताए । उनले लक्षण भएकामा मात्र क्षयरोग परीक्षण गर्ने नभई लक्षण नै नभएकामा पनि परीक्षण गरेर उनीहरुमा क्षयरोग भए नभएको एकिन गर्नुपर्नेमा जोड दिए । प्राध्यापक माक्र्सले कम आय भएका नेपाल लगायतका देशमा क्षयरोग झनझन चुनौती बढ्नु कार्यक्रमहरु सही दिशामा नभएर भएको हुनसक्ने भन्दै यसको मोडालिटी परिवर्तन गरेर जानुपर्नेमा जोड दिए । उनले कार्यक्रममा बोल्दै आफनो संस्था द युनियन नेपालमा क्षयरोग अन्त्यका लागि सहयोग गर्न तयार रहेको समेत जनाए ।

यसैगरी कार्यक्रममा स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाले क्षयरोगको जोखिम समूहमा धुम्रपान रहेकाले धुम्रपान र क्षयरोग कार्यक्रमलाई सँगसँगै लिएर जानुपर्ने बताए । उनले धुमपान सेवनको दर घटाउन सके क्षयरोगको पनि भार केही कम हुने जिकीर गरे ।

यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्ववल श्रेष्ठले नेपालमा क्षयरोग अन्त्य गर्नका लागि अहिले गरिरहेको कामले मात्र नपुग्ने भन्दै यो भन्दा फरक र अझ बढी इफोर्ट लगाउनुपर्ने बताए । उनले भने, यही गतिमा गएर र अहिले भएका कार्यक्रमले मात्र क्षयरोग अन्त्यका लागि अन्तरािष्ट्रयस्तरमा गरेका कमिटमेन्ट पूरा हुन गाह्रो छ । यसको रफ्तार बढाउनैपर्छ अनि मात्र हामी सही ट्रयाकमा आउँछौं । उनले थपे । डा श्रेष्ठले अहिले प्रत्येक वर्ष ६९ हजार नयाँ क्षयरोगी थपिने गरेकोमा झण्डै आधाको हाराहारीमा उपचारमा आउन नसकेको भन्दै त्यही मिस भइरहेका केस खोज्नु ठूलो चुनौती भएको जिकीर गरे । उनले सरकारले छुट्याएको बजेट र कार्यक्रममा पनि ठूलो ग्याप रहेकाले कार्यक्रम प्रभावकारी ढंगबाट हुन नसकेको बताए । उनले क्षयरोगको भार कम गर्न सरकारले अब लगानी बढाउनुपर्नेमा जोड दिए ।

यसैगरी कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्त बहादुर केसीले सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमलाई शसक्त गर्नुपर्ने बताए । उनले सुर्तीजन्य पदार्थको सेवन क्षयरोगको उपचारमा ठूलो बाधक बन्ने भन्दै सुर्तीजन्य पदार्थ नियन्त्रण अत्यावश्यक भएको बताए ।

कार्यक्रममा भाइटल स्टार्टेजी\द युनियनका निर्देशक डा तारासिंह बमले क्षयरोगको भार कम गर्न एउटा राम्रो उपाय क्षयरोगको उपचार गर्न आउँदा सुर्तीजन्य पदार्थ सेवन गर्ने नगर्ने रेकर्ड राख्ने र सो छुटाउनका लागि प्रयास गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘यसका लागि सरकारले छु्टटै बजेट पनि छुट्याउन पर्दैन । मात्र एउटा गाइडलाइन्स बनाएर सो गर्न सके धेरैलाई यसको लतबाट छुटाउन त सहयाेग गर्न सकिन्छ नै क्षयरोगको जटिलता र मृत्युदर पनि घटाउन सकिन्छ । ‘उनले यस्तो कार्यक्रम धेरे देशहरुमा सफल भएको समेत बताए ।  यसैगरी सुर्तीजन्य पदार्थको सेवन गर्नेहरु क्षयरोग भएर खोकी लागिरहँदा पनि धुम्रपानले होला भनेर ढिला गरी स्वास्थ्य संस्थामा जाने र जसले गर्दा उनीहरुले अरुलाई सारिरहेका हुने समेत उनले जिकीर गरे ।

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार