डब्लुएचओ क्षेत्रीय निर्देशकका उम्मेदवार डा आचार्यलाई सरकारले सहयोग नगरेको गुनासो
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ ) को दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवारी दिएका डा शम्भु प्रसाद आचार्यलाई सरकारले आवश्यक सहयोग नगरेको विज्ञहरुले गुनासो गरेका छन् । विज्ञहरुले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सरकारले आफैले अनुमोदन गरेको आफनै देशको दक्ष व्यक्तिलाई अहिले आएर सहयोग नगरेको गुनासो गरेका हुन्।
आगामी अक्टोबर ३० देखि दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकको लागि भारतको नयाँ दिल्लीमा निर्वाचन हुँदैछ। दक्षिण पूर्वी एशियामा नेपाल सहित बंगलादेश, भूटान, दक्षिण कोरिया, भारत, इण्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड र टिमोर–लिस्टे राष्ट्र रहेका गरी ११ देश रहेका छन्। यही ११ देशका प्रतिनिधिको भोटले उम्मेदवारले जित्ने हो । अहिले डब्लुएचओको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट डा आचार्य र बंगलादेशबाट प्रधानमन्त्री शेख हसिनाकी छोरी सैमा वाजेद चुनावी मैदानमा छन् ।
वरिष्ठ पत्रकार तथा अधिकारकर्मी कनकमणी दिक्षितले सरकारले डा आचार्यलाई नेपालको उम्मेदवारको रुपमा सिफारिस गरेको भए पनि अहिले आएर परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले सहयोग गर्न नखोजेको जस्तो देखिएको भन्दै किन यस्तो भयो यो सोचनीय विषय भएको बताए ।
उनले आचार्य जस्तो अनुभवी र दक्ष व्यक्ति डब्लुएचओको क्षेत्रीय निर्देशक पदमा पुग्दा नेपाललाई मात्र नभएर दक्षिण एशियालाई नै फाइदा हुने समेत बताए । उनले आचार्यसँग विगत ३० वर्षदेखि विश्वस्वास्थ्य संगठनअन्तर्गत स्वास्थ्य नीति, कार्यक्रम तथा बजेटसँग सम्बन्धित महत्वपूर्ण जम्मेवारीमा रही काम गरेको अनुभव भएको र उनको प्रतिस्पर्धी वाजेदको खासै अनुभव नभएको र उनी आमाको राजनैतिक शक्तिको कारण मात्र चर्चामा रहेको जिकीर गरे ।
यसैगरी कार्यक्रममा विश्व स्वास्थ्य संगठनमा काम गरिसकेककी जनस्वास्थ्य विज्ञ डा रिता थापाले डा आचार्य अहिले दक्षिण पूर्वी एशिया क्षेत्रको जनस्वास्थ्यको समस्या हल गर्न सक्ने एक मात्र उम्मेदवार भएको बताइन् । उनले यो नेतृत्वदायी भूमिका भएकाले आचार्य अत्यन्त सक्षम व्यक्ति भएकाले उनलाई जिताउन सरकारले सक्दो पहल गर्नुपर्नेमा जोड दिइन् । उनले अहिले आएर सहयोग गरेको छैन भनेर सुन्दा दुख लागेको भनिन् ।
अर्का जनस्वास्थ्य विज्ञ डा बद्र बहादुर पाण्डेले पनि डा आचार्य नै अहिलेको सही उम्मेदवार भएकाले उनलाई सरकारले कुनै पनि हालतमा सहयोग गर्नुपर्नेमा जोड दिए ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’