Health TV Online
Health TV Online
Health TV Online

एनएमए नेशनल हेल्थ समिट असोज १२ र १३ गते हुँदै

एनएमए नेशनल हेल्थ समिट असोज १२ र १३ गते हुँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघको तेस्रो नेशनल हेल्थ समिट यही असोज १२ र १३ गते काठमाडौंमा हुने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवाको प्रवद्धन अवसर र चुनौति भन्ने नाराका साथ संघले विभिन्न ६ वटा छुट्टाछुट्टै विषयवस्तुमा केन्द्रित रहेर सम्मेलन गर्न लागेको हो । कार्यक्रम काठमाडौंको बबरमहलस्थित काकी ब्याङ्क्वेटमा हुनेछ ।

नेशनल हेल्थ समिटका बारेमा जानकारी दिन आईतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सम्मेलन आयोजक कमिटिका अध्यक्ष प्राडा चोपलाल भुसालले सम्मेलनले स्वास्थ्यका विविध विषयमा छलफल मात्र नभएर त्यसको समाधानको पाटोको विकल्पहरु सहित निचोड निकाल्ने बताए । उनले २० वर्ष अघि र अहिले स्वास्थ्यमा छलफल गर्नुपर्ने विषयमा फरक आएको भन्दै यो सम्मेलनले केही हदसम्म मानव स्वास्थ्य र गुणस्तरीय स्वास्थ्य प्रवाह लगायतका विषयमा गहनतम विचार विमर्श गर्ने बताए ।

एनएमए तेस्रो नेशनल हेल्थ समिटमा स्वास्थ्यका विभिन्न ६ विषयमा विज्ञहरुमार्फत गहन छलफल हुनेछ । यसपटक पहिलो विषयवस्तु दोस्रो नेशनल हेल्थ समिटबाट भएका उपलब्धीका बारेमा छलफल हुनेछ । यसैगरी क्रमस चिकित्सा विज्ञानको विकासका लागि खोज, अनुसन्धान तथा नवप्रवर्तन, स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, समान सेवाका लागि स्वास्थ्य प्रणाली र स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा विषयमा छलफल हुने संघका अध्यक्ष डा अनिल विक्रम कार्कीले जानकारी दिए । थप सेसनका रुपमा एन्टिबायोटिकको गलत प्रयोगकाबारेमा पनि सेसन राख्नेबारे छलफल भइरहेको डा कार्कीले जानकारी दिए ।

डा कार्कीले उक्त सम्मेलनको समापन पश्चात् बैज्ञानिक रुपमा प्रस्तुत गरिएका कार्यपत्र, छलफल र निचोडलाई एकिकृत गरी रणनीतिमूलक नीतिगत सुझाब स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत देशभरका सरोकारवाला निकायमा सम्प्रेषण गरिने समेत जानकारी दिए ।

जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन शुरुवात भएको महिनालाई प्रत्येक बर्ष बार्षिक क्यालेण्डर इभेन्टको रुपमा मनाउने संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णय बमोजिम गत तीन वर्षदेखि संघले राष्ट्रिय सम्मेलन गर्न थालेको हो । यसअघि दुईवटा सम्मेलन भइसकेका छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार