‘हेड एण्ड नेक क्यान्सरका ७० प्रतिशत बिरामी एडभान्स स्टेजमा अस्पताल आउँछन्’
जति ढिलो उपचार, त्यति नै जटिलता बढी
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हेड एण्ड नेक क्यान्सरका बिरामी दिनप्रतिदिन बढदै गएको भन्दै चिकित्सकहरुले चिन्ता ब्यक्त गरेका छन्। बिहिबार विश्व हेड एण्ड नेक क्यान्सर सचेतना दिवसको अवसरमा नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपले आयोजना गरेको ४३ औं सर्भाइभर मिटमा उनीहरुले सुर्तीजन्य पदार्थको सेवनका कारण नेपालमा प्रत्येक वर्ष हेड एण्ड नेक क्यान्सर बढेको भन्दै चिन्ता ब्यक्त गरेका हुन् ।
अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले पछिल्ला केही वर्ष यता हेड एण्ड नेक क्यान्सरका बिरामीको संख्या निकै बढेको भन्दै यसको प्रमुख कारण सुर्तीजन्य पदार्थको सेवन बढ्नु नै रहेको बताए । उनले आफनो अस्पतालमा हेड एण्ड नेक क्यान्सरका सबै खालको उपचार सम्भव रहेको र त्यसको लागि उच्च प्रविधि तथा उत्कृष्ठ विशेषज्ञ टिम रहेको समेत बताए ।
यसैगरी कार्यक्रममा हेड एण्ड नेक क्यान्सर विशेषज्ञ डा प्रभात चन्द्र ठाकुरले नेपालमा ९० प्रतिशत मुख तथा घाँटीको क्यान्सर सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको बताए । उनले भने, ‘सुर्तीजन्य पदार्थ जस्तै पान, गुट्खा, सुर्ती, चुरोट र त्यो सँगै मदिराको सेवनका कारण मुख तथा घाँटीमा हुने क्यान्सर ह्वात्तै बढेको छ । अन्य दश प्रतिशत वातावरण एवम वंशाणुगत वा अन्य कारण हुनसक्छ ।’ डा ठाकुरले हेड एण्ड नेक क्यान्सर पछिल्लो समय पुरुषहरुमा बढी लाग्ने फोक्सोको क्यान्सरको हाराहारीमा आउन थालेको भन्दै सुर्तीजन्य पदार्थको सेवन मात्र घटाउन सके यो क्यान्सर आफै घट्ने बताए ।
हेड एण्ड नेक क्यान्सर भन्नाले मुख, गिंजा, जिब्रो, घाँटी, थाइराइड लगायतका क्यान्सर पर्छन। यी मध्ये नेपालमा पहिलो नम्बरमा मुखको क्यान्सर, दोस्रोमा घाँटीको क्यान्सर र तेस्रो नम्बरमा थाइराइड क्यान्सर रहेको डा ठाकुरले जानकारी दिए । उनले शुरुकै अवस्थामा बिरामी आए पूर्ण रुपमा निको पार्न सकिने समेत जिकीर गरे । तर विडम्बना ७० प्रतिशत बिरामी क्यान्सरको तेस्रो तथा चौथों स्टेजमा मात्र उपचारमा आउने गरेका छन्, उनले थपे ।
कार्यक्रममा क्यान्सर सर्भाइभर्सले आफनो उपचार अनुभव सुनाएका थिए । उनीहरुले क्यान्सर लाग्दैमा मरिहाल्ने नभएर समयमै उपचार गरेमा निको हुने र त्यसका लागि आत्मबल बलियो पार्नुपर्ने र चिकित्सकको निगरानीमा रहनुपर्नेमा जोड दिएका थिए ।
हरेक वर्ष जुलाई २७ मा विश्व हेड एण्ड नेक क्यान्सर सचेतना दिवस मनाउने गरिन्छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’