कोशी अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सुरु हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : अब कोशी अस्पताल विराटनगरमा पनि मिर्गौला प्रत्यारोपण सुरु हुने भएको छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा कोशी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन लागेको हो । मिर्गौला प्रत्यारोपण गर्ने विषयमा मंगलबार कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रबिन राज सिंह र प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठबिच प्रत्यारोपण सेवा तथा डायलाइसिस सेवा विस्तार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सरकारको नीति तथा कार्यक्रम अनुसार देशैभर सर्वसुलभ र सर्वसाधारणको पहुुँचमा मिर्गौला प्रत्यारोपण कार्यको थालनी गर्नको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवद्वय डा रोशन पोख्रेल र देव कुमारी गुरागाँईको पहलमा देशका सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिने क्रममा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र कोशी अस्पतालबीच उक्त सम्झौता भएको हो ।
सो समझदारी पत्रमा प्रत्यारोपण सेवा सुरु गर्नका लागि लागि जनशक्तिको तालीम, फेलोसिप लगायतका कार्यक्रमहरुको लागि केन्द्रले व्यवस्था मिलाउने, कोशी सहित प्रदेशका अरु अस्पतालमा डायलासिस सेवा विस्तारका लागि समेत सहयोग गर्ने, मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण लगायतका कार्य प्रभावकारी बनाउन सहकार्य गर्ने उल्लेख छ ।
यसअघि प्रत्यारोपण केन्द्रले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत अस्पतालमा यसैगरी सम्झौता गरेर प्रत्यारोपण सेवा प्रारम्भ गरेको छ । उता मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि प्रत्यारोपणका लागि सम्झौता भइसकेको केन्द्रले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?