Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य संस्थामै छैनन् ‘धुम्रपान निषेध’ लेखिएका स्टिकर

स्वास्थ्य संस्थामै छैनन् ‘धुम्रपान निषेध’ लेखिएका स्टिकर

कल्पना आचार्य \चितवन : नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन आएको १० वर्ष बितिसक्दा पनि अझै स्वास्थ्य संस्थामै धुम्रपान तथा सुर्तीजन्य पदार्थ निषेध लेखिएको स्टिकर नभएको पाइएको छ । भरतपुर महानगरमा अझै पनि ३७ प्रतिशत स्वास्थ्य संस्थामा नो स्मोकिङ लेखिएको स्टिकर नभएको एक अध्ययनले देखाएको हो । भरतपुर महानगरपालिका तथा सुर्तीजन्य पदार्थ विरुद्धमा काम गर्दै आएको संस्था एक्सन नेपालले गरेको एक अध्ययनमा यस्तो पाइएको हो ।

भरतपुर महानगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा अध्ययन सार्वजनिक गर्दै एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले नेपालमा कानून उत्कृष्ट हुँदाहुँदै पनि कार्यान्वर्यन पक्ष फितलो हुँदा भरतपुरमा जम्मा ६३ प्रतिशत स्वास्थ्य संस्थामा मात्र धुम्रपान निषेध लेखिएको स्टिकर टाँसेको पाइएको जनाए । उनले स्वास्थ्य जस्तो संवेदनशिल स्थानमा पनि यस्तो लापरवाही हुनु दुखद भएको बताए । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरमा पहिलोपटक भएको यस अध्ययनले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्नका लागि रणनिती तथा कार्यक्रम तयार पार्न आफूलाई सहयोग पुग्ने बताइन्। उनले भरतपुर महानगरलाई हेल्दी सिटी बनाउनका लागि सुर्तीजन्य पदार्थ नियन्त्रण जरुरी रहेको भन्दै यसका लागि महानगर तदारुकताकासाथ लाग्ने प्रतिवद्धता समेत जाहेर गरिन ।

एक्सन नेपालले भरतपुर महानगरका ५६५ सार्वजनिक स्थानहरु छनौट गरी ती स्थानमा सुर्तीजन्य पदार्थका विभिन्न पक्षका मापदण्ड बनाई अध्धयन गरेको थियो । द यूनियनको गाइडलाइन्समा रहेर गरिएको अध्ययनमा स्वास्थ्य संस्था, विद्यालय, होटल, क्लब, पार्क, रेस्टुरेन्ट, फिटनेस सेन्टर, सरकारी कार्यालय सहभागी गराइएको थियो । अध्ययनमा नो स्मोकिङ स्टिकर टाँसिएको छ की छैन्, स्मोकिङ एरिया छुट्याइएको छ की छैन्, सिगरेटको ठुटा छन् की छैनन्, होटलहरुमा स्ट्रे राखिएको छ की छैन् लगायतका पक्ष हेरिएको थियो ।

अध्ययनले सरकारी कार्यालयमा जम्मा २१ प्रतिशतले मात्र स्टिकर टाँसेको देखाएको छ भने प्राइभेट कार्यालयमा त जम्मा २ दशमलब ४६ प्रतिशतले मात्र धुम्रपान निषेध लेखिएको स्टिकर टाँसेको पाइएको छ । उता होटलहरुमा पनि जम्मा ३२ प्रतिशतमा मात्र स्टिकर राखेको पाइएको छ । नो स्मोकिङ स्टिकर सबैभन्दा बढी टाँस्नेमा भने स्वास्थ्य संस्था देखिएको छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ अनुसार सार्वजनिक स्थलमा धुम्रपान निषेध लेखिएको स्टिकर अनिवार्य टाँस्नुपर्ने उल्लेख छ । नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने रोगहरुबाट वर्षेनी २७ हजार भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।

 

थप समाचार