Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बिरामीको घरमै गएर अस्पतालको जस्तो सम्पूर्ण सेवा दिने ‘मेरो हस्पिटल’

बिरामीको घरमै गएर अस्पतालको जस्तो सम्पूर्ण सेवा दिने ‘मेरो हस्पिटल’

एक जना डाक्टर जसले आफै बिरामी परेपछि आवश्यकता ठानेर खोलेको होम बेस्ड हेल्थ सर्भिसले अहिलेको कोरोना कालमा झनै यसको औचित्यता पुष्टि गरेको छ । ४ वर्षअघि वीर अस्पतालमा कार्यरत डाक्टर रुप नारायण शाहको कलेजोमा समस्या देखियो र अन्तत प्रत्यारोपण गर्नुपर्ने भयो । उनले भारतमा गएर कलेजो प्रत्यारोपण गराए । प्रत्यारोपण त गराए तर डिस्चार्ज भएपछि दैनिक रुपमा फलो अप, ड्रेसिङमा जानपर्ने भएकाले उनलाई त्यो हिंडाई अत्यन्त पीडादायी हुन्थ्यो । जटिल प्रकारको शल्यक्रिया भएकाले घाउ सफा गरिरहनपर्ने र फलोअपमा दैनिक रुपमा जानुपर्ने । भनेको बेला ट्याक्सी नपाइने, पाइए पनि आफू बसेको घरको भर्याङबाट ओर्लिन उक्लिन नै निकै कठिन थियो । त्यो आफूले भोगेको पीडाले उनको मनमा एउटा कुरा खेल्यो । मलाई कसैले घरमै आए फलो अप गर्दिने, घाउ सफा गर्दिने स्वास्थ्यकर्मी पाए त अस्पतालसम्म जानपर्ने दुख हुन्थेन भन्ने लाग्यो । उनले अस्पतालमा कुरा गरे र नभन्दै एक जना स्वास्थ्यकर्मी उनको रेखदेखमा उनको घरमै पठाइदियो जसले गर्दा उनले रगत जाँच गर्न, घाउ सफा गर्न अस्पताल जानै परेन । केही अप्ठेरो परेमा ह्वाट्स अपमा कुरा समेत गर्न सकिने । उनी अन्तत निको भएर नेपाल आए र होमबेस्ड हेल्थ सर्भिसका लागि कम्पनी खोले अनलाइन हेल्थकेयर प्राइभेट लिमिटेड र सोही अन्तर्गत संचालन हुने गरी मेरो हस्पिटल हिल एट होम । ती डाक्टर हुन् रुपनारायण शाह जो मेरो हस्पिटलका संस्थापक अध्यक्ष हुुन् । डा शाहसँग हेल्थ टिभी अनलाइनकी कल्पना आचार्यले कुराकानी :

मेरो हस्पिटल कस्तो खालको हस्पिटल हो ? 

यो हस्पिटल सम्पूर्ण रुपमा घरमै गएर सबै खालका सम्पूर्ण स्वास्थ्य सेवा दिने हस्पिटल हो । यसमा डाक्टरदेखि स्वास्थ्यकर्मी, प्याथोलोजिष्टदेखि केयर गिभरसम्म पर्न आउँछन्। यी सम्पूर्ण सेवा घरमै उपलब्ध गराउँछौं । बिरामीको अवस्था तथा आवश्यकता अनुसार स्वास्थ्यकर्मीको छनौट गरेर हामी उहाँहरुकै घरमा गएर सेवा दिने काम गछौं । हाम्रो मुख्य उद्देस्य भनेकै बिरामीलाई घरमै अस्पतालको जस्तो सेवा मिलोस र सहज होस भन्ने हो । अहिले त धेरैले हामीलाई बिश्वास गरेर सेवा लिइरहनुभएको छ । जो बिरामी अस्पताल जान सक्दैन उसलाई होम केयर सर्भिस अत्यन्त आवश्यक छ । हामीले बिरामीको घरलाई नै हस्पिटलको रुपमा परिणत गर्दिन्छौं । जसलाई मेडिकल सर्भिस चाहिन्छ उहाँहरुले अनलाइन बुक गरेर हाम्रो सेवा लिन सक्नुहुन्छ ।

शुरुमा यो मेडिकल सर्भिस खोल्दा कस्तो प्रतिक्रिया पाउनु भएको थियो ?

शुरुमा त सबैले स्वास्थ्यको सेवा पनि अनलाइनबाट हुन्छ र यस्तो कुरा पनि घर घरमा गएर कसरी सेवा दिन सकिन्छ भन्नुहुन्थ्यो । तर उहाँहरु आफै अहिले बिरामीलाई यहाँ घरमै गएर सेवा दिन्छन् भनेर रिफर गर्नुहुन्छ । यो ४ वर्षमा परिस्थिती निकै फेरिएको छ । अझ कोरोना महामारी आएपछि त झनै होमबेस्ड स्वास्थ्य सेवाको महत्व बढेको छ । सबै जना कोरोनाको कारण अस्पताल जान डराएको अवस्था छ त्यसैले पनि घरमै सेवा लिन पाए हुन्थ्यो भन्नेको संख्या बढ्दै गएको छ । यो नेपालमा मात्र हैँन विश्वमा नै यसको महत्व र आवश्यकता महशुस गरिएको छ । अहिले कोरोना महामारीमा मात्रै हामीले ३ सय बढी संक्रमितलाई होममै गएर उहाँलाई चाहिने सम्पूर्ण सेवा दिइसकेका छौं । अब बल्ल सबै जनाले यसको महत्व बुझ्नुभएको छ जस्तो लाग्छ । पहिल त निकै गाह्रो थियो नि ।

कस्ता व्यक्तिले तपाइँहरुको सेवा लिइरहेका छन् ?

धेरै जसो हामीकहाँ सेवा लिन चाहने भनेको दीर्घरोगी त्यसमा पनि जेष्ठ नागरिक नै हो । त्यसमा पनि प्यारालाइसिसका कारण लामोसमसय हेल्य सर्भिस लिन पर्ने तर अस्पताल बस्न गाह्रो हुनेहरु । अर्को कुरा एकल परिवारमा छोराछोरी सबै विदशेमा हुन्छन्। आमाबुवा घरमा एक्लै हुँदा पनि छोराछोरीहरले अनलाइनबाट बुक गराएर दैनिक रुपमा हाम्रो स्टाफबाट यो सेवा लिनुहुन्छ । त्यसैगरी कतिपयका छोराछोरी सबै काममा जानुपर्ने हुन्छ । एक जना बिरामी हुँदा अन्य सदस्यको पनि काम धन्दा चौपट हुनजान्छ । त्यस्तो अवस्थामा पनि हामी उहाँहरुको रोजाइमा पर्छौ । मेडिकल सर्भिस डोर टु डोर कसरी पुर्याउन सकिन्छ भने। यो शुरु गरिएको हो । यसकोे महत्व अहिले देंखिंदैछ । धेरै जना विदेशमा बस्ने छोराछोरीले आफना आमाबाबुका लागि चेकअपको हाम्रो वेभसाइटमार्फत अपोइन्टमेन्ट लिने गरिरहनुभएको छ । साथै औषधि पनि हामी घर घरमै पुराइदिन्छौं जसले गर्दा उहाँहरुलाई ढुक्क भएको छ ।

के के सेवाहरु कसरी दिनुहुन्छ ?

अहिले हामीले एक जना बिरामीलाई चाहिने सम्पूर्ण सेवा सर्जरी बाहेक सबै घरमै गएर दिन थालेका छौं । हामीसँग सम्पर्कमा आएर फर्म भरिसकेपछि उहाँहरुको आवश्यकता अनुसार चाहिने, औषधि घरमै उपलब्ध गराउने, ड्रेसिङ गर्ने, सरसफाई गर्दिने, इन्जेक्सन लगाउने, अक्सिजनको लेबल हेर्ने, घरमै भिडियो एक्सरे, इसीजी गर्ने सम्पूर्ण काम गर्दिन्छौं । यदि उहाँहरुको कुनै डाक्टरको फलो अफ बाहिरको डाक्टरसम्ग छ भने त्यो पनि हाम्रै स्टाफले लिएर जान्छन्। बिरामीको आवश्यकतालाई हेरेर हामी प्लान गछौं । बिरामीको अवस्था कस्तो छ त्यसमा पनि भर पर्छ । हामीसँग सबै खालका स्टाफ छन्। स्टाफ नर्स चाहिने होकी एएनएम चाहिन्छ की एचए चाहिन्छ की सबै हेछोैं त्यही अनुसार पठाइन्छ । डाक्टरको भिजिट पनि नियमित हुन्छ । हामी उहाँहरुसँग कतिपय कुरा अनलाइन माध्यमबाट पनि गरिरहेका हुन्छौै ।  केही इमरजेन्सी परेमा तुरुन्त अस्पताल लैजाने काम पनि हामीले नै गछौं । यसरी अस्पतालसम्म आउन नसक्ने, घरमै बसेर सेवा लिन चाहने र कतिपय अवस्थामा घरमा कोही पनि सेवा गर्ने परिवारका सदस्य नभएकालाई मेरो अस्पताल एक किसिमको ठूलो भरोसा बनिरहको छ । यो कोरोनापछि धेरै जना अस्पताल भिजिट गर्न नै चाहनुहुन्न यस्तो अवस्थामा उहाँहरुलाई हामी सेवा इिरहेका छौं । त्यसका लागि हामीसँग फार्मेसी देखि ल्याब, विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी सबैको व्यवस्था छ ।

कत्तिको विश्वास गर्छन् ?

हामी कुराकानीको भरमा मात्र सेवा शुरु गर्दैनौं। किनभने हामीले जसले सेवा लिन चाहेको हो उहाँसँग कन्ट्रयाक्ट गरेर मात्र सेवा गछौं । हामी आफनो स्टाफसँग पनि कन्ट्रयाक्ट गरेका हुन्छौं । अन्य व्यक्तिको घरमा यत्तिकै स्टाफ पठाउन मिल्दैन । यदि तलमाथि भयो भने को जिम्मेवार हुने। यसको सबै लिखित रुपमै हामीसँग कापजपत्र हुन्छ । त्यसैले कुनै पनि पक्ष डराउनु पर्दैन्। हामीसँग अहिलेसम्म त्यस्तो कुनै अप्रिय घटना पनि भएको छैन्। यो विश्वासका साथ व्यवसायिक रुपमा गरिने र दिइने सेवा हो । यसका लागि तयार नहुने भन्ने त कुरै हुँदैन्। बिरामीले विश्वास गरेकै कारण आज हामी यहाँ छौं ।

अबको के योजना छ

अब मेडिकल फिल्डमा अनलाइन मेडिकल सर्भिसको एकदमै महत्व छ । त्यसैले हामीले पनि यसको दायरा झै फराकिलो बनाउने सोचेका छौं । छिट्टै यसलाई मोबाइल हस्पिटलको रुपमा लैजाने योजना छ । सो मोबाइल हस्पिटल भनेको ठ्रलो भ्यान ‘वेल इक्युप्ड’ होस् जहाँ बिरामीलाई तुरुन्त भ्यानमै इमरजेन्सी सर्भिस दिन सकियोस्। केही टेस्ट गर्न पर्यो भने गर्न सकियोस । डाक्टर, प्यारामेडिक्स सबै सोही भ्यानमा हुन्छन्। सो भ्यानमा बिरामीलाई तुरुन्त सेवा दिंदै अस्पताल लान पर्ने भए लान सकियोस्। यस्तो प्लान गरिरहेका छौ । हेरौं कति गर्न सकिन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार