Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दीर्घरोगी एवं सुर्तीजन्य पदार्थ सेवन गर्नेमा कोरोनाको जोखिम र मृत्युदर बढी

दीर्घरोगी एवं सुर्तीजन्य पदार्थ सेवन गर्नेमा कोरोनाको जोखिम र मृत्युदर बढी

कल्पना आचार्य \काठमाडौं : सुर्तीजन्य पदार्थको सेवनले कसैलाई पनि फाइदा गर्दैन भन्ने कुरा धेरैलाई थाहा छ । तर पनि यसको सेवन गर्नेको संख्या घट्न सकेको छैन्। अझ युवापुस्तामा यसको प्रयोग अत्यधिक बढेको पाइन्छ । साथीभाइको देखासिकीकै कारण पनि उनीहरु यसको लतमा लागिरहेका छन्।  कतिपय युवा युवती यसलाई आफनो प्रतिष्ठासँग जोडेर हेर्नेगर्छन । त्यसैले पनि पछिल्लो समय हुक्का, सिसा राखेका रेस्टुरेन्टहरु बढी चल्ने गरेको पाइन्छ । युवायुवतीहरुले यसलाई फेसनका रुपमा प्रयोग गर्न थालेका छन्।

सुर्ती कम्पनीहरुले पनि युवा पुस्तालाई लक्षित गर्दै विभिन्न अफरहरु ल्याउने गरेका छन्। जसले गर्दा उनीहरुलाई निकोटिनको लत लगाएर लामो समयसम्मको ग्राहक बनाउन सकियोस्। वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र प्रसाद बराल भन्छन्, ‘सुर्ती कम्पनीहरुले युवा पुस्तालाई लोभ्याउनका लागि विभिन्न अफरहरु लिएर आउने गर्छन् यसमा अभिभावक अझै बढी सचेत हुनुपर्छ ।’ सानैदेखि यसको नकारात्मक असरका बारेमा आफना बच्चालाई जानकारी गराउन जरुरी रहेको उनको भनाई छ ।

सुर्तीजन्य पदार्थको सेवनले सामान्य मानिसलाई जति असर गर्छ त्यसको कयौं गुणा असर कोरोना संक्रमितलाई गर्छ भन्ने कुरा विभिन्न अध्ययनहरुले देखाएको छ । विश्व स्वास्थ्य संगठनले पनि कोरोनाको जोखिम सुर्तीजन्य पदार्थ सेवन गर्नेमा बढी हुन्छ भनेर यसको सेवन नगर्न आग्रह गर्दै आइरहेको छ ।

नर्भिक अस्पतालमा कार्यरत वरिष्ठ पल्मोनोलोजिष्ट प्रा डा रमेश चोखानी भन्छन, ‘सुर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सो पहिलेदेखि नै कमजोर हुन्छ, जसका रण श्वासप्रश्वासमा उनीहरुलाई बढी समस्या हुने गर्छ । यही कमजोर फोक्सोमा कोरोना भाइरसले संक्रमण गरेमा त्यसमा थप जटिलता आउँछ  र बिरामी अझ जोखिममा पर्छ ।’ उनले भने, ‘सुर्तीजन्य पदार्थ सेवन गर्ने संक्रमितलाई आइसीयू नै चाहिने सम्भावना अन्य संक्रमतिको भन्दा दोब्बर हुन्छ । यति मात्र हैन उनीहरुको आइसीयूमा लगिए पनि मृत्युदर  बढी हुने गर्छ ।’ सुर्तीजन्य पदार्थले फोक्सो मात्र नभई मुटु, मिगौंला र अन्य महत्वपूर्ण अंगहरुमा समेत असर गर्ने भएकाले यी अंगहरुमा समेत क्षति पुर्याइसकेकाले जटिलता बढी हुने उनको भनाई छ ।

सुर्तीजन्य पदार्थको सेवनले सामान्य मानिसलाई जति असर गर्छ त्यसको कयौं गुणा असर कोरोना संक्रमितलाई गर्छ भन्ने कुरा विभिन्न अध्ययनहरुले देखाएको छ । विश्व स्वास्थ्य संगठनले पनि कोरोनाको जोखिम सुर्तीजन्य पदार्थ सेवन गर्नेमा बढी हुन्छ भनेर यसको सेवन नगर्न आग्रह गर्दै आइरहेको छ । 

उता मधुमेह रोग विशेषज्ञ डा ज्योती भट्टराई पनि सुर्तीजन्य पदार्थले असर नगर्ने कुनै पनि अंग नभएको भन्दै यसले कोरोना संक्रमितलाई अझै अप्ठेरो स्थितीमा पुराउने बताउँछिन्।  उनले अझ मधुमेह भएका बिरामी त्यसमा सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई कोरोना संत्रमण लागिहालेमा जोखिम अन्यको तुलनामा धेरै गुणाले बढ्ने बताइन्। ‘यस्ता व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता पहिलेदेखि नै कम हुने भएकोले जटिलता  र मृत्यु हुने जोखिम पनि बढी हुने गर्छ ।  त्यसैले कसैले सुर्तीजन्य पदार्थ सेवन गर्ने बानी गरेको छ र अहिले कोरोना संक्रमण भएको छ भने यही बेला हो सुर्तीजन्य पदार्थको सेवन छोड्नुस्। म उहाँहरुलाई यही सुझाव दिन्छु, यो सही मौका पनि हो सुर्तीजन्य पदार्थ सेवन गर्ने खराब लत छोड्ने।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका सहसचिव डा विकास देवकोटाले बारम्बार सुर्तीजन्य पदार्थ सेवन गर्नेमा कोरोनाको जटिलता बढी भयो र उपचारमा समय पनि बढी लागेको भन्दै यसको सेवन नगर्न आग्रह गरिरहेका देखिन्थे । उनले यो समयलाई सही मानेर यसको सेवन रोक्न बारम्बार आग्रह गरेका थिए । अहिले नयाँ आएका मन्त्रालयका प्रवक्ता प्रा  डा जागेश्वर गौतमले पनि यही कुरा दोहोर्याइरहेका छन् ।

त्यसो न नेपालमा कोरोनाबाट मृत्यु भएका व्यक्तिहरुको कति जनाले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका थिए भन्ने तथ्यांक लिने र यसबारे अध्ययन गर्ने कार्य शुरु भएको छ । यद्यपी त्यो अध्ययनको परिणाम भने आइसकेको छैन्।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार नेपालमा हरेक वर्ष २७ हजार बढी मानिसको सुर्तीजन्य पदार्थको सेवनले निम्त्याउने क्यान्सर, मुटुरोग, दम, श्वासप्रश्वासको समस्या लगायतका रोगका कारण मृत्यु हुने गरेको छ । सुर्तीजन्य पदार्थको सेवन मात्र कम गर्ने हो भने यो संख्या घटाउन सकिने विज्ञहरुको दाबी छ । यतिवेला विश्व नै कोरोना महामारीको चपेटमा रहेका बेला कोरोना संक्रमणलाई अझ जटिल बनाई संक्रमितको ज्यान नै जोखिममा पार्ने सुर्तीजन्य पदार्थ सेवन नगर्न विज्ञहरुले आग्रह गरेका छन्।

 

 

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार