Health TV Online
Health TV Online

‘संक्रमित भेटिए पनि अस्पतालको कुनै पनि सेवा अवरुद्द हुँदैन्’

‘संक्रमित भेटिए पनि अस्पतालको कुनै पनि सेवा अवरुद्द  हुँदैन्’

शुक्रबार राजधानीको धुम्बाराहिस्थित ह्याम्स अस्पतालमा दुई जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि पनि केही नीजि अस्पतालमा कोरोनाका बिरामी देखिएपछि केही दिनका लागि पूरै अस्पताल सिल गरिएको थियो भने उपचारमा संलग्न स्वास्थ्यकर्मी क्वारेन्टाइनमा गएका थिए । दुई जना संक्रमित भेटिएको ह्याम्स अस्पतालले के गर्दैछ भन्ने विषयमा अस्पतालका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्मासँग हेल्थ टिभी अनलाइनकी कल्पना आचार्यले गरेको कुराकानी :

ह्याम्स अस्पतालमा उपचारमा रहेका दुई जना बिरामीमा कोरोना पुष्टि भएको छ, अहिले उहाँहरुको स्वास्थ्य अवस्था कस्तो छ ?

हो, हाम्रो अस्पतालमा सेवा लिन आउनुभएका दुई जना बिरामीमा आज कोरोना पुष्टि भएको छ । उहाँहरु मध्ये गुल्मीका ७६ वर्षीय पुरुष मंगलबार हाम्रो अस्पतालमा आएर सेवा लिएर गइसक्नु भएको बिरामी हो । उहाँ अहिले हाम्रो अस्पतालमा हुनुहुन्न । तर उहाँ गुल्मीबाट आएको हुनाले हामीले  ट्राभल हिस्ट्रीका कारण पीसीआर परीक्षण गरेका थियौं । उहाँ पिसाब पोल्ने समस्या लिएर इमरजेन्सीमा आनुभएको थियो । इमरजेन्सीको आइसोलेसनमा राखेर उपचार गर्यौं । इमरजेन्सीमा उपचार गरेर उहाँ त्यही दिन जानुभएको हो । अर्का बिरामी पोखराबाट मंगलबार नै हेलि रेस्क्यु बाट आउनु भएको हो । ६० वर्षीय उहाँ बेहोस अवस्थामा आउनु भएको थियो । उहाँ चाहिं अहिले हाम्रै अस्पतालमा हुनुहुन्छ । आइसीयूमा उपचार भइहरेको छ र अहिले स्वास्थ्यमा सुधार आएको छ ।

भनेपछि अब संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी क्वारेन्टाइनमा पठाउनु हुन्छ होला नि ? 

हामी पहिलेदेखि नै यो कुरामा सचेत छौं । तपाइँलाई अचम्म लाग्ला हाम्रो अस्पतालमा दुई जना बिरामी कोरोना संक्रमित भेटिंदा पनि हाम्रा कुनै पनि स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्नु पर्दैन । यसमा हामी ढुक्क छौं । ह्याम्स यस्तो अस्पताल हो जहाँ सरकारले र विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार शुरुका दिनदेखि फिबर क्लिनिक देखि आइसोलेसन मेन्टेन गरेका छौं । त्यसैले यी दुबै बिरामीको उपचारमा सलंग्न सबै स्वास्थ्यकर्मीले पूरा सावधानी अपनाएर पीपीई लगाएर उपचार गरेका हुनलाले कोही पनि क्वारेन्टाइनमा जानुपर्ने अवस्था छैन्। अस्पताल सिल गर्ने त कुरै भएन्।

नीजि अस्पतालले कोरोनाको उपचार गर्न मानेनन् भन्ने आरोप छ नि ?

अन्य नीजि अस्पतालको कुरा त म गर्दिन । ह्याम्स अस्पताल नेपालमा १ जना बिरामी भेटिंदा देखि तयारी अवस्थामा छ । हाम्रो अस्पतालले अहिलेसम्म एक जना बिरामी पनि रिफर गरेको छैन्। अन्य केही नीजि अस्पतालमा कोरोना संक्रमित देखिएपछि अस्पताल नै सिल भएको विभिन्न मिडियामा सुनियो । तर हामी यस्तो अस्पताल हौं जहाँ कोरोना संक्रमितले यहीं उपचार गर्छु भन्नुहुन्छ भने पनि उपचार गर्न हामी तयार छौं । अहिलेसम्म उपचारकै क्रममा लगभग २ सय जनाको स्याम्पल पठाइसकेका छौं । त्यसमध्ये आज दुई जनामा कोरोना देखिएको हो । कोरोनाको महामारीमा धेरैले बिरामी रिफर गर्दा हामीले सेवामा तल्लीन छौं र भइरहने छौं । कुनै पनि बिरामी सेवा लिन आउन सक्नुहुन्छ ?

त्यसो भए कोरोना संक्रमितको उपचार यहीं गर्नुहुन्छ त ?

मैले यहाँलाई भने दुई बिरामीमध्ये एक जना हाम्रो अस्पतालमा इमरजेन्सी सेवा लिएर जानुभएको बिरामी हो । उहाँ भर्ना भएको बिरामी होइन्। त्यसैले उहाँ घरमै भएकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नै फोन गरेर उहाँलाई सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा लगेको बुझिएको छ । तर अर्का पोखराका बिरामी भने हाम्रो अस्पतालको आइसीयूमा हुनुहुन्छ । उहाँलाई हामीले सोध्यौं यही उपचार गर्ने की सरकारले बनाएको आइसोलेसनमा जानुहुन्छ भनेर उहाँले यहीं उपचार गर्छु भन्नु भएको छ । हामीले स्पष्ट रुपमा सरकारी अस्पतालमा जाँदा निशुल्क हुन्छ भनेर उहाँलाई बताएका पनि छौं । त्यति भन्दा पनि उहाँ यहीं उपचार गराउँछु भन्दा हामीले पठाउने कुरा हुँदैन । यो बिरामीको अधिकारको कुरा हो । त्यसैले उहाँ हाम्रो बिरामी हो हामी उहाँको उपचार गर्न तयार छौं । कोरोना पुष्टि भयो भन्दैमा हामी हाम्रो जिम्मेवारीबाट पछि हट्ने कुरा हुँदैन । त्यसका लागि अस्पतालका स्टाफ पनि तयार छन्। हामी ढुक्क छौं उपचार गर्न सक्छौं भन्नेमा ।

संक्रमितको उपचार भएको भनेर अन्य बिरामी नआउने हुन्छ की ? अन्य सेवा लिन आउने बिरामीलाई के भन्नुहुन्छ ?

पहिलो कुरा त संक्रमितलाई छुने, उपचार गर्ने स्वास्थ्यकर्मी नै क्वारेन्टाइनमा जान नपर्ने गरी प्रिकसन लिइएको स्थानमा अन्य बिरामी आउन डराउनुपर्ने कुनै कारण नै छैन्। हामी पूर्ण रुपमा सुरक्षित रहेर काम गरिरहेका छौं । त्यसैले संक्रमित छ भनेर कसैले पनि डराउनुपदैन्। हामी हाम्रा बिरामी र स्वास्थ्यकर्मीको सुरक्षामा संवेदनशिल मात्र होइन जिम्मेवार भएर काम गरिरहेका छौं ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार