Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डायलासिस युनिटमा डाक्टरकाे मुख देख्नै गाह्राे

डायलासिस युनिटमा डाक्टरकाे मुख देख्नै गाह्राे

बाँके : सरकारले दिएको राहतले धेरै हदसम्म सुविधा दिए पनि अझै अत्यधिक गरीब तथा विपन्नहरू पैसा र डायलासिसको पहुँच अभावका कारण मृत्युवरण गर्न बाध्य छन्।

मिर्गौला रोगीको उपचारका लागि मात्रै सरकारले हरेक वर्ष करोडौँ रूपैयाँ खर्च गर्ने गरेको छ। मिर्गौला रोगबाट ग्रसित व्यक्तिका लागि नेपालगञ्जस्थित तत्कालीन भेरी अञ्चल अस्पतालमा पहिलोपटक विसं २०७४ पुस १२ गतेदेखि निःशुल्क डायलासिस सेवाको थालनी भएको थियो।

यसअघि करिब एक दशक पहिला ल्याइएका मेसिन विशेषज्ञ चिकित्सक अभावमा काठमाडौँ फिर्ता पठाइएको थियो। दुई वर्षअघि नयाँ मेसिन र तालिमप्राप्त भएपछि भेरीले उक्त सेवा थालनी गरेको हो। अस्पतालका तत्कालीन मेडिकल सुपरिटेण्डेण्ट डा. वीरेन्द्रबहादुर चन्दको सक्रियता र प्रयासले उक्त सेवा शुरू भएको थियो। सेवा थालनीसँगै भेरीमा पहिलोपटक शुभम् गुप्ताको डायलासिस भएको अस्पतालको रेकर्डमा उल्लेख छ।

तत्कालीन अवस्थामा अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. पारस श्रेष्ठले भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट दुई महिनाको तालिम लिएर आएका थिए। उहाँसहित अस्पतालमा कार्यरत तीन नर्सहरूलाई तीन महिनाको र प्राविधिकलाई दुई महिनाको तालिम दिइएको थियो। अस्पतालका अनुसार त्यतिबेला चार मेसिनमध्ये तीन चालू अवस्थामा राखिका थिए।

एउटा मेसिन आपत्कालीन अवस्थामा प्रयोग गरिने भनिएको थियो। मेसु चन्दको पहलमा शुरु भएको उक्त सेवा त्यतिबेला बिहान ९ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको डायलासिस युनिटमा कार्यरत स्वास्थ्यकर्मी बताउँछन्। मिर्गौलाका बिरामीलाई सातामा दुईदेखि तीन पटकसम्म डायलासिस सेवा दिनुपर्छ। निःशुल्क नहुँदा बिरामी लामो समयदेखि मर्कामा पर्दै आएका थिए।

तर, भेरीमा उक्त सेवा शुरू भएपछि अहिले पनि विपन्न र दुर्गम क्षेत्रका बिरामीले लाभ पाइरहेका छन्। अस्पतालको सम्पर्कमा आएका मिर्गौलाका बिरामीको तथ्याङ्क सङ्कलन गरी पालो तोकेर उपचारको व्यवस्था मिलाएको अस्पतालले जनाएको छ। त्यसो त भेरी अस्पतालमा रहेको हेमोडायलासिस युनिटमा चिकित्सकहरूको मुख देख्नै मुस्किल हुने गरेको छ। अस्पतालले मिर्गौलाका बिरामीको अवस्था बुझ्न केही चिकित्सकलाई ‘राउण्ड’मा पठाउने व्यवस्था गरेको छ।

तर, उक्त युनिटमा राउण्ड जाँचका लागि आउने चिकित्सकहरूले ढोकाबाटै राउण्ड जाँच गर्ने र फर्किने गरेका छन्। बिरामी उपचारकक्षमा पीडादायी अवस्थामा छट्पटाइरहेका हुन्छन्, राउण्डमा आउने चिकित्सक ढोकामै उभिएर त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई सबै ठिक छ नि भन्दै त्यहीँबाट बाहिरिन्छन्’, एक बिरामीले भने, ‘राउण्डमा आउने चिकित्सकले बिरामीको अवस्था बिरामीसँग पो सोध्ने होला त?’

जानकारहरुका अनुसार राउण्ड जाँच भनेको चिकित्सक बिरामीकै छेउमै पुगेर उसको अवस्थाबारे बुझ्नु र सल्लाह–सुझाव दिनु र आवश्यक परे आकस्मिक सघन उपचार गर्नु हो। तर, भेरीको डायलासिस युनिटमा चिकित्सक बिरामीको छेउमा जानु त परै जाओस् ढोकाबाटै भित्र नपस्ने गरेको बिरामी बताउँछन्। अहिले उक्त युनिट मेडिकल विभागमा राखिएपछि डा. राजन पाण्डे, रजनी केसीलगायतले ढोकाबाटै ‘राउण्ड’ जाँच गर्दै आएको बिरामी बताउँछन्।

यद्यपि यसअघि डा पारस श्रेष्ठ कहिलेकाहीँ आए पनि बिरामीकै छेउमा पुगेर अवस्था बुझ्ने र उपचार गर्ने गर्दै आएका थिए। उनी पनेि बाहिर छन्। यसले मिर्गौला बिरामीले चिकित्सकबाट राउण्डको समयमा पाउनुपर्ने सल्लाह–सुझाव, उपचार र परामर्श पाउन सकेका छैनन् । दैनिक नयाँ बिरामी डायलासिसका लागि सम्पर्कमा आउने गरेका छन्। बिग्रेका मेसिन मर्मत गर्न सम्बन्धित निकायसँग छलफल भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

तर, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रूपानन्द अधिकारी आफ्नो जिम्मेवारीबाट पन्छिन थालेको झण्डै सात महिना बितिसकेको अस्पतालका कर्मचारीको गुनासो छ। स्वास्थ्य मन्त्रालयले नयाँ चार मेसिन र चिकित्सकका लागि तालीमको व्यवस्था गरेपछि भेरीमा उक्त सेवा विस्तार गरिएको हो । अस्पतालले होमोडायलासिस सेवा थालनी गरेको शनिबार दुई वर्ष पुगेको छ।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार