Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतकाे ‘बीएचयू’मा चिकित्सकलाई ‘भूतविद्या’ सिकाइने

भारतकाे ‘बीएचयू’मा चिकित्सकलाई ‘भूतविद्या’ सिकाइने

भारतको एउटा प्रतिष्ठित विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययनमा ‘भूत देखेको वा भूतको वशमा’ परेको बताउने बिरामीहरूलाई उपचार गर्ने विधि सिकाउन प्रमाणपत्र तहको पाठ्यक्रम तयार पारेको छ।

बनारस हिन्दू विश्वविद्यालय (बीएचयू) ले छमहिने भूतविद्या पाठ्यक्रमको पठनपाठन जनवरीदेखि शुरु गर्दैछ। उक्त पठनपाठनको जिम्मा आयुर्वेद विभागलाई दिइएको छ।

बीएचयूका एक अधिकारीले समाचारसंस्था आईएएनएससँग कुरा गर्दै विश्वविद्यालयमा ‘भूतविद्या’ नामक छुट्टै एकाइ गठन गरिएको बताए।

के पढाइन्छ भूतविद्यामा?

अधिकारीहरूले त्यो पठनपाठन प्यारानर्मल अर्थात् असाधारण घटना भनिने साइकोसोम्याटिक अर्थात् मनोशारीरिक रोगका विषयहरूमा केन्द्रित हुने बताएका छन्।

‘भूतविद्याले खासगरी मनोशारीरिक अस्वस्थता वा अज्ञात कारणले देखिएको रोग तथा मन र मस्तिष्कको अवस्थासँग जोडिएको बिमारीबारे चासो राख्नेछ’, आयुर्वेद विभागका प्रमुख यामिनीभूषण त्रिपाठीले बताइन्।

उनका अनुसार यस्तो पाठ्यक्रम राख्ने बीएचयू देशकै पहिलो विश्वविद्यालय हो, जहाँ भूतप्रेतसम्बन्धी रोगव्याधिलाई आयुर्वेदको माध्यमबाट उपचार गराउन चिकित्सकहरूलाई सिकाइनेछ।

मानसिक स्वास्थ्य

सन् २०१६ मा मानसिक स्वास्थ्य एवं स्नायुरोगसम्बन्धी राष्ट्रिय प्रतिष्ठान निम्हान्सले गरेको अध्ययनअनुसार झन्डै १४ प्रतिशत भारतीयहरू मानसिक रूपमा अस्वस्थ छन्।

सन् २०१७ मा विश्व स्वास्थ्य संगठनले २० प्रतिशत भारतीयहरू जीवनको कुनै खण्डमा डिप्रेसनको शिकार हुने गरेको आकलन गरेको थियो।

तर एक अर्ब ३० करोड जनसङ्ख्या भएको भारतमा केवल ४,००० जना मात्र मानसिक स्वास्थ्य सेवाप्रदायक छन्। भारतमा मानसिक स्वास्थ्यबारे निकै कम जनचेतना छ।

मानसिक स्वास्थ्यसँग जोडिएको व्यापक सामाजिक हेयभावका कारण थोरै मानिस मात्र अघि सरेर यसको उपचार खोज्छन्। विशेषगरी ग्रामीण तथा विपन्न भारतीयहरू आफूलाई समस्या परेको बेला स्थानीय धामीझाँक्रीकै शरण पर्छन्।

त्यसैले बीएचयूले भूतविद्या सिकाउन लागेको समाचारबारे सामाजिक सञ्जालमा कतिपयले प्रश्न उठाएका छन्। उनीहरूले मानसिक स्वास्थ्यको विषयमा औषधि तथा पुनर्स्थापना केन्द्र बढ्ता महत्त्वपूर्ण भएको बताएका छन्।

बीबीसी नेपालीबाट

थप समाचार