डाक्टर छैनन् उपल्लो डोल्पामा, औषधि पुग्छ वर्षमा एक पटक
जाजरकाेट : भौगोलिक विकटतासँगै विभिन्न समस्याबाट गाँजिएको उपल्लो डोल्पाका स्थानीयवासी आम्ची (लामाको औषधि) का भरमा उपचार गर्न बाध्य छन्। वर्षमा एक पटक मात्र औषधि उपल्लो डोल्पामा लैजाने गरेको स्थानीयवासी बताउँछन्।
उपल्लो डोल्पामा बसोबास गर्ने आम्ची (गुम्बाका लामा) ले जङ्गलबाट ल्याएको जडीबुटीलाई औषधि बनाएर प्रयोग गरी स्थानीयवासीको उपचार गर्दै आएका छन्। भूगोलका हिसाबले नेपालकै ठूलो जिल्ला भए पनि सेवा र सुविधाका हिसाबले यहाँको जनजीवन निकै कष्टकर छ। उपल्लो डोल्पामा रहेका स्वास्थ्य संस्था पायक पर्ने ठाउँमा नहुँदा आम्चीले बनाएको औषधिका भरमा यहाँका बिरामीको उपचार हुँदै आएको स्थानीयवासीको गुनासो छ।
उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिका, छार्काताङसोङ गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिकामा अत्यधिक चिसो हुनुका साथै विकेन्द्रीकरण बसाइँका कारण सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन नसकेको स्थानीय तह बताउँछन् । डोल्पोबुद्धका वडा नं ५ र ६ मा वार्षिक एकपटक मात्र औषधि पुग्ने सिमेन्टकी डयाङा लामाले बताइन्।
‘गाउँपालिकाको १ नं धोमा स्वास्थ्यचौकी छ, सिमेन्ट र तिन्जेमा स्वास्थ्य संस्था छैन, सामान्य टाउको, रुघाखोकी लाग्दा पनि औषधि नहुँदा स्थानीयवासी आम्चीकहाँ पुगेर उपचार गर्छन्’, उनले भनिन्। यहाँका स्थानीयवासी आम्चीलाई भगवान् मान्दै आएको उनको भनाइ छ।
स्वास्थ्य सेवा मात्र होइन, हरेक कुराले दैनिक पिरोलेको डोल्पोबुद्ध–१ का वडाध्यक्ष ग्याल्बो थापा भोटेले बताए। ‘धो स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी छैनन्’, उनले भने, ‘स्वास्थ्यकर्मी समायोजन भएर बाहिर गएपछि समस्या भएको हो।’ स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुनु र औषधिसमेत नहुँदा आम्चीका भर पर्नुपर्ने बाध्यता उपल्लो डोल्पावासीका लागि बाध्यता हो ।
‘बिरामी हुनेबित्तिकै गाउँलेहरू बिरामी लिएर आउँछन्’, सिसोलका आम्चीले भने, ‘जानेबुझेको औषधि गरेर पठाउँछौँ।’ अहिले उपल्लो डोल्पामा चिसो बढेर हिमपात शुरु हुन थालेकाले सात ठाउँका प्रहरी चौकी सदरमुकाम दुनै सारिएका छन् भने विद्यालयसमेत बन्द छन् । गर्मी मौसम शुरु नभएसम्मका लागि यहाँ कुनै पनि गतिविधि हुँदैन। तल्लो डोल्पाबाट आवश्यक खाद्यान्न लिएर उपल्लो डोल्पाका स्थानीयवासी कोही त्यहाँ बसेका छन् भने कोही जाजरकोट, नेपालगञ्ज, काठमाडौं र सुर्खेत आइसकेका काइके गाउँपालिका–७ का अध्यक्ष रामचन्द्र रोकायले जानकारी दिए।
रासस




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै