Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

१३ दिनकी सुत्केरीको दुवै मिर्गौला फेल

१३ दिनकी सुत्केरीको दुवै मिर्गौला फेल

पर्वत : कुश्मा नगरपालिका–४ जिरो किमीकी एक महिलाको दुवै मिर्गौला काम नलाग्ने भएका छन्। यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गौलाले काम नगर्ने भएको हो।

शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पनि पिसाब नभएपछि परीक्षण गर्दा दुवै मिर्गौलाले काम नगरेको पाइएको विशाकाकी जेठानी सविता परियारले बताइन्। गत कात्तिक ६ गते विशाकाको जिल्ला अस्पताल पर्वतमा गर्भ परीक्षण गर्दा बच्चा जन्माउने मिति कटिसकेकाले धौलागिरि अञ्चल अस्पताल बागलुङमा ‘रिफर’ गरियो। त्यो अवस्थामा चिकित्सकले बच्चा जन्माउनका लागि दिएको मिति कटिसकेको थियो। यही कारण बागलुङ अस्पतालले शल्यक्रियामार्फत बच्चा निकाल्न सुझाव दिँदै पोखरा रिफर गर्यो।

कात्तिक १७ गते गण्डकी अस्पतालमा शल्यक्रिया गरेर विशाकाको पेटबाट छोरी निकालियो। आमाछोरी दुवैको अवस्था सामान्य रहेको सविताले बताउनुभयो। तर शल्यक्रिया गरेको २४ घण्टासम्म पिसाब भएन। शरीर र पेट पूरै फुल्दै गएपछि मिर्गौलामा खराबी भएको हुनसक्ने अनुमान गर्दै भिडियो एक्स–रे गरेर हेर्दा दुवै मिर्गौला काम नलाग्ने भएको देखिएको थियो। अहिले उनको अवस्था जटिल बन्दै गएको छ। अहिले सोही अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरेर उनको उपचार भइरहेको छ।

आमाको दुवै मिर्गौला फेल भएपछि पोषिलो दूध चुस्नुपर्ने नवजात शिशुको बिचल्ली भएको छ। बच्चालाई संक्रमण हुनबाट जोगाउनका लागि आमासँग राख्न नमिलेको विशाकाकी जेठानी सविताले बताइन्। विशाका १३ दिनदेखि अस्पतालको आईसीयूमा नै राखिएकी छन्। एक\एक दिनको अन्तरमा उनका मिर्गौलाको डायलाइसिस गर्नुपरेको परिवारले जनाएको छ। उनको उपचारका लागि अहिलेसम्म एक लाख रूपैयाँभन्दा बढी खर्च भइसकेको सविताले बताइन्।

चिकित्सकहरूले कम्तीमा पनि तीन हप्तासम्म डायलिसस गरिरहनुपर्ने बताएका छन्। सविताका अनुसार विशाकाको शरीर फुलेकाले नसाहरूमा राम्रोसँग रक्तसञ्चार भइरहेको छैन। उनको शरीरमा रगत परिवर्तन गरेर मिर्गौलाको समस्या ठीक पार्नुपर्ने अवस्था रहेको छ। रक्तनलीको समस्याका कारण हातबाट दिइएको रगत सञ्चार नभएपछि घाँटीको नसामा प्वाल पारेर त्यहीँबाट रगत दिइएको छ।

डायलाइसिसबाट पनि मिर्गौलाको समस्या समाधान नभएमा दुवै मिर्गौला फेर्नु एउटै मात्र विकल्प रहेको चिकित्सकहरूले बताएका छन । तर मिर्गौला दिनका लागि मान्छे पाउनै पनि समस्या रहेको सविताले बताइन्। शल्यक्रिया गरेर निकालिएकी पहिलो सन्तान छोरीको विशाकाले मुख देख्नसमेत पाएकी छैनन्। जन्मैबाट आमाको दूध खान नपाएको नवजात शिशुलाई ल्याक्टोजिन खुवाएर प्राण धानिएको सविताले बताइन्।

आमाको दूध खान नपाएकै कारण छोरी रातभर रुने गरेकाले आफूले काखमा राखेर सुमसुम्याउँदै भुलाउने गरेको उनले सुनाइन्। विशाकाका श्रीमान् विनय परियार कुस्मा बागलुङ चल्ने बसमा सहयोगीको काम गर्दै आएका छन्। उनको कमाइ त्यति धेरै छैन, अन्य आयआर्जनको बाटो नहुँदा मृत्यु कुर्नुबाहेक अरू विकल्प नभएको सविताको दुःखेसो छ। विशाकाका ससुरा पदम परियारसमेत अपांग छन्।

विशाकाकी जेठानी सविताले आमा र छोरी दुवैलाई बचाउनका लागि सहयोगको आग्रह गर्दै जिल्लाका विद्यालयदेखि हरेक ठाउँ चहारिरहेकी छिन्। देउरानी र छोरी दुवैलाई बचाउनकै लागि आर्थिक सहयोग चाहिने भएपछि सविताले जिल्लाका विभिन्न ठाउँमा सहयोग माग्दै हिँडेकी छिन्।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार