Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कस्ताे तरकारी खाँदैछन् काठमाडाैंवासी, कालिमाटीकाे तरकारीमा विषादी कति?

कस्ताे तरकारी खाँदैछन् काठमाडाैंवासी, कालिमाटीकाे तरकारीमा विषादी कति?

काठमाडौं : संघीय सरकारले गत जेठ १० गते भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णय गर्यो। मन्त्रिपरिषदले उक्त निर्णय गरेसँगै असार २ गते राजपत्रमा सूचना निकालेर भन्सारमा जाँच थालियो।

तर केही दिन नबित्दै असार १८ मा सरकारले मन्त्रिपरिषद् निर्णयबाटै भारतलगायत मुलुकबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण निर्णय स्थगन गर्यो।

भारतीय पक्षको दबाबमा सरकारले यो निर्णय फिर्ता लिएको आरोप लागिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले यसको प्रतिवाद गरे। तर सञ्चारमाध्यममा भारतले जाँच रोक्न पठाएको पत्र सार्वजनिक भएसँगै मंगलबार सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले घुमाउरो भाषामा दबाब आएको स्वीकार गरे।

तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता भएसँगै संसद् र सडकमा यसको तीव्र विरोध भयो। प्रतिपक्षी दलका मात्र नभई सत्तापक्षकै कतिपय नेताले यसको विरोध गरेका छन्। चिकित्सकहरूले समेत मानवस्वास्थ्यमा खेलबाड नगर्न सरकारसँग आग्रह गर्दै विज्ञप्ति निकाले।

सरकारले सीमामा जाँच नगर्ने निर्णय गरेसँगै अहिले विषादीयुक्त तरकारी तथा फलफूल निर्वाध रूपमा नेपाल भित्रिरहेका छन्। सीमाबाट आएका तरकारी देशभरका शहरी क्षेत्रमा पुग्छन्। सीमाबाट आउने तरकारीकाे मुख्य बजार हाे, काठमाडाैंकाे कालीमाटी।

कस्ता तरकारी खाँदैछन्, काठमाडाैंवासी?

दैनिक ७०० देखि ८०० टन तरकारी तथा फलफूल काठमाडौं आइपुग्छन्। कालिमाटी आइपुग्ने ६० देखि ७० प्रतिशत तरकारी आन्तरिक उत्पादन हुन्। यसमध्ये ३० देखि ४० प्रतिशत भारतीय तरकारी तथा फलफूल यहाँ आउने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठ बताउँछन्।

सरकारले नै भारत तथा अन्य मुलुकबाट आउने तरकारीमा अत्यधिक विषादी छ भन्ने स्वीकार गरिसकेको सन्दर्भमा काठमाडौं उपत्यकामा भित्रिने तरकारीमा पनि विषादी छैन भन्ने मान्ने अवस्था छैन। तरकारीमा कस्तो विषादी प्रयोग भएको छ, कस्तो र कति मात्रामा छ भन्ने बुझ्न हामी समितिअन्तर्गत विषादी अवशेष द्रूत विश्लेषण इकाइ पुग्याैँ।

कसरी हुन्छ जाँच?

इकाइका प्राविधिक जागेश्वर शर्माका अनुसार बजारमा आइपुगेका तरकारीमध्ये दैनिक १० देखि १२ वटा नमुनाको विषादीको परीक्षण गरिन्छ, जसलाई प्राविधिक भाषामा ‘रेजुडी एनालाइसिस’ गरेको भनिन्छ।

ताइवानी प्रविधिअनुसार ‘स्पेक्ट्रो फोटोमिटर’ मापन गरिन्छ। यसबाट विषादीको परिणामचाहिँ ठ्याक्कै थाहा हुँदैन’, शर्मा भन्छन्, ‘तर मानिसले कति मात्रामा पचाउन सक्छ भन्ने मात्रा भने थाहा हुन्छ।’

उनका अनुसार ० देखि ३५ सम्म ‘राेकावट दर’ भएको तरकारी तथा फलफूल  खानयोग्य मानिएकोे छ। ३५ देखि ४५ सम्मलाई क्वारेन्टाइन लेभल भनिन्छ, जसलाई दुईचार दिन राखेर पुनः परीक्षण गरी विक्री गर्न सिफारिस गरिन्छ। ४५ भन्दा माथि आयो भने मानव शरीरका लागि हानिकारक मानेर नष्ट गरिन्छ।

कति भयाे परीक्षण?

यो वर्ष दुई हजार ९३४ वटा परीक्षण गरेकोमा दुईवटा मात्र नष्ट गरिएको प्राविधिक शर्मा बताउँछन्। दुईवटालाई भने क्वारेन्टाइनमा पठाइएको छ।

२०७१ असारमा स्थापना भएको इकाइले सो महिना जाँच गरेका १८७ मध्ये २६ वटा नमूना खान अयोग्य पाएको थियो। शर्मा भन्छन्, ‘कृषकहरूमा चेतना बढेर हो कि अहिले त्यो दर घट्दै गएको छ।’ विषादी नै प्रयोग गरे पनि राख्नुपर्ने निश्चित समय राखेर बजारमा पठाएकाले पनि खान अयोग्य तरकारी घट्दै गएको उनको अनुमान छ।

खान अयोग्य तरकारी के गरिन्छ?

प्राविधिक शर्माका अनुसार रुकावट दर ४५ वा त्योभन्दा माथि देखिएको तरकारुी नष्ट गरिन्छ। ‘त्यस्तो भेटिए समितिका अधिकारी र स्थानीय प्रशासनको रोहबरमा गाडीले कुल्चाएर तरकारी नष्ट गरिन्छ’, उनले भने।

तरकारीमा विशेषगरी दुई किसिमका विषादी मात्र जाँच गरिँदै आएको छ। जनशक्ति र प्रविधि अभावमा ‘कार्बामेट र अर्गानोफस्मेट मात्र जाँच गरिँदै आएको शर्मा बताउँछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार